धादिङको भीरमा पहिरोले सडक बगाएपछि यात्रुहरु अलपत्र

धादिङको भीरमा पहिरोले सडक बगाएपछि यात्रुहरु अलपत्र

धादिङः माथितिर फर्केर हेर्दा खस्न ठिक्क परेका र आफैंलाई पर्खेर बसेका जस्तो लाग्ने चिरा चिरा बनेका पहरा अनि तलतिर नहेरुँ भनेपनि बाध्यताले हेर्नपर्ने नेत्रावती नदीको उर्लदो भेल, यसैको बीचबाट केही साताअघि मात्रै खसेको पहिरोको बीचबीचै पिठ्युँमा भारी बोकेर ज्यानकै माया मारी हातखुट्टा टेकेर दैनिक सयौं यात्रीहरु पहिरोबाटै हिड्न बाध्य छन उत्तरी धादिङको दार्खा गाउँ विकास समितिको मौवाभिरमा ।

धादिङकोदार्खा हुँदै उत्तरी धादिङका अन्य गाउँ विकास समितिहरुमा जाने बाटोमा दार्खा गाउँ विकास समितिकै मौवा भिरको पहिरो खसेर बाटोमै थुप्रिनुका साथै बाटो नै बगाएपछि उक्त बाटो प्रयोग गरेर उत्तरी धादिङ आवतजावत गर्ने यात्रीहरुलाइ अहिले ठुलो समस्या परेको छ । भर्खरै झरेको आलो पहिरोका कारण सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा यात्रा गर्ने सर्वसाधारणहरु ज्यान माया मारेर पहिरोको बीचबीचै भिरको बाटो यात्रा गर्न बाध्य भएका छन ।

गत वर्ष गएको विनाशकारी भुकम्पका कारण चिरैचिरा परेको वडा नं १ किन्ताङ फेदी नजिकैको मौवा भिरबाट उत्तरी धादिङलाइ सदरमुकामसम्म जोड्ने साङ्कोस तिप्लिङ सडक खण्डको नेत्रावती नदी किनारमा गत साता पहिरो खसी बाटो नै अवरुद्ध भएको थियो । उक्त सडकको विकल्पको रुपमा प्रयोग गर्ने बाटो ५/६ घण्टा बढी समय लाग्ने भएपछि भारी बोक्ने भरियाहरु पनि पहिरोको बीचबाटै ओहोर दोहोर गर्न बाध्य छन ।

हिउँदको महिनामा पहिरो गएको स्थानभन्दा पनि पर ग्याङसाङसम्म साना सवारीसाधन पुग्ने गरेको भएपनि बर्खालागेसँगै सवारीसाधन नचल्दा त्यस क्षेत्रका स्थानियहरुले अहिले सदरमुकाममबाटै हिडेर जानुपर्ने बाध्यतामा रहेका छन । अझ मौवाभिरको पहिरोले पैदल यात्रा गर्ने बाटो समेत अवरुद्ध बनाएपछि झनै समस्या भएको स्थानिय पुर्ण बहादुर गुरुङले बताए ।

उनले भने, ‘भौगोलिक रूपमा विकट तथा दुर्गम स्थानमा अवस्थित दार्खा, झार्लाङ, री,सेर्तुङ, लापा र तिप्लिङ गाविसका स्थानीय वासिन्दाहरुलाई जिल्ला सदरमुकाम आवतजावतमा गर्नलाई अहिले यो पहिरो काल निम्तयाउने खालको छ, नहिडौँ के गर्ने हिडौँ कुन दिन पहिरोले लान्छ।’

झन्डै २ सय मिटर चौडाई रहेको मौवा भिरको पहिरोमा माथिबाट ढुंगा खस्ने क्रम नरोकिए पनि स्थानीय सर्वसाधारणहरुको आवतजावत भने रोकिएको छैन । यस स्थानमा आवतजावत रोकेर अर्को पदयात्राको विकल्प नखोज्ने हो भने जुनसुकै समयमा गम्भीर दुर्घटना हुनसक्ने स्थानियहरुले बताएका छन ।

किन्ताङफेदीबाट उत्तरी धादिङका ५ गाउँ विकास समितिहरु लापा, सेर्तुङ, री, झार्लाङ र तिप्लिङसम्म पुग्न सजिलो र छोटोबाटो भएकाले पनि बाध्यताका कारण हिड्नुपरेको स्थानियहरुले बताएका छन । ‘पहिरो छलेर जाँदा बाटो घुमाउरो पर्ने र ५÷६ घण्टा बढी समय लाग्ने भएपछि बाध्य भएर स्थानियहरुले पहिरोको बीचबाटै यात्रा गर्नुपरेको छ ।’

दार्खा गाउँ विकास समितिकै स्थानिय मरिचमान तामाङले भने, ‘माथिबाट सदरमुकाम तर्फ आउन लाग्दा यति गाह्रो हुन्छ कि पहिला आफुले बोकेको झोला भिरबाट खसाल्यो अनि आफुचाँही बुट्यान समाउदै झर्यो ।’

यसै त भौगोलिक रूपमा विकट छ उत्तरी धादिङ, त्यही माथी प्राकृतिक विपत्तीले झन समस्या पारेकाले सरोकारवाला निकायले मौवा भिरको बाटोमा पहिरो नियन्त्रण गरी आवत जावतका लागि मार्ग सहज बनाउन त्यस क्षेत्रका स्थानियहरुले माग गरेका छन ।

अहिले त्यही पहिरोको क्षेत्र भएर उत्तरी धादिङलाइ सदरमुकाम संग जोड्ने सडकमार्ग बनिरहेको छ । उक्त भिरमा एक महिना अघि डोजर लगाएर सडक निर्माणकार्य समेत भएको थियो । विनाशकारी भूकम्पले धाँजा परेका उक्त भिरमा बाटो बनाएपछि थप कमजोर भएकाले पहिरो खसेको स्थानियहरुले बताएका छन ।

दूरदराजका स्थानीय सर्वसाधारणको जीवन सुरक्षासँग प्रत्यक्ष जोडिएको जोखिमपूर्ण पहिरो नियन्त्रण गरी पदमार्ग तथा साबिकको सडक खुलाउनु त्यो तत्काल सम्भव नभए विकल्पको रुपमा अर्को बाटो प्रयोग गराउनु जिल्लाका सरोकारवाला निकायहरुको कर्तब्य रहेपनि सरोकारवाला निकायहरु नै उक्त पहिरोको बारेमा बेखबर रहेको पाइएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.