आयल निगमको भण्डारण क्षमता बढाउन माग

आयल निगमको भण्डारण क्षमता बढाउन माग

धनगढीः नेपाल आयल निगम सुदूरपश्चिम क्षेत्रीय कार्यालय धनगढीको भण्डारण क्षमता बढाउन सरोकारवालाले माग गरेका छन् । ३० वर्षअघिको भण्डारण क्षमताले डिजेल पाँच दिन र पेट्रोलको एक दिनको मौज्दात पनि नहुने भएकाले भण्डारण क्षमता बढाउन माग गरिएको हो ।

धनगढीको पेट्रोलियम डिलर्स एसोसिएसनले आपूर्तिमन्त्री दीपक बोहरालाई भण्डारण बढाउन र ढुवानी साधन थप्न माग गरेको हो । धनगढीमा झन्डै ३० वर्षअघि २०४२ सालको खपतका आधारमा भण्डारण क्षमता तोकिएको थियो ।

२०३९ सालमा धनगढीमा स्थापना भएको आयल निगमको क्षेत्रीय कार्यालयमा २०४२ सालको भण्डारण क्षमता भएकाले हप्तामा दुई तीन दिन बजारमा इन्धन अभाव हुँदै आएको छ ।

सरकारले भण्डारण क्षमता पनि नबढाएको र ढुवानीका साधनमा पनि सिन्डिकेट लादेकाले हप्तामा एक दुई दिन इन्धन अभाव हुँदै आएको पेट्रोलियम डिलर्स एसोसिएसन कैलालीका अध्यक्ष देवबहादुर खत्रीले बताए ।

धनगढीमा डिजेलको भण्डारण क्षमता १५ लाख ९० हजार लिटर छ । डिजेलको दैनिक खपत तीन लाख लिटर छ । अझ दैनिक खपत ६० हजार लिटर रहेको पेट्रोलको भण्डारण क्षमता त ७० हजार लिटरमात्रै छ । ‘सरकारले ३० वर्षदेखि सुदूरपश्चिमको भण्डारण क्षमतामा ध्यान नै दिएको पाइँदैन', खत्रीले गुनासो गरे ।

२०४२ सालमा सुदूरपश्चिमभरि एक हजारको हाराहारीमा सवारीसाधन रहेकोमा अहिले त्यो संख्या बढेर एक लाख नाघेको छ । सेती अञ्चल यातायात व्यवस्था कार्यालय धनगढीको तथ्यांकअनुसार सेती अञ्चलका पाँच जिल्लामा मात्रै ६५ हजारभन्दा बढी सवारीसाधन छन् ।

आयल निगमको मौज्दात क्षमता इन्धन अभावको पहिलो कारण हो भने अर्को कारण ढुवानीका ट्यांकरमा लगाइएको सिन्डकेट रहेको पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ ।

‘सेतीमा मात्रै ६५ हजारभन्दा बढी सवारीसाधन छन्, अझ बाहिरबाट आउने सवारीसाधनलाई इन्धन दिन्न भन्न त मिल्दैन, त्यसले पनि खपत बढाउँछ', सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्णप्रसाद भुसालले भने ।

महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयमा ५० हजारभन्दा बढी सवारीसाधन दर्ता भएका छन् । ‘त्यसैले पनि अहिलेको मौज्दात नगन्य भएकाले इन्धनको हप्तामा दुई तीन दिन अभाव भइरहन्छ', सुदूरपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष टेकराज जोशीले भने ।

आयल निगमको मौज्दात क्षमता इन्धन अभावको पहिलो कारण हो भने अर्को कारण ढुवानीका ट्यांकरमा लगाइएको सिन्डकेट रहेको पेट्रोलियम डिलर्स एसोसिएसनले जनाएको छ । सुदूरपश्चिमका लागि पेट्रोलियम ढुवानी गर्न अहिले ६६ वटा ट्यांकरमात्रै छन् ।

‘भारतको नाकाबन्दीका बेला पनि यो नाका सहज रहेकोमा ट्यांकरको कमी भएकाले ढुवानी हुन सकेको थिएन', एसोसिएसनका अध्यक्ष खत्रीले भने । धनगढीमा रहेको ट्यांकर व्यवसायी संघले पाँच वर्षदेखि नयाँ ट्यांकर थप्न दिएको छैन ।

‘ट्यांकरको सिन्डिकेट पनि बजारमा अभाव हुनुको महत्वपूर्ण कारण हो', उपभोक्ता हित संरक्षण मञ्च कैलालीका अध्यक्ष धनपति ढुंगेलले भने । ‘निगमले भण्डारण क्षमता नबढाउँदा र ट्यांकर नथप्दासम्म बजारमा सहज आपूर्ति हुँदैन ।'

धनगढीका लागि भारतको उत्तरप्रदेशमा रहेको बन्थरा डिपोबाट इन्धन आयात गरिन्छ तर भारतले शनिबार र आइतबार इन्धन लोड दिँदैन । यसले पनि आपूर्तिमा समस्या खडा गरेको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.