‘किनाराको एक साक्षी’ सार्वजनिक
लिबाङः चिकित्सा क्षेत्रमा सक्रिय डा. चन्द्रबहादुर घर्तीमगरको ‘किनाराको एक साक्षी’ कवितासंग्रह सार्वजनिक भएको छ । लिबाङमा आयोजित कार्यक्रममा कवितासंग्रह सार्वजनिक गरिएको हो । जंकोट-४ का ३१ वर्षीय युवा डा. चन्द्र चिन्तन साहित्यिक नामबाट कवितामा चिनिन्छन् ।
बाल्यकालदेखि नै सिर्जनामा रमाउने उनले डाक्टरी अध्ययनसँगै साहित्य लेखनलाई निरन्तरता दिएको बताए । कवितासंग्रहपछि डाक्टरका रूपमा चिनिएका चन्द्रको परिचय कविका रूपमा पनि थपिएको छ ।
चन्द्रबहादुरका कवितामाथि डीबी टुहुरोले समीक्षा गरेका थिए । आफ्नै राष्ट्र, राष्ट्रियता, माटो र गाउँप्रतिको गहिरो माया कवितासंग्रहमा रहेको उनले बताए । कवितामा बेथितिले थलिएको नेपाली राजनीति, समाज र भ्रष्टीकरणको उपचार गर्न चाहेका छन् । बिरामीको उपचार गर्ने डा. चन्द्रले चिन्तनमार्फत रोगी समाजको उपचार गर्न खोजेको नेपाल प्रज्ञाप्रष्ठिानका प्राज्ञ परिषद् सदस्य डा. अमर गिरीले बताए । उनले संग्रहको सफलताका लागि कामनासमेत गरे ।
कविकी आमा मनमाया घर्तीमगर र प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटीका शाखा सभापति नौलसिंह पुनमगरले कवितासंग्रह विमोचन गरेका थिए । टुहुरोले डा. चन्द्र चिन्तनको कविता आत्मानुभूतिबाट निःसृत भएको बताए । स्वर्गीय बुवा मैसुर घर्तीमगरको सम्झनामा लेखिएको कविता मन छुने खालको भएको समीक्षकहरूको भनाइ छ ।
हाम्रो खुसी देख्दा तँलाई, ईष्र्या किन जाग्नुपर्ने ?
रुँदै ईश्वर नाम जप्दै, तँलाई किन ढोग्नुपर्ने ?
मातृभूमिप्रतिको प्रेम, स्नेह र हार्दिकता संग्रहमा समेटिएको कवि चाङचिराग बताउँछन् । ३३ वटा कविता रहेको संग्रहको साजसज्जा सर्जक कृष्ण घर्तीमगरले गरेका छन । जिल्लाकै जेठो साहित्यिक संस्था ललित साहित्य परिषद्ले संग्रहको लोकार्पण गरिदिएको हो । अध्यक्ष ओम पक्षीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।