डा. झमक
विशिष्ठ व्यक्तित्वहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जीवनका विविध क्षेत्रमा उनीहरूले पुर्याएको योगदानवापत विभिन्न ख्यातिप्राप्त सामाजिक र शिक्षण संस्थाहरूले सम्मान गर्ने गर्छन् । विश्वविद्यालयहरू कोरा शिक्षाका प्रमाणपत्र बाँड्ने थलो या संस्था मात्र हैनन, उनीहरूबाट विलक्षण प्रतिभा चिन्न र सम्मान गर्न, अनि उनीहरूलाई सम्मान गरेर आफैं सम्मानित हुने अपेक्षा पनि गरिन्छ ।
भर्खरै अस्तित्वमा आएको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले काँडाहरूको प्रतिकार सहँदै फूल बन्न मात्र हैन, सिर्जनारूपी फूल र त्यसको सुवास समाजमा छर्न सफल झमक घिमिरेलाई मानार्थ विद्यावारिधि प्रदान गरेको छ । आफैं अस्तित्वका लागि संघर्षरत विश्वविद्यालयले यस्तो सम्मान उनलाई दिनुको अर्थ के होला ? एउटा प्रश्न उठ्छ । तर संघर्षमा डटेकाहरूले मात्र अर्को संघर्षशील व्यक्ति र संस्थाको संघर्ष अनि त्यसबाट हासिल उपलब्धि चिन्न सक्छ र त्यसलाई सम्मान गर्ने चरित्र देखाउँछ ।
मुलुकको अग्रणी विश्वविद्यालय अर्थात त्रिभुवन विश्वविद्यालयले त वर्षौंसम्म दीक्षान्त समारोह आयोजना गर्ने औपचारिकता समेत पूरा गर्न सकेन । कुनै जमानामा अन्तर्राष्ट्रिय शैक्षिक जगत्मा राम्रै मान्यता हासिल गरेको त्रिविको स्तर खस्कदै जाँदा बाहिर आर्जेको आदर पनि उसले गुमाउँदै गयो ।
अहिले दीक्षान्त समारोह हुन थालेका छन् फेरि त्यहाँ, तर दलीय राजनीतिको भूमरी र त्यहाँका शिक्षकहरूमा आर्थिक मुनाफा र व्यापारको लिप्सा बढ्दै जाँदा शिक्षामा ज्ञान र चरित्रको पनि ह्रास हुँदै गएको छ । विद्यार्थीको प्राथमिकतामा मुलुकको अग्रणी विश्वविद्यालय नपर्नु आफैंमा दुःखद् विषय हो । त्यस्तै विश्वविद्यालयमा शैक्षिक वातावरण बिग्रँदा उसमा स्वतः प्रतिभाप्रतिको आदर या चासो कम हुँदै जान्छ ।
झमक घिमिरेलाई केही वर्षअघि मात्र जन्मेको विश्वविद्यालयले सम्मान गर्नु अति प्रशंसनीय मानिनुपर्छ । तर त्यसले एउटा प्रश्न पनि जन्माउँछ । आफ्नो अस्तित्वको झन्डै ६ दशक पूरा गरेको त्रिविविले यसबारे किन सोच्न सकेन ?
आखिर झमक एउटा सामान्य व्यक्ति त हैनन् । उनले असामान्य शारीरिक दुर्बलतालाई दुर्लभ साहसका साथ सामना मात्र गरेकी छैनन् त्यही साहसबाट आफूभित्र रहेको सुषूप्त सिर्जनालाई अमूल्य उपहारका रूपमा समाजलाई दिन सफल भएकी छन् । समकालीन विश्वमा शारीरिक अशक्ततामाथि विजय हासिल गरेका तर झमकका अघिल्लो पुस्ताका वैज्ञानिक स्टिफन हाकिङबाहेक सम्भवतः विश्व आदर र आश्चर्यमा नतमस्तक हुने अर्को व्यक्ति अहिले छैन दुनियाँमा ।
नेपालमै जन्मेका ७ वर्षीय आदित्य दाहालले आध्यात्मिक र अलौकिक शक्ति प्रदर्शन गरेका छन् र सम्भवतः त्यो क्षमतालाई विज्ञानले विश्लेषण गर्न नसक्ला । तर स्टिफन हाकिङ जस्तै झमक संघर्ष, साहस, दृढ निश्चय अनि प्रतिबद्धताबाट निर्देशित व्यक्तिहरू जो आआफ्नो समाजका लागि प्रेरणा स्रोत बनिसकेका छन् ।
त्यस अर्थमा झमकलाई प्रदान गरिएको मानार्थ विद्यावारिधिले ज्ञान, सिर्जना, सीप र शिक्षाबीचको अन्तरसम्बन्धलाई मान्यता दिएको छ । यसबाट अगामी दिनमा विश्वविद्यालयले शिक्षाका मुहानहरूलाई विश्वविद्यालय भवनका चौघेराबाट बाहिर पनि खोज्ने प्रयास गर्नेछ भन्ने आसा गर्न सकिन्छ । त्यस अर्थमा डा. झमक फेरि एकपल्ट सबैका लागि प्रेरणाको स्रोत बनेकी छन् । बधाइ डा. झमक ।