सडकमा शव राखेर चक्काजाम
चन्द्रपुरः कुटपिटबाट आफन्तको मृत्यु भएको र प्रहरीले दोषीलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्तले गौर– चन्द्रनिगापहुर सडकखण्डमा शव राखेर चक्काजाम गरेका छन्।
कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेपछि स्थानीयबासी र आफन्तले गौर–चन्द्रनिगाहपुर सडक खण्डको बजार टोलमा शव राखेर प्रदर्शन गरेका हुन्। सोमवार बिहानदेखि गरिएको चक्काजाम भने दोषीलाई प्रहरीले पक्राउ गरेपछि दिउँसो करिब तीन बजे खुलेको छ।
रौतहटको चन्द्रपुर–५ मा झाडुको व्यापार गर्दै आएका ४० वर्षीय राधाकृष्ण साहलाई छिमेकी मनिर मिया अन्सरीले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा ज्यान गएको पीडित परिवारले दाबी गरेको छ।
कुटपिट गर्ने अन्सारीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै महिलाहरुको समुहले इलाका प्रहरी कार्यालय अगाडिसमेत प्रदर्शन गरेका थिए।चन्द्रनिगाहपुरस्थित जनज्योति उमाविका निमावि तहका शिक्षक अन्सारी र साहबीच पहिलेदेखि नै विवाद हुँदै आएको र भदौ २२ गते अन्सारीको कुटाइबाट घाइते भएका साहको आइतवार उपचारका क्रममा ज्यान गएको पीडित परिवारको भनाइ छ।
कुटपिट गर्ने शिक्षक अन्सारीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए।