आफ्नै ट्रेडमार्कमा अलैंची निर्यात गर्ने तयारी 

आफ्नै ट्रेडमार्कमा अलैंची निर्यात गर्ने तयारी 

खाँदबारीः नेपाली अलैंची अब आफ्नै ट्रेडमार्कमा विश्वबजारमा पुग्ने भएको छ । हाल नेपालमा उत्पादित अलैंची ‘मेड इन इन्डिया' का नाममा विश्वबजारमा पुग्ने गरेकोमा अब एभरेस्ट बिग कार्डिमम ट्रेडमार्कमा निर्यात गर्ने तयारी गरिएको छ । अलैंची व्यवसायी महासंघले नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भईसकेकाले अब आफ्नै ट्रेडमार्कमा अलैंची निर्यात गर्न लागिएको जानकारी दिएको छ ।

डब्लूटीओका विभिन्न सन्धिमा हस्ताक्षर गरिसकेकाले आफ्नो उत्पादनलाई ट्रेडमार्क लिएर विश्वमाझ पुर्‍याउनुपर्ने व्यवस्था छ । ट्रेडमार्क लिन व्यवसायी उत्साहि भएको तर राज्यले कुनै चासो नदेखाएको ट्रेडमार्क कानुनमा स्नात्तकोत्तर गरेका अधिवक्ता भविश्र गुरुङ बताउँछन् । अलैंचीको राजस्व लिन सक्नेले बजार बनाउन नसक्नु गैरजिम्मेवारपन भएको उनको भनाइ छ । पस्मिनामा पनि यस्तै समस्या थियो तर पछिल्लो समय राज्यकै पहलमा नेपाली ट्रेडमार्क लिन सफल भएको छ ।

पहिलो चरणमा स्थानीय ट्रेडमार्क लिएर दोस्रोमा मात्र अन्तर्राष्ट्रिय ट्रेडमार्क लिनुपर्ने व्यवस्था छ । डब्लूटीओमा भारतले अलैंची दर्ता गरेर नेपाली अलैंची पुर्‍याउँदा राज्यलाई वार्षिक अर्बौं घाटा पुगेको अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भ ट्टराईको दाबी छ ।

महासंघले तीन वर्षदेखि ट्रेडमार्कको पहल सुरु गरेको हो । राज्यले सहयोग गरे तीन महिना भित्रमा एभरेस्ट बिक कार्डिममको ट्रेडमार्कमा अलैंची निकासी सुरु गर्ने उनले बताए । अध्यक्ष भट्टराईले अन्तर्राष्ट्रिय बजारमा ट्रेडमार्कसँगै गुणस्तर कायम गर्नु चुनौती रहेको बताए । उनले भने, ‘विश्वबजारमा सक्कली देखिँदैन नेपाली उत्पादन भारतको नाममा पुग्छ, नक्कल रोकेर विश्वबजारमा पहिचान कायम गर्नुको विकल्प छैन ।'

डब्लूटीओका विभिन्न सन्धिमा हस्ताक्षर गरिसकेकाले नेपालले आफ्नो उत्पादनलाई ट्रेडमार्क लिएर विश्वमाझ पुर्‍याउनुपर्ने व्यवस्था छ ।

विश्वबजारको ६५ प्रतिशत उत्पादन नेपालकै भए पनि आफ्नै ट्रेडमार्कमा भने निकासी हुन नसकेको अलैंची किसान सुमन श्रेष्ठ बताउँछन् । रोगका कारण उत्पादन घटेकाले उत्पादन बढाउन बगानमा देखिएका समस्या समाधानका साथै प्रशोधन र बजारीकरणमा ध्यान दिएर अभियान सुरु गरेको श्रेष्ठले जानकारी दिए ।

नेपाली अलैंची उत्पादनसँगै गुणस्तरमा समेत गिरावट आएकाले बजारमा नकरात्मक सन्देश गएको निर्यातकर्ता एवं अलैंची व्यवसायी महासंघका सचिव इन्द्रचन्द्र बिन्दलले बताए । धुँवारहित अलैंचीको माग बढी रहेकाले उत्पादनसँगै प्रशोधनमा मुख्य ध्यान नदिए बजार लिन गाह्रो हुनेछ ।

नेपालमा उत्पादित वस्तुलाई विश्वबजारमा चिनाउने राज्य उदासिन रहेकाले तत्काल पहल गरी ट्रेडमार्क लिन बिन्दलले माग गरे । अलैंची ताप्लेजुङ, संखुवासभा, इलामलगायतका जिल्लामा उत्पादन हुने गरेको छ । नेपाल, भारत र भुटानमा उत्पादन हुने अलैंची विशेष गरी मसलाका रूपमा खाडी राष्ट्रमा बढी निर्यात हुने गरेको महासंघको तथ्यांक छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.