यो सिजन ला लिगाको उपाधि उचाल्छौंः रोनाल्डो
काठमाडौंः च्याम्पियन्स लिग फुटबलका पछिल्ला तीन संस्करणमा दुईवटा उपाधि उचालेको रियल मड्रिडले स्पेनिस लिग ला लिगामा भने त्यो लय समात्न सकेको छैन।
स्टार खेलाडीहरुले भरिएको रियल मड्रिडले पछिल्लो पटक ला लिगा फुटबलको उपाधि सन् २०११/१२ मा जितेको थियो। तर, त्यस यता उसले ला लिगा फुटबलको उपाधि उचाल्न सकिरहेको छैन। रियल मड्रिडले रोनाल्डोबिना नै खेलेका खेलमा जित हात पार्दै ला लिगामा राम्रो सुरुवात गरेको छ।
रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले यो सिजन ला लिगा फुटबलको उपाधि आफ्नो क्लबले उचाल्ने दाबी गरेका छन्। चोटमुक्त भएर भर्खरै खेलमा फर्किएका रोनाल्डोले यो सिजनको उपाधिको प्रमुख दाबेदार टोली रियल मड्रिड नै भएको बताए। रोनाल्डोले भने,‘मैले क्लबबाट सवै खाले उपाधि उचाल्न चाहन्छु। त्यसमा अझ भन्ने हो भने ला लिगाको उपाधि उचाल्न मन पर्छ र त्यो चाहन्छु।’
रोनाल्डोले रियलको सुरुवात राम्रो भएकाले टिमको लयलाई कायमै राख्दै उपाधि उचाल्ने गरी खेल्ने बताए। रोनाल्डोले भने,‘यो ठूलो प्रतिस्पर्धा हो। खेल धेरै खेल्नु पर्छ। तर, मलाई विश्वास छ यो वर्ष हामीले ला लिगा जित्छाैं।’
३१ वर्षीय पोर्चुगिस् खेलाडी रोनाल्डोेले रियल मड्रिडजस्तो विश्वकै ठूलो क्लबबाटै व्यवसायिक फुटबल करियर टुंग्याउन चाहेको समेत बताएका छन्।