‘रोल्पाको विकासका लागि सक्दो सहयोग गर्छु’
काठमाडौः उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो गृहजिल्ला रोल्पाको विकासका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् ।
जिल्लाको विकास निर्माणका लागि पहल गर्न आएको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उपराष्ट्रपति पुनले जिल्लाको सम्पूर्ण विकास निर्माणका लागि सक्दो सहयोग गर्ने बताए ।
रोल्पा विकासमा पछि परेको भए पनि पछिल्लो चरणमा विकास निर्माणको काम अगाडि बढिरहेको उनले भने । हामीले सोचेको जस्तो विकास हुन नसकेको सत्य हो, तर केही पनि नभएको पनि होइन’ उनले भने । रोलपाको केही न केही विकास त भइनै रहेको र त्यसलाई थप गति दिन आवश्यक भएको उनले बतँए ।
विकासका लागि भइरहेको प्रयासलाई सकारात्मक रुपमा लिँदै सबै राजनीतिक दल, सङ्घ संस्था एवम् जिल्लास्थित सरकारी कार्यालयको सकारात्मक पहलको आवश्यकता रहेको उपराष्ट्रपति पुनले बताए ।
उपराष्ट्रपति पुनले विनियोजन भएको बजेट पनि खर्च हुन नसकेकामा चिन्ता व्यक्त गरे । जिल्लामा प्रत्येक वर्ष बजेट फ्रिज भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने–‘जिल्लामा पुगेको सबै बजेट खर्च गराउन तपाईहरुले पनि जोड गर्नुहोस।’
विनियोजित बजेट खर्च गराउन र रोल्पाको विकासका लागि मेरो तर्फबाट पूर्ण सहयोग र पहल हुन्छ ।’ उनले भने ।
रोल्पाली टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही, रक्षा मन्त्री बालकृष्ण खाँडलगायतसँग भेटवार्ता गरेको थियो । रासस