प्रधानमन्त्रीको भारत भ्रमणः भारतका लागि सम्बन्ध सुधारको मौका
नयॉदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भ्रमणलाई नेपालमा गतवर्ष संविधान जारी भएलगत्तै आफूले गरेको अघोषित नाकाबन्दीका कारण चिसिएको नेपालसँगको सम्बन्ध सुधारका लागि उपयोग गर्ने रणनीतिमा भारत देखिएको छ ।
उसले यसका लागि नेपालसँग बिगतमा सहमति भएर पनि कार्यान्वयनमा आउन नसकि लामो समयदेखि अड्केका सम्झौता कार्यान्वयनमा आफू तयार रहेको जनाउ दिएको छ । साथै नेपालसँग आर्थिक विकासका परियोजनामा सहकार्य गर्न तयार रहेको र त्यसबाट दुवै पक्षले लाभ लिने वातावरण तयार होस् भन्ने आफ्नो सन्देश दिएको छ ।
साथै उसले नेपालसँग उच्चस्तरीय भ्रमण नियमित गर्न समेत सहमति जनाएको छ । यसबीच भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको तयारी भएको छ ।
भारतीय राष्ट्रपतिले आगामी नोभेम्बर ३ र ४ मा नेपालको औपचरिक भ्रमण गर्ने अधिकारीहरुले बताए । भारतीय बिदेश मन्त्री सुस्मा स्वराज र परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतबीच राष्ट्रपतिको नेपाल भ्रमणबारे सहमति भएको हो ।
भारतीय राष्ट्रपति फर्केलगत्तै नेपालकी राष्ट्रपति बिद्यादेवी भण्डारी भारत भ्रमणमा आउने सहमति भएको अधिकारीहरुले बताए । डिसेम्बर अन्तिम साता भण्डारीको भारत भ्रमण हुनसक्ने बताइएको छ । प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका सिलसिलामा आएका परराष्ट्रमन्त्री महतसँग भएका उच्चस्तरीय भेटहरुमा भारतले यस्तो सन्देशहरु दिएको भेटमा सहभागि अधिकारीहरुले अन्नपूर्णलाई बताए ।
नेपालमा चिनियां राष्ट्रपति सि जिनपिङ्को भ्रमण अघि भारतीय राष्ट्रपतिको भ्रमण गराउन भारत तत्पर देखिएको हो । चिनियाँ राष्ट्रपतिको अक्टोबर मध्यका लागि तय भएको नेपाल भ्रमण स्थगित भएको छ भने उनको नेपाल भ्रमणको नयाँ मिति तय भएको छैन । चिनियां राष्ट्रपतिको नेपाल भ्रमणका लागि कुटनीतिक च्यानलबाट कुराकानी भइरहेको चीनले बताएको छ ।
भारतले नेपालसँगको सम्बन्ध सुधारका लागि आफू तत्पर रहेको सन्देश दिएको अधिकारीहरुको बुझाइ छ ।
भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मन्त्री महतसँग नेपालमा ब्याप्त भारत बिरोधी 'सेन्टिमेन्ट' कसरी हटाउन सकिन्छ भन्नेमा चिन्ता जनाएका छन् । उनले मधेसी समस्याको समाधानमा सरकारी प्रयासबारे चासो राख्दै भारतको सुरक्षा सरोकार समेत महतसंग जनाए ।
'नेपालसँगको सम्बन्ध सुधारका लागि भारतीय पक्षमा गम्भीरता देखिन्छ' भेटमा सहभागि ती अधिकारीले भने 'यो सकारात्मक घटनाक्रम हो ।' उनका अनुशार भारतीय बिदेशमन्त्री सुस्मा स्वराज, जलस्रोतमन्त्री उमा भारती र बिद्युत्मन्त्री पियुस गोयलले नेपालसँग विकासका लागि सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।
'भारत छिमेकी लगायत बिदेशी मुलुकसँग विकास प्रक्रियामा सहकार्य गर्न चाहन्छ ताकि दुवै देशले पारस्परिक लाभ लिन सकुन् । भारत विकासमा राजनीति गर्न चाहँदैन । आफ्नो आन्तरिक विकास प्रक्रियामा पनि राजनीति हावी भएको भारत चाहँदैन' भारतीय जलस्रोत मन्त्रीले महतसँग भनिन् । भारतीय अधिकारीहरु नेपालसँग विगतमा हस्ताक्षर भएपनि कार्यान्वयनमा आउन नसकेका विकास परियोजनालाई चाँडै टुंग्याउन उद्दत देखिएको उनले बताए ।
भेटहरुमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन टुंग्याउने बिषयमा कुराकानी भएको मन्त्री महतले पत्रकारहरुलाई बताए ।
सरकारी अधिकारीहरु प्रधानमन्त्रीको भ्रमणमा पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन सकिन्छ भन्नेमा खासै आशावादी छैनन् ।
दाहालको पहिलो कार्यकालमा छलफल भएको नौमुरे जलबिद्युत् परियोजना नेपालकै चाहनामा बनाइदिने प्रतिबद्दता जनाएको छ । तर यसमा ढुक्क हुने स्थिती नरहेको सरकारी अधिकारीहरुले बताए । त्यस्तै मधेसको विकाससँग प्रत्यक्ष सरोकार राख्ने हुलाकी राजमार्गको दोश्रो चरणको विस्तारमा प्रधानमन्त्रीको भ्रमणमा समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
प्रधानमन्त्री दाहालको बिहीबारदेखि शुरु हुने भारतको चार दिने राजकीय भ्रमणको तयारी पुरा भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बताए । भारतले प्रधानमन्त्री दाहाललाई राजकीय सम्मान दिने भएको छ । उनी लगायत १५ जना नेपाली भ्रमण दलका प्रतिनिधीलाई भारतीय राष्ट्रपति निवासमा बसोबासको व्यवस्था मिलाइएको छ । अन्यलाई भने नयाँ दिल्लीस्थित होटल ताजमान सिंहमा राखिने भएको छ ।
प्रधानमन्त्रीको भ्रमण दलमा व्यापारी, पत्रकार लगायत एक सय १५ जना सहभागि छन् । जसमध्ये ४२ जनाको मात्र नेपाल सरकारले खर्च बेहोर्नेछ । प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय प्रधानमन्त्री मोदी र राष्ट्रपति मुखर्जीसंग भेट्नेछन् । सोही दिन भारतीय प्रधानमन्त्री मोदी र दाहालले संयुक्त पत्रकार सम्मेलनमा सहभागिता जनाउनेछन् । भ्रमणको क्रममा संयुक्त वक्तव्य जारी हुने भएको छ ।
'नेपाल भारतबीचको सम्बन्धमा नयाँ आयाम'
यसैबीच परराष्ट्रमन्त्री महतले आफूले गरेको भारत भ्रमणबाट नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको बताएका छन् ।
दुई दिने भारत भ्रमण सकेर मङ्गलबार स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने 'मेरो यस भ्रमणले नेपाल भारत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको छ र यसले दुई देशबीच विश्वासको सम्बन्ध विकसित गर्न दरिलो आधार निर्माण गरेको छ ।'
भ्रमण अत्यन्तै सफल र सौहार्द भएको बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका लागि यसले सकारात्मक आधारशिला निर्माण गरेको बताए ।
भ्रमणमा नयाँ आयोजना वा सम्झौता भन्दा पनि दुई देशबीच विगत लामो समयदेखि कार्यान्वयनको चरणमा रहेका र सम्झौता भएर पनि कार्यान्वयन हुन नसकेका विषयमा छलफल भई तिनका समस्या र अवरोधहरु हटाएर सहजीकरण गर्दै अघि बढ्ने विषयमा नेपालतर्फबाट राखिएको प्रस्तावमा उनीहरु अत्यन्तै सकारात्मक भएको उनले बताए ।
पञ्चेश्वर आयोजनालाई गतिदिने विषयका साथै डुबान समस्याबारे कुरा उठाएको र आगामी दिनमा यी विषयमा उत्पन्न अवरोध हटाएर कार्यान्वयनमा सहजीकरण गर्न उहाँहरु सहमत हुनुभएको मन्त्री डा महतले बताए ।
दुई देश बीच उर्जा व्यापार सम्झौताका क्षेत्रमा बिगतमा अवरोध उत्पन्न भएकोले त्यसलाई हटाउने विषयमा सहमति भएको र यसका कारण नेपालमा उर्जामा ठूलो लगानी आउने बारेमा आफू विस्वस्त रहेको उनले बताए ।
विद्युतीय ट्रान्समिसन लाइन निर्माण, गौरीफन्टा नाकालाई स्तरोन्नती गरी सहज बनाउन तथा चाँदनी दोधारा नाका सञ्चालनलाई अघि बढाउन, हुलाकी राजमार्गको दोस्रो चरणको कामलाई अघि बढाउने विषयमा नेपालको तर्फबाट प्रस्ताव गरिएको उनले बताए ।
त्यसैगरी गण्डक सम्झौताबमोजिम नेपालको ४० हजार एकड भूमिमा सिंचाई हुनुपर्नेमा हाल २५ हजार भूमिमा मात्र सिंचाइ पुगेकोले यो विगतको सम्झौता पूरा गर्ने विषयमा छलफल भएको महतले बताए ।