राज्यले देखेन दशरथ रंगशालाको दुर्गति (फोटोफिचर)
शब्दः लोकेन्द्र प्रसाई
तस्बिरः रजेन्द्र केसी
काठमाडौःभूकम्पपछि नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’ दयनीय अवस्थामा पुगेको छ । भूकम्प गएको करिब डेढ वर्ष बितिसक्दा पनि रंगशाला मर्मत तथा पुनर्निर्माणको प्रक्रिया परीक्षणमै अड्किएको छ । गत जुनको अन्त्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मल्टी डिसिप्लिनरी कन्सल्टेन्ट प्रालि, एनागर कन्सल्टेन्ट प्रालि र इन्क्लुसिभ कन्सल्टेन्ट प्रालिलाई संयुक्त रूपमा विस्तृत विवरण प्रतिवेदन (डीपिआर) का लागि जिम्मेवारी दिएको छ । उनीहरूले चार महिनाभित्र डीपीआर बुझाउनु पर्नेछ ।
प्रतिवेदनमा पूरै भत्काउनुपर्ने, आंशिक भत्काउनुपर्ने वा मर्मत गर्नुपर्ने सुझावसहित त्यसको खर्च विवरणसमेत उल्लेख हुने राखेपको निर्माण शाखाले जनाएको छ । यस्तो स्थितिमा रंगशालाको नियमित स्याहारसमेत ठप्प देखिन्छ । रंगशालाको आवश्यक रेखदेख र स्याहार पनि बन्द भएको छ । साधारण प्यारापिटतर्फ घाँसका ठुल्ठूला थुम्का मौलाएका छन् । भूकम्पको कारण भत्किएका रंगशालाका गेटहरू काम चलाउ रूपमा मात्र मर्मत गरिएको छ ।
भूकम्पका कारण रंगशालाको प्यारापिटमा बस्न सक्ने अवस्था छैन । भीआईपी प्यारापिटमा भवन विभागले पहेँलो स्टिकर टाँसिदिएको छ । साधारण प्यारापिटका पर्खाल पनि चर्किएका छन् । राखेप सदस्यसचिव केशवकुमार विष्टले सरकारी प्रक्रिया नै लामो भएकाले रंगशालाको मर्मतप्रक्रिया सुस्त भएको बताए । ‘सरकारी सम्पत्ति बनाउनमात्र होइन भत्काउन पनि प्रक्रिया लामो हुन्छ’, सदस्यसचिव विष्टले भने । रंगशाला निर्माण गर्दाको कागजातको अभिलेख नभएकाले अध्ययनमा गाह्रो भइरहेको उनले बताए ।
रंगशालाको साधारण प्यारापिटतर्फ नयाँ बनेको भागमा भने कुनै समस्या छैन । आठौं दक्षिण एसियाली खेलकुदका लागि साधारण प्यारापिट बढाइएको थियो । पछि थपिएको भाग भने आरसीसी गरिएकाले कुनै समस्या छैन । पुरानो भाग भने कम्तीमा मर्मत गर्नुपर्ने स्थितिमा छ । भीआईपी प्यारापिट पूरै भत्काउनुपर्ने अवस्था आउन सक्ने जनाइएको छ ।
भीआईपी प्यारापिटको छानाको भागले त्रिपुरेश्वर सडक खण्डलाई समेत ढाकेकाले भत्काउनुपर्ने अवस्था आउने स्रोतले जनाएको छ । राखेपको निर्माण शाखाका प्रमुख अरुण उपाध्याय डीपीआरको प्रतिवेदन नआइकन काम सुरु गर्न सक्ने अवस्था नभएको बताउँछन् । दशरथ रंगशालामा लामो समयदेखि फुटबल गतिविधि बन्द छ । दुई वर्षपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमै आयोजना हुने भएकाले पनि नेपाललाई पूर्वाधार निर्माण र मर्मतको चटारो छ ।
भूकम्प गएको करिब डेढ वर्ष बितिसक्दा पनि रंशशाला मर्मत तथा पुनर्निर्मिाणको प्रक्रिया परीक्षणमै अड्किएको छ । रंगशालाको आवश्यक रेखदेख र स्याहार पनि बन्द भएको छ ।
‘डीपीआरको प्रतिवेदन आएपछि त्यसले दिने सुझावअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । तर सरकारी प्रक्रिया भएकाले लामो समय लाग्छ । भत्काएरै निर्माण गर्नुपर्ने भए गम्भीर रूपमा अगाडि बढ्नुपर्ने हुन्छ । तत्काल रंगशाला सुचारु हुने अवस्था देखिँदैन’, उपाध्यायले भने ।
चालू आर्थिक वर्षमा दशरथ रंगशालाका लागि तीन करोड बजेट विनियोजन भएकाले निर्माण वा मर्मत ‘मल्टिइयर’ मा जाने निश्चित छ । उपाध्यायले १३ औं सागका लागि पूर्वाधार निर्माण समयमा गर्न ‘फास्ट ट्र्याक’ प्रभावकारी विकल्प हुन सक्ने बताए । भूकम्प आउनुअघि राखेपले रंगशालाको साधारण प्यारापिटमा जस्ताको छाना हाल्ने निर्णय गरेको थियो । त्यतिबेला साधारण प्यारापिटतर्फ १२ हजार सिट राखिएको थियो । तर भूकम्पपछि रोकिएको छाना हाल्ने काम भर्खरै सुरु गरिएको छ ।
प्यारापिटमा राखिएका सिटहरू भने निकाल्न सुरु गरिएको छ । छाना हाल्दा फुट्ने डरले सिट अहिले झिकिएको राखेपले जनाएको छ । रंगशालाको ट्रयाक पनि कमजोर छ । खेलाडीहरूले ट्र्याकको अवस्थालाई लिएर गुनासो गर्ने गरेका छन् ।
तर ट्र्याक मर्मतका लागि तत्काल राखेपसँग कुनै योजना छैन । यसबीच रंगशालाको खुला आवत्जावतले हरेक बिहान दशरथ रंगशालाको मैदानमा मान्छेको मेला नै लाग्ने गरेको छ । युवराज लामा राखेपको सदस्यसचिव रहँदा नै रंगशालाको सुरक्षाका लागि प्रहरीको व्यवस्था गर्ने भनिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन ।