'नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार्छु'

'नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार्छु'

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो आसन्न भ्रमणमा भारतले फेरि नेपालमा नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार भारतको चारदिने राजकीय भ्रमणमा निस्कन लागेका दाहालले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा लैजान र आपसी विश्वासको बलियो आधार बनाउन भारतीय नेतृत्वसँग कुराकानी गर्ने बताए ।

'अघिल्लो वर्ष हाम्रो अनुभव निकै तितो रह्यो । हामीले संविधान घोषणा गर्दैगर्दा र संविधान घोषणा गरिसकेपछि पनि पीडा भोग्नुपर्‌यो', भारतले गत असोजदेखि पाँच महिना गरेको अघोषित नाकाबन्दीको प्रसंग उप्काउँदै दाहालले भने, 'म भारत जाँदै गर्दा त्यसको सही समीक्षा गर्न र अब फेरि त्यस्तो कहिल्यै हुनेछैन भन्ने वातावरण बनाउन मेरो ध्यान केन्द्रित हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।'

नेपाल-भारत सम्बन्धका पारस्परिक हितका क्षेत्रमा नयाँ समझदारी कायम गर्ने सम्भावना पैदा भएको पनि प्रधानमन्त्री दाहालले बताए । दाहालले चीन, नेपाल र भारतबीच त्रिदेशीय सहकार्यका माध्यमबाट यस क्षेत्रको विकास गर्ने सम्बन्धमा आफूले भारत भ्रमण र पछि चीन भ्रमणमा पनि कुरा गर्ने बताए ।

'घटनाक्रमले नेपाल जनता र भारतीय जनता, नेपालका राजनीतिक दल र भारतका राजनीतिक दललाई विगतका तितामिठालाई समीक्षा गरेर एउटा नयाँ आधारमा नयाँ एकता गरेर जानुपर्छ भन्ने महसुस गराएको छ', दाहालले भने ।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार आयोजना गरेको 'नेपाल-भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण' विषयक अन्तरसंवादमा प्रधानमन्त्री दाहालले आफ्नो भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गरेको बताए ।

नेपाल-भारत सम्बन्ध बहुआयामिक र धेरै गम्भीर रहेको उनले बताए । 'मैले आज धेरै बोल्नु छैन । मेरो अघिल्लो पटकको कार्यकाल अलि धेरै बोलेर बिग्रियो भन्ने लाग्छ । त्यसकारण मैले धेरै बोलेँ भने नेपाल-भारत सम्बन्ध बिग्रेला कि भन्ने डर छ', उनले भने ।

नेपाली जनताको 'मुड' आफूले बुझेका कारण जनताको आधारभूत हित, राष्ट्रको स्वाधीनता र सावैभौमसत्ता, भौगोलिक अखण्डताका विपक्षमा कुनै पनि कुरा भारत भ्रमणमा नहुने उनले बताए ।

आफूले कुनै विवादमा पर्ने विषयमा भारतसँग सहमति, सम्झौता नगर्ने उनले बताए ।दाहालले आफू 'लिडर' रहेको र 'लिडर' भएकाले नै हालसम्म जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माणमा 'लिड' गर्दै यहाँसम्म आएको बताए ।

'यो लिडरले फेरि एउटा अर्को जोखिम मोल्न तयार भएको छ । भारत भ्रमणमा रिस्क मोलेरै जान लागेको छु । यहाँ तपाईँहरूका कुरा सुन्दा मलाई दबाब महसुस भयो । यदि तपाईँहरू भन्नुहुन्छ भने म भारत भ्रमणमा नै जान्न', कार्यक्रममा उपस्थित बुद्धिजीवी, नेता र कूटनीतिज्ञलाई सम्बोधन गर्दै दाहालले भने ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यसपटकको भारत भ्रमणमा प्रधानमन्त्री दाहालले नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाधीनता विपरीत कुनै विवादित सन्धि, सम्झौता गर्न नहुने बताए । उनले दाहाललाई भारतसँगको सम्बन्ध सुधारलाई प्राथमिकता दिन आग्रह गर्दै नेपालको नयाँ संविधानको भारतले निसर्त स्वागत गरेको भन्ने वातावरण बनाउन दाहालको भ्रमण सफल हुने विश्वास व्यक्त गरे ।

मेरो अघिल्लो पटकको कार्यकाल अलि धेरै बोलेर बिग्रियो भन्ने लाग्छ, मैले धेरै बोलेँ भने नेपाल-भारत सम्बन्ध बिग्रेला कि भन्ने डर छ ।'

 

'भारतको नेतृत्वलाई प्रधानमन्त्रीले पारस्परिक सम्मान र समानताका आधारमा सम्बन्ध अघि बढाऔँ भनेर कुरा राख्नुहोस् । त्यस्तै नेपाल-भारत प्रबुद्ध समूहको काम प्रभावकारी बनाउने विषयमा पनि कुरा होस्', उनले भने ।

विगतमा हस्ताक्षर र सहमति भएका हुलाकी सडक लगायतका परियोजनामा भारतले गरेको ढिलाइको प्रसंग निकाल्दै श्रेष्ठले त्यस परियोजना नेपालका पक्षमा कार्यान्वयन गर्नका लागि भारतसँग कुरा गर्न दाहाललाई सुझाए ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाले छिमेकी भारतसँगको सम्बन्ध सुदृढ गर्दै अन्य मुलुकसँगको सम्बन्ध राम्रो बनाउनुपर्ने बताइन् । उनले जतिसुकै सम्बन्धमा दरार आए पनि छिमेकी मुलुकसँगको सम्बन्ध बदल्न नसकिने बताइन् ।

उनले नेपाली जनताको हित विपरीत भारत र अन्य कुनै पनि मुलुकसँग सहमति र सम्झौता नगर्न दाहाललाई आग्रह गरिन् । भारतले लगानी गरेका हुलाकी सडक लगायत परियोजना कार्यान्वयनमा आउन नसकिरहेकाले त्यसबारे भारतसँग कुरा गर्न उनले दाहाललाई सुझाइन् ।

नेपाल-भारत प्रबुद्ध समूहका सहसंयोजक तथा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले भारत स्वतन्त्र मुलुकका रूपमा आएदेखि नै उसले नेपाल हेर्ने नीति र व्यावहारमा कुनै परिवर्तन नगरेको बताए । 'नेपाल र भारत अत्यन्तै निकट छिमेकी मुलुक हुन् । तैपनि भारतले हालसम्म तीनपटक नाकाबन्दी गरिसकेको छ', उनले भने । प्रबुद्ध समूहका दुवैतर्फका सदस्यहरूले नेपाल-भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई कसरी पुनरावलोकन गर्ने भन्ने विषयमा गम्भीर अध्ययन थालेको उनले बताए ।

'मलाई लाग्छ, अब हाम्रो सम्बन्धलाई नयाँ आधारमा अघि बढाउन र त्यसलाई नयाँ उचाइमा पुर्‌याउन प्रबुद्ध समूहले काम गरिरहेका छौँ', उनले भने । प्रधानमन्त्री दाहालको भ्रमणबाट सम्बन्धलाई सहज बनाउन मद्दत मिल्ने अपेक्षा लिएको उनले बताए ।

सीमाविद् बुद्धिनाराण श्रेष्ठले भारतले विगतमा नेपालमा पटक-पटक नाकाबन्दी गरेको उल्लेख गर्दै दुई देशबीचको सम्बन्ध बहुआयामिक र समस्याग्रस्त दुवै रहेको बताए । उनले खुला सिमानालाई व्यवस्थित र नियन्त्रण गर्नेबारे भारतीय नेतृत्वसँग कुरा गर्न दाहाललाई सुझाए । 'चीन, नेपाल र भारतबीच कसरी त्रिदेशीय सहकार्य गर्ने भन्नेबारे पनि यहाँले कुराकानी राख्नुहोला', उनले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.