धानमा करिब १४ अर्ब रुपैयाँको आयात घट्ने
काठमाडौं: कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ। मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो। धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पदानमा समेत वृद्धि हुनेछ।
गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस वर्ष ५० लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण गरिएको छ। मन्त्रालयले गरेको प्रक्षेपणअनुसार अहिले वृद्धि हुने धान उत्पादनले करिब १४ अर्ब रुपैयाँको आयात (घट्ने) छ।
प्रवक्ता कार्कीका अनुसार हिमाली तथा पहाडी भेगमा पनि धानको उपभोग बढेकाले त्यहाँ उत्पादन हुने आलु, कोदो, फापरलगायत वस्तुलाई स्थानीय तहमा खपत गर्न सकिएमा धानको उत्पादनले राष्ट्रको माग पूरा गर्न सकिने छ। झापालाई धान उत्पादनको विशेष क्षेत्रका रुपमा लिइएको छ। देशको मागलाई पूरा गर्न करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुन आवश्यक रहेकाले यस वर्ष पनि करिब पाँच लाख मेट्रिक टन धान आयात गर्नुपर्ने देखिन्छ।
गएको वर्ष मुलुकको मागभन्दा करिब १२ मेट्रिक टन धान कम उत्पादन भएपछि २४ अर्ब रुपैयाँको धान आयात गरिएकामा यस वर्ष मुलुकको माग धान्न करिब १० अर्ब रुपैयाँको धान आयात गर्नुपर्नेछ।