सरकारी जग्गा व्यक्तिको नाममा

सरकारी जग्गा व्यक्तिको नाममा

धरानः मालपोत र नापी कार्यालय सुनसरीका कर्मचारीको मिलेमतोमा धरानमा १९ कट्ठा सरकारी स्वामित्वको जमिन व्यक्तिको नाममा नामसारी गरिएको छ । उक्त जग्गा प्लटिङ गरी धमाधम बिक्री भइरहेको छ ।

नापी कार्यालय सुनसरीका प्रमुख शशिकान्त झा, तत्कालीन मालपोत कार्यालय सुनसरीका अधिकृत फणिन्द्र भट्टराई, खरिदारहरू राम भट्टराई र ओम लम्सालको मिलेमतोमा सरकारी जग्गा धरान १७ का भोजबहादुर दाहालको नाममा पहिलो पटक नामसारी गरिएको हो ।

मालपोत र नापी कार्यालयका कर्मचारीले सरकारी जग्गाको किर्ते ट्रायल चेकको प्रतिवेदन तयार गरी २०७१ पुस २७ गतेको निर्णयअनुसार उक्त सरकारी जग्गा ‘नरबढी’ देखाएर व्यक्तिको नाममा नामसारी नामसारी गरिएको हो ।

भूमाफियाले उक्त जग्गा हाल पूर्वी पहाडी जिल्लाका सोझासाझा सर्वसाधारणलाई महंगो रकम लिएर बिक्री गरिरहेका छन् । उक्त जग्गाको हालको मूल्य ५ करोडभन्दा बढी रहेको छ ।

भूमाफियासँग मिलेर सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न भूमिका खेलेका तत्कालीन मालपोत अधिकृत भट्टराई हाल भूमिसुधार तथा व्यवस्थापन विभाग र खरिदार राम भट्टराई पालपोत कार्यालय साँखुमा कार्यरत छन् भने अर्का खरिदार डीभी परेपछि जागिर छोडेर अमेरिका गएको बताइएको छ ।

धरान १७ का सुमन श्रेष्ठ र एकबहादुर भण्डारीले सुरुमा भोजबहादुर दाहालको नाममा सरकारी जग्गा नामसारी गरी दोस्रो पटक आफ्नो नाममा पारेको पालपोत कार्यालयको रेकर्डमा देखिन्छ । भण्डारी र श्रेष्ठको नाममा आएको १९ कट्ठा जमिनमध्ये ९ कठ्ठा बिक्री गरिसकिएको छ भने बाँकी १० कट्ठा जमिन दुवैजनाको नाममा रहेको मालपोत कार्यालय धरानका प्रमुख भीम गौतमले बताए ।

सर्दु खोला किनारासँगै रहेको सरकरी जग्गालाई नापी कार्यालय सुनसरीका प्रमुख झाले किर्ते ट्रायल चेकको रिपोर्ट बनाएर मालपोत कार्यालयलाई पठाएपछि दुवै कार्यालयका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको मालपोत स्रोतले जानकारी दिएको छ ।

सरकारी स्वामित्वमा रहेको १९ कट्ठा जमिन २०७१ पुस २७ गते मालपोत अधिकृत भट्टराईले जग्गाको संशोधन गरी दाहालका नाममा नामसारी गर्ने निर्णय गरेका हुन् । त्यसपछि उक्त जमिन धरान १७ का एकबहादुर भण्डारी र सुमन श्रेष्ठले संयुक्त रूपमा आफ्नो नाममा रजिस्टेसन पास गरेका छन् ।

साविक घोपा गाविस (हाल धरान) ४ घ को कित्ता नम्बर ३२ को भोजबहादुर दाहाल क्षेत्रीका नाममा रहेको ३ कट्ठा साढे ७ धुर जग्गालाई १९ कठ्ठा सरकारी जमिन नरबढी देखाएर २२ कठ्ठा साढे ७ धुर बनाई नामसारी गरेका हुन् ।

उक्त सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन धरान १७ का एकबहादुर भण्डारी, सुमन श्रेष्ठ, वीरेन्द्र खड्का, शैलेन्द्र श्रेष्ठ, टेकबहादुर प्रधान, राजेन्द्र श्रेष्ठ र लक्ष्मी शाक्य तथा मालपोत र नापी कर्मचारीबीच आर्थिक चलखेल चलेको मालपोत स्रोतले जानकारी दिएको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न मुख्य भूमिका खेलेका मालपोत अधिकृत भट्टराईले नापी कार्यालयको ट्रायल चेकका आधारमा आफूले उक्त जग्गाको निर्णमा हस्ताक्षर गरेको बताएका छन् । उनले १९ कट्ठा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न फाँट इन्र्चाज राम भट्टराई र ओम लम्सालले सिफारिस गरेका कारण आफूले हस्ताक्षर गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

नापी प्रमुख झाले भने आफूले मालपोत कार्यालयलाई उक्त जग्गाको ट्रायल चेकको सिफारिस नगरेको दाबी गरे । सरकारी जग्गा आफ्नो नाममा ल्याएका भण्डारीले भने पटक पटक फोन सम्पर्क गर्दा उठाएनन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इंले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरिएको विषयमा छानबिन गरी दोषी कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाइने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.