नेपाली उत्पादनको बजार भारत र चीन बनाउनु आवश्यकः बिजुक्छे
भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली व्यापारमा पुनर्जागरण ल्याई प्राचीन र मध्यकालीन अवस्थामा पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
प्राचीन र मध्यकालमा नेपाली उत्पादनको बजार भारत र चीन भएकोतर्फ संकेत गर्दै अध्यक्ष बिजुक्छेले पुनः नेपालले आफ्नो उत्पादनको बजार भारत र चीन बनाउनेतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औंल्याएका हुन् ।
भक्तपुर रेडिमेड व्यापार संघको छैटौं वार्षिक साधारणसभा एवम् तेस्रो अधिवेशन शनिबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले भने, ‘लिच्छवि र मल्लकालमा नेपालका उत्पादनको बजार भारत र चीन थिए । त्यसबेला प्रत्येक नेपालीका घरमा मौलिक एवं परम्परागत उत्पादन हुने घरेलु उद्योग थिए । त्यसैले नेपाली व्यापारमा पुनर्जागरण ल्याउनैपर्छ ।’
तर अहिले नेपाल भारत र चीनको बजार बन्न पुगेकोमा उनले दुःख व्यक्त गरे ।
व्यवस्थापिका–संसदका सदस्यसमेत रहेका उनले नेपाली उद्योगी तथा व्यापारीहरुलाई विदेशबाट आयातित वस्तु तथा उत्पादन बेच्नुभन्दा स्वदेशमै उत्पादन गर्नेतर्फ ध्यान दिन सुझाव दिए ।
विदेशी उत्पादन बेचेर नाफा खानेलाई दलाल पुँजीपतिको संज्ञा दिँदै अध्यक्ष बिजुक्छेले भने, ‘विदेशी उत्पादन तथा वस्तु बेचेर नाफा खानेहरु दलाल पुँजीपतिहरु हुन् । उनीहरुबाट देश र जनताको हित हुन सक्दैन । त्यसैले तपाईहरु पनि दलाल पँुजीपति हुने कि आफ्नै देशमा उत्पादन गरेर देश र जनताको सेवा गर्ने राष्ट्रिय पुँजीपति हुने आफै निर्णय गर्नुहोस् ।’
उनले ठूला व्यवसायीहरुबाट साना व्यवसायीहरु र दलाल पुँजीपतिहरुबाट राष्ट्रिय पुँजीपतिहरु सधैं पीडित हुने दावी गरे ।अध्यक्ष बिजुक्छेले डिलरले सही मूल्यको बिल नदिएर कम मूल्यको बिल दिए त्यो अस्वीकार गर्न रेडिमेड व्यापारीहरुलाई सुझाव दिए ।
कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नैनबहादुर पण्डित क्षेत्रीले पनि व्यवसायीहरुले आयातित वस्तुमात्रै बिक्री वितरण नगरी आफ्नै वस्तु उत्पादन गरेर बिक्री वितरण गर्नुपर्ने सुझाव दिए ।
उनले रेडिमेड व्यापारमा भएका विविध समस्या समाधान गर्न संघले पहल गर्ने आश्वासन दिए । त्यस्तै नेपाल हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले रेडिमेड वस्तुका व्यवसायीहरुले सक्कली बिल लिने अभियान नै चलाउनुपर्नेमा जोड दिए ।
‘सक्कली बिल लिने अभियान चलाउन ढिलो भइसक्यो’, उनले भने, ‘यो अभियान अघि नबढेसम्म समस्या समाधान हुनेछैन ।’ उनले भक्तपरको कालो भादगाउँले टोपी भने जस्तै भक्तपुरको जिनको पाइन्ट, सुतीको सर्ट भनेर नयाँ नयाँ ब्राण्डका मौलिक उत्पादन गर्न ढिलो भइसकेको बताए ।
नेपाल चीन उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष युवक राजभण्डारीले भक्तपुरका व्यापारीहरु आफै उत्पादकसम्म पुगेर सामान ल्याउनुपर्ने आवश्यकता औंल्याए ।
भक्तपुरका व्यवसायीहरुले काठमाडौंका डिलरबाट सामान ल्याउने गर्छन् । तर यहाँका व्यापारीहरु आफै उत्पादकसम्म पुगेर सामान ल्याउन सके उपभोक्ताले पनि सस्तो मूल्यमा सामान पाउने अध्यक्ष राजभण्डारीको भनाइ थियो ।
कार्यक्रममा भक्तपुर रेडिमेड व्यापार संघका अध्यक्ष राजु त्वानावासु, भक्तपुर उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष रामप्रसाद प्रजापति, संघका पूर्वअध्यक्ष केपी दुवाल, उपाध्यक्ष मोहन माक, सहसचिव रवीन्द्र सापकोटाले डिलरहरुले सही भ्याट बिल नदिई न्यून बिल बिजक गर्दा रेडिमेड व्यापारीहरु मारमा पर्दै आएको धारणा राखे ।