चलचित्र छायांकनको हब मकवानपुर
हेटौंडाः एक वर्षयता मकवानपुरमा बाह्रै महिना चलचित्र छायांकन हुन थालेका छन् । वर्षमा एकदुईवटा चलचित्रका केही अंशमात्र छायांकन हुने मकवानपुरमा प्रत्येक महिना चलचित्र छायांकन हुन थालेको हो । निर्देशकको रोजाइमा परेको मकवानपुर क्रमशः चलचित्र छायांकनको हब बन्दै गएको छ । मकवानपुरमा यतिखेर एकसाथ दुईवटा चलचित्र छायांकन भइरहेका छन् । चारवटा चलचित्रको भर्खरै छायांकन सकिएको चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र निर्माता नरेन्द्र महर्जनले बताए ।
आशीष भेटवालद्वारा निर्देशित चलचित्र ‘हिरो रिटन्र्स’, अमरदीप सापकोटाद्वारा निर्देशित चलचित्र ‘कारखाना’को हेटौंडामा छायांकन भइरहेको उनले बताए । हिरो रिटन्र्समा सबिन श्रेष्ठ, रेखा थापा, सरोज खनाल, सुशान्त श्रेष्ठलगायतका कलाकार अभिनयमा छन् । कारखानामा सुशील श्रेष्ठ, वर्षा शिवाकोटीलगायत कलाकारले अभिनय गरिरहेका छन् ।
यसअघि हेटौंडाका निर्माता सहदेव गौतमको चलचित्र ‘चर्खा’, सुस्मिता केसीको चलचित्र ‘म तिम्रै हुँ’, राजेन्द्र गौतमले निर्माण गरेको चलचित्र ‘ड्राइभर दाइ’ र नरेन्द्र महर्जनले निर्माण गरेको चलचित्र ‘संरक्षण’को अधिकांश भाग छायांकन भएको थियो ।
मकवानपुर काठमाडौंबाट नजिक र पर्याप्त रमणीय स्थल भएकाले चलचित्र छायांकनका लागि चलचित्रकर्मीको रोजाइमा पर्न थालेको हेटौंडेली कलाकार सुशान्त श्रेष्ठले बताए । ‘पछिल्लो समय निर्माण भएका चलचित्रहरूको थोरै भाग भए पनि मकवानपुरमा छायांकन हुने गरेको छ’, उनले भने, ‘यसले स्थानीयस्तरमा कलाकार उत्पादनमा पनि सहयोग पुयाएको छ ।’
मकवानपुरको ऐतिहासिक मकवानपुरगढी, चिसापानीगढी, सहिद स्मारक, पुण्य क्षेत्र, बनस्खण्डी, पुष्पलाल पार्क, चित्लाङको भेडा फर्म, दामन, गुम्बाडाँडा, उत्तरी क्षेत्रमा रहेका होमस्टेहरू र प्राकृतिक तालमा चलचित्र बढी छायांकन हुने गरेको जिल्ला पर्यटन विकास समितिका सचिव रामकृष्ण थापाले बताए । ‘चलचित्र छायांकनको क्रम बढेपछि जिल्लाको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ’, उनले भने । चलचित्र छायांकनको क्रम बढेकाले केही समयपछि छायांकनमा शुल्क लगाउने तयारी गरिएको थापाले जानकारी दिए ।
मकवानपुरमा चलचित्र छायांकनको क्रम बढेपछि यहाँका होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘चलचित्र छायांकन टोलीलाई अन्य ग्राहकलाई भन्दा सहुलियत दरमा खानेबस्ने सुविधा दिएका छौं’, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागीरथ शर्माले भने ।