बाढी पसेपछि पातीखोला जलविद्युत अायोजना बन्द, मर्मत हुन ६ महिना लाग्ने
फलेवास: अविरल वर्षाका कारण खोलामा आएको बाढी विद्युत् उत्पादन गृहमा पसेपछि बन्द भएको पातीखोला जलविद्युत् आयोजना मर्मत गर्न ६ महिना लाग्ने भएको छ।
पर्वतको देउराली गाविस– ६ घुरुङगामा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत् आयोजना बाढीका कारण गत बिहीबारदेखि बन्द भएको हो। गत बुधबार राति खोलामा आएको बाढी विद्युत् गृहमा पसेपछि उत्पादन गृहमाजडित टर्वाइन तथा इन्टेक, पेनस्टक पाइप र उत्पादन गृहमा लगाइएको तारजालीमा समेत क्षति पुर्याएको छ।
वर्षायामको समयमा पूर्ण क्षमतामा उत्पादन भएको आयोजनाको मुहानबाट बाढीले क्षति पुर्याउँदा दुई करोड रुपैयाँ भन्दा बढीको क्षति पुगेको आयोजना प्रमुख शिव श्रेष्ठले जानकारी दिए। बाढीले उत्पादित विद्युत् मोदीखोला सव स्टेसनमा जडान गर्ने प्रशारण लाइनका ४० वटा विद्युत् पोल र वितरण लाइनका सातवटा पोल समेत ढालेको छ।
पावरहाउसभित्र हिलो पसेर सबै मेसिन काम नलाग्ने अवस्थामा पुगेको स्टेसन प्रमुख श्रेष्ठले जानकारी दिए। पातीखोला किनार हुँदै पावर हाउससम्मको झन्डै ५०० मिटर सडक समेत खोलाले बगाएका कारण नयाँ सडक निर्माण गरिसकेपछि मात्र उपकरण ल्याएर मर्मतको काम सुरु हुने र ठूलो क्षति पुगेकाले योजना सञ्चालनका लागि झन्डै ६ महिना भन्दा बढी समय लाग्ने स्टेसन प्रमुख श्रेष्ठको भनाइ छ।
विद्युतपोल समेत ठूलो सङ्ख्यामा ढलेकाले मर्मत गर्न लामो समय लाग्ने भएपनि मर्मतका लागि प्राविधिक टोलीलाई बोलाइको र वर्षायाम सकिएपछि मात्रै मर्मतको काम सुरु गरिने उहाँले जानकारी दिए।