पाँच वर्षमा भित्रियो खर्बको सुन

पाँच वर्षमा भित्रियो खर्बको सुन

काठमाडौः पाँच वर्षयता नेपालमा ९९ अर्ब १४ करोड रुपैयाँको सुन भित्रिएको छ । यस अवधिमा नेपाली उपभोक्ताको आयस्तरमा आएको परिवर्तनसँगै सुन आयातमा पनि वृद्धि भएको हो । उपभोक्ताको आयस्तरमा वृद्धि भए पनि आय अनुत्पादक क्षेत्रमा थुप्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

वार्षिक ८० हजार नौ सय २१ रुपैयाँ आय भएका नेपालीले नगद सम्पत्ति भए पनि अनुत्पादक सम्पत्तिका रूपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०६८/६९मा ५७ हजार तीन सय ३७ रुपैयाँ प्रतिव्यक्ति आय भएका नेपालीले २५ अर्ब ७७ करोड रुपैयाँ सुन किन्नमा खर्चिएका छन् ।

समीक्षा अवधिको अघिल्ला तीन वर्ष नेपालमा वार्षिक २५ अर्बको हाराहारीमा सुन भित्रिए पनि पछिल्लो दुई वर्षमा नेपालमा सुन भित्रने क्रम कमी आएको छ । अघिल्लो वर्ष जति बेला नेपालमा अत्यधिक चाँदी भित्रियो, त्यसवर्ष थोरै परिमाणमा मात्र वैधानिक सुन भित्रिएको छ ।

पछिल्लो समय अवैधानिक बाटोबाट आएको सुनले बजार पाउन थालेपछि वैधानिक सुनको आयातमा कमी भएको हो । तस्करीको सुन प्रतितोला पाँच हजार रुपैयाँसम्म सस्तोमा पाइने भएकाले यस्तै सुनबाट बजार चलिरहेको न्यूरोटका एक सुन व्यवसायीले बताए ।

बैंकमा सुन किन्न जाँदा प्रक्रियागत भन्झट र सानो परिमाणमा सुन किन्न नपाउने व्यवस्थाका कारण पनि सहज र सरल तरिकाले आफ्नै व्यावसायिक स्थलमै ल्याएको सस्तो सुन किन्न व्यवसायी आकर्षित भएका हुन् । व्यवसायीले सानो परिमाणमा पनि सुन किन्न पाउनुपर्ने माग राख्दै आएकाले गत सातामात्र मन्त्रिस्तरीय निर्णयबाट सानो परिमाणको सुन पनि आयात गर्न पाउने व्यवस्था भएको छ ।

वार्षिक ८० हजार नौ सय २१ रुपैयाँ आय भएका नेपालीले नगद सम्पत्ति भए पनि अनुत्पादक सम्पत्तिका रूपमा गणना हुँदै आएको सुनमा ठूलो लगानी गरेको तथ्यांकले देखाएको छ

यो व्यवस्थाअनुसार बैंकहरूले अब एक सय ग्राम, दुई सय ग्राम, पाँच सय ग्राम र एक किलोको परिमाणमा सुन ल्याउन पाउने भएका छन् । सानो परिमाणमा सुन आयात गर्न पाउने व्यवस्थासँगै व्यवसायीले पनि सानो परिमाणमा सुन किन्नका लागि बाटो खुलेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

‘चार हजारदेखि पाँच हजारसम्म सस्तोमा पाइने सुन किनेर विगत तीन वर्षदेखि व्यापार सञ्चालन गर्दै आएको छुँ,’ ती व्यवसायीले नाम नबताउने शर्तमा भने ‘ म जस्तै अन्य धेरै व्यवसायीको व्यवसाय यसरीनै सञ्चालन भएको छ ।’ ‘सरकारले ल्याएको सुन किनेर को झन्झटमा फसिरहोस्, सस्तो सजिलो उपाय अपनाउमानै व्यवसायिक हित छ,’ती व्यवसायीले अन्नपूर्णसँग भने ।

अझ यस्तो व्यवसाय उपत्यका भित्रभन्दा बाहिर मौलाएको उनीहरूको भनाइ छ । बैंकले आयात गरेको सुन उपत्यका बाहिर नलैजाने र व्यवसायी स्वयंले सुन लैजाँदा बढी रिक्स हुने भएकाले पनि उपत्यका बाहिर प्रायः अवैधसुनबाट बजार चलिरहेको राष्ट्र बैंकमा भेटिएका सर्लाही, महोत्तरी तथा बाराका व्यवसायीले बताएका छन् ।
२०६६/६७ मा करिब ३८ अर्ब रुपैयाँको सुन आयात भएपछि नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा बाहिरियो भन्दै सुन आयातमा कोटा प्रणाली लागू गरेको हो ।

कोटा प्रणालीबाट नेपाल भित्रिएको सुनले बजार धान्न नसकेको बताउने व्यवसायी पछिल्लो समय सस्तो सुन पाउन थालेपछि उपभोक्ताले पुनर्निर्माणका लागि पुरानो सुन बिक्रीमा ल्याएको र त्यहिबाट बजार चलिरहेको बताउँदै आएका छन् ।

पछिल्लो समय राजधानीकै ठूला सुन व्यवसायी तस्करीमा संलग्न भएकाले सुनको आयात घटेको जनाकारले बताएका छन् । ठूला सुन व्यापारीको सुन तस्करीमा संलग्नताबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, भन्सार विभाग र राजस्व अनुसन्धान विभागबीच पनि सुन तस्करी गर्नेलाई कारबाही प्रक्रिया अघि बढाउने निर्णय भए पनि अझैसम्म कुनै कारबाही अघि बढाउन सकेको छैन । केही वर्षयता ठूलो परिमाणमा चीनगायतका देशबाट नेपालमा सुन भित्रिए पनि सरकार भने थाहा नपाए जसरी कानमा तेल हालेर बसिरहेको छ । यदि नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा प्रहरी मिल्ने हो भने यो गिरोहको पर्दाफास छिटै गर्न सकिने राष्ट्र बैकका एक अधिकारीले बताए ।

यसले बहुमूल्य धातुमा अपनाइएको नियन्त्रणमुखी नीतिले काम गर्दैन भन्ने पुष्टि गरेको छ । अहिले बजारमा जति पनि सुन तस्करी भएको छ सबै राजस्व छल्नकै लागि भएको बुझिन्छ । १० ग्रामको चार हजार दुई सय भन्सार शुल्क तिर्नु पर्ने व्यवस्थाले पनि सुन तस्करी गर्नेलाई प्रोत्साहन मिलेको विभिन्न जिल्लाबाट राष्ट्र बैंक आएका सुन व्यवसायीले बताए । सरकारले हाल लिँदै आएको राजस्व घटाएमा सुन तस्करी घट्ने उनीहरूको बुझाइ छ । सरकारकै कमजोरीका कारण तथा मिलेमतोमा तस्करीको सुन नेपाल भित्रिएर तत् स्थानमा पुग्ने गरेकोले व्यवसायीले सहजताको बाटो अपनाएको उनीहरूको पुष्टि गरे ।

बजारमा सरकारी कोटाबाट आएको सुन बिक्री नहुँदा पछिल्लो समय बैंकले सुन आयात नै रोकेकाले पनि पछिल्लो दुई वर्र्ष कम आयात भएको आँकडा देखिएको हो । अघिल्लो वर्ष भारतीय मुद्रा भुक्तानका लागि चाँदीको प्रयोग हुन थालेपछि करिब चाँदीको आयात बढेको थियो भने सुनको आयात भने समीक्षा अवधिकै कम आयात भएको छ । त्यस वर्ष करिब २४ अर्ब ६९ करोडको चाँदी नेपाल भित्रिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.