पोखरामा शुक्रराज शास्त्रीको चस्मा
पोखराः माक्र्सवादमाथि तपाईंको यति धेरै घृणा किन ? पाठकले प्रश्न गरे कथाकार राजेन्द्र पराजुलीलाई । जवाफमा उनले भने, ‘म माक्र्सवादलाई सम्मान गर्छु तर माक्र्सवादको खोल ओढेर राजनीति गर्नेहरूले नै यसको बदनाम गरेका छन्, त्यही कुरा कथामा देखाउन खोजेको हुँ ।’
पराजुली शनिबार पोखरामा यान्डम रिडर्स सोसाइटी अफ नेपालको कार्यक्रममा पाठकसँगको विमर्शमा थिए । विमर्शको विषय उनको कथासंग्रह ‘शुक्रराज शास्त्रीको चस्मा’ थियो । विमर्शको सुरुआत गरेका थिए राजिन पनेरूले ।
पराजुलीको कथाकृति शुक्रराज शास्त्रीको चस्मामाथि पनेरूले अवधारणापत्र प्रस्तुत गरे । पनेरूले पराजुलीका कथामा राजनीति, पत्रकारिताका विषयले महत्व पाएको सुनाए ।
उनले भने, ‘नेपालको वामपन्थी राजनीतिमा देखिएको स्खलनको त उछितो नै कृतिमा काढिएको छ ।’ लोकतान्त्रिक नेपालको जीवनशैलीलाई राम्ररी चित्रण गरिएको कृतिमा समावेश गरिएका कथाहरू जुनसुकै वर्गका पाठकले बुझ्ने र गम्भीर भएर सोच्न बाध्य पार्ने हुनु नै कृतिको शक्ति भएको दाबी समालोचक पनेरूको थियो ।
कथाकार पराजुलीले राजनीतिकै विषयमा लेख्दा आफूलाई सन्तुष्टि मिल्ने सुनाए । ‘साहित्यमा अनेक शैली आए तर मलाई सामाजिक यथार्थवाद नै मन पर्छ’, उनले भने, ‘म म्याजिकल रियालिज्म वा त्यस्तै अरू केही पछ्याउन चाहन्नँ ।’ उनले राजनीतिक विकृतिलाई थप्पड हान्दा आनन्द लाग्ने सुनाए । ‘राजनीति, सामाजिक विकृति र किनारीकृत समुदायको सवाल नै मेरो कथाका मूल टेको हुन्’, उनले भने ।
पराजुलीले आफूले कुनै पनि राजनीतिक विचारको पृष्ठपोषण गरेको नभई तिनमा व्याप्त विकृतिको पर्दाफास गरेको दाबी गरे । २० वटा कथा समेटिएका कृतिको छिटै दोस्रो संस्करण प्रकाशनको तयारी भएको उनले जानकारी दिए ।