भारोत्तोलनको तयारी तीव्र
राजविराजः सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सप्तरीमा हुने भारोत्तोलन खेलकुदको तयारी तीव्र पारिएको छ । भारोत्तोलनका लागि खेलस्थल चयनपछि राजविराजमा यसको तयारी तीव्र पारिएको हो । भारोत्तोलनमा थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी जन्माएको सप्तरीमा राष्ट्रियस्तरको प्रतियोगिता हुने भएपछि प्रतियोगी खेलाडी, प्रशिक्षक र स्थानीय खेलप्रेमी उत्साहित बनेका छन् ।
छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र दुईवटा कांस्य पदक जित्न सफल भएका सप्तरीका खेलाडी अहिले पुरानो साख जोगाउन कडा प्रशिक्षणमा जुटेका छन् । राष्ट्रियस्तरको प्रतियोगिताको तयारीसँगै खेलाडीहरू कडा प्रशिक्षणमा जुटेको जानकारी भारोत्तोलनका प्रशिक्षक दिनेश भुजेलले दिए । प्रशिक्षण प्रमुख भुजेलका अनुसार असोज ३ देखि १४ गतेसम्म हुने जिल्लास्तरीय प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी क्षेत्रीय प्रतिस्पर्धामा उतारिनेछ ।
आगामी कात्तिक २ र ३ गते क्षेत्रीयस्तरको प्रतियोगितामा सफल हुने खेलाडी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट हुनेछन् । प्रतियोगिताको तयारी गरिरहेका खेलाडी मनोज यादवले सातौं राष्ट्रिय खेलकुदको भारोत्तोलनमा सप्तरीले कम्तीमा दुई स्वर्णसहित आधा दर्जन पदक जित्ने दाबी गरे । कठिन प्रशिक्षणपछि खेलाडीलाई आवश्यक पर्ने खुराकको जोहो हुन सके जिल्लामा रहेका उत्कृष्ट खेलाडीहरू पलायन नहुने र थप उपलब्धि हासिल गर्न सकिने खेलाडीहरू बताउँछन् ।
भारोत्तोलन प्रतियोगिता गराउने अवसर पाएकोमा खुसी व्यक्त गर्दै जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले आवश्यक तयारी तीव्र पारिएको बताए । कार्यालय प्रमुख मण्डलले जिल्लास्तरीय छनोटका लागि खेलाडीलाई आह्वान गरिएको जानकारी दिए । उनले छनोटका लागि भारोत्तोलन खेलका १६ जना पुरुष खेलाडीले आवेदन दर्ता गरिसकेको बताए । ‘छनोटमा सफल भएका खेलाडी क्षेत्रीय प्रतियोगितामा सहभागी हुनेछन्’, उनले भने ।
राजविराज—१ स्थित जिल्ला खेलकुद विकास समितिको कभर्ड हलमा हुने प्रतियोगिताका लागि भौतिक पूर्वाधार निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको समितिका उपाध्यक्ष धीरेन्द्र बर्माले बताए । प्रतियोगिताका सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक र व्यवस्थापन पक्षका गरी करिब दुई सयजनाका लागि खाना र आवास व्यवस्थापनको तयारी सुरु गरिएको उनको भनाइ छ ।
पूर्वाञ्चलमा आगामी मंसिर ८ देखि १५ गतेसम्म आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन विराटनगरमा हुनेछ भने समापन धरानमा गरिनेछ । प्रतियोगिताअन्तर्गत मोरङमा ११, सुनसरीमा १३, झापामा पाँच तथा सिरहा, सप्तरी र इलाम जिल्लामा एकएकवटा खेल हुनेछन् ।