नारायणी लिफ्ट सिँचाइको नहर क्षेत्र अतिक्रमण

नारायणी लिफ्ट सिँचाइको नहर क्षेत्र अतिक्रमण

भरतपुर चितवनः तीन दशकदेखि नारायणी नदीको पानी तानेर चितवनका विभिन्न क्षेत्रमा सिँचाइका लागि नहरबाट पानी छोड्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीअन्तर्गतका नहर क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । दुईवटा मुख्य नहर र तिनका शाखा नहरका केही भूभाग अतिक्रमण गरी विभिन्न व्यक्ति, समूह, गैरसरकारी संघसंस्था र सरकारी निकायले वर्षौंदेखि आफूखुसी प्रयोग गर्दै आइरहेका छन् । अतिक्रमण बढेपछि लिफ्ट सिँचाइअन्तर्गतको ‘सी’ नहर हराएर नक्सामा मात्र सीमित हुने खतरा बढेको छ ।

चितवनको भरतपुर उपमहानगरपालिका १ मा पर्ने नारायणी लिफ्ट सिँचाइ २०३५ सालबाट निर्माण सुरु गरी २०४० सालमा निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको थियो । लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत नहर ‘ए’ बाट नारायणीको पानी तानेर नहर ‘बी’ र नहर ‘सी’ मार्फत सिँचाइका लागि छोडिन्छ ।

बी र सी नहरका शाखा नहरबाट पानी तानेर किसानले खेतबारी सिँचाइ गर्दै आएका छन् । भरतपुर उपमहानगरपालिका ११ बसेनीदेखि १३ रामबागसम्मको १३ किलोमिटर लामो सी नहरको अधिकांश जमिन अतिक्रमणमा परेको छ ।

बसेनीदेखि नहरचोक, भरतपुर मेडिकल कलेज, हाकिमचोक, क्यान्सर गेट, नारायणपुर हुँदै रामबागसम्म सिँचाइ गर्दै आएको सी नहरको विभिन्न ठाउँमा पिच बाटो, पार्किङ, पार्टी प्यालेस, घर, आँगन र बस्ती रहेका छन् । सी नहरअन्तर्गत भरतपुर कारागारदेखि हाकिमचोकसम्मको एक किलोमिटर क्षेत्र पिच बाटोमा परिणत भएको छ । हाकिमचोकदेखि बुद्धचोकसम्म करिब ८० मिटर नहर पुरेर बाटो बनाइएको छ ।

भरतपुर मेडिकल कलेज अगाडि करिब ५० मिटर बाटो पुरेर पार्किङ बनाइएको छ । नहरचोकनजिकै २० मिटर नहर अतिक्रमण गरी चौतारो निर्माण गरिएको छ । दस वर्षयता नहरबाट सिँचाइ हुने कृषियोग्य जमिन घडेरीमा रूपान्तरण भएपछि सी नहरमा पानी छोडिएको छैन । पाँचदेखि १० मिटर नहरको जमिन अतिक्रमण गर्ने व्यक्ति र समूह दर्जनौं छन् ।

कल्याणपुरमा बी नहरको एक किलोमिटर जमिन अतिक्रमण गरी बस्ती बसेको छ । भरतपुर उपमहानगरपालिका–१४ तोरीखेतमा भरतपुर उपमहानगरपालिकाले बी नहरको जमिन अतिक्रमण गरी सार्वजनिक शौचालय निर्माण गरेको छ ।

नहर वरपर सहरीकरण भएका कारण नहर प्रयोगविहीन भएको नारायणी लिफ्ट सिँचाइ प्रणाली कार्यालयका प्रमुख खेमबहादुर पाठक बताउँछन् । सरकारी जमिन कुनै स्वीकृतिबिना भोगचलन गर्न नपाउने कानुनी व्यवस्था भए पनि तत्काल अतिक्रमण नियन्त्रण गर्न नसकिएको उनको भनाइ छ ।

बसेनीदेखि नहरचोक, भरतपुर मेडिकल कलेज, हाकिमचोक, क्यान्सर गेट, नारायणपुर हुँदै रामबागसम्म सिँचाइ गर्दै आएको ‘सी’ नहरको विभिन्न ठाउँमा पिच बाटो, पार्किङ, पार्टी प्यालेस, घर, आँगन र बस्ती रहेका छन् ।

नहर प्रयोगमा आएको भए यो समस्या आउने थिएन’, उनले भने, ‘प्रयोगविहीन भएका कारण नहरका विभिन्न ठाउँ अतिक्रमणमा परेका छन् ।’ नहरको क्षेत्राधिकारभित्र परेका १४ वटा घर हटाइएको उनले बताए । सबै ठाउँमा अनुगमनमा जान नभ्याइने र सरोकारवाला वा वरपरका समुुदायले जानकारी नगराउने हुँदा कारबाहीमा समस्या परेको उनी बताउँछन् ।

नहर अतिक्रमण गर्नेलाई कारबाहीको प्रक्रियामा जाने तयारीमा लिफ्ट सिँचाइ रहेको छ । ‘हामीले बारम्बार सार्वजनिक सूचना निकाली नहरको डिलमा नहर अतिक्रमण गरी बनाइएका घर, टहरा, गोठ तथा अन्य भौतिक संरचना हटाउन आग्रह गरेका छौं’, उनले भने, ‘सूचना उल्लंघन गर्नेलाई कानुन बमोजिम कडा कारबाही गर्नेछौं ।’

सिँचाइ प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउँदै लैजाने कार्य नीतिअनुरूप कार्य भइरहेको हुँदा नहरको जमिन अतिक्रमण गर्दा सिँचाइ कार्यमा समस्या उत्पन्न भएको नारायणी लिफ्टका इन्जिनियर अर्जुनप्रसाद खनाल बताउँछन् । नहर अतिक्रमण हुनबाट रोक्न सरोकारवाला सबैलाई उनले आग्रह गरे । नहर र नहरले चर्चेको भूभाग स्थानीय निकायलाई संरक्षणको जिम्मा दिन सके मात्र समस्याको समाधान हुन सक्ने लिफ्ट सिँचाइ कार्यालय प्रमुख पाठक बताउँछन् ।

स्थानीय निकायले आफ्नो नियन्त्रणमा लिएर नहरको जमिनलाई सदुपयोगमा ल्याउन सके राम्रो हुने उनको भनाइ छ । चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह नारायणी लिफ्टअन्तर्गतका नहरमा कहाँ कति अतिक्रमण भएको छ, त्यसको विस्तृत विवरण प्राप्त भएमा अतिक्रमण रोक्न प्रशासन तयार रहेको बताउँछन् ।
नारायणी लिफ्टको एउटा शाखामा मात्र नहर अतिक्रमण नभई सबै नहरमा अतिक्रमण भएको नारायणी लिफ्ट जल उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट बताउँछन् । ‘सीमात्र होइन, बी नहरमा पनि अतिक्रमण भएको छ’, उनले भने, ‘उपभोक्ताले चासो लिने हो भने अतिक्रमण रोक्न सकिन्थ्यो तर उनीहरूबाटै नहरको जमिन अतिक्रमण भएको छ ।’

अध्यक्ष रानाभाटका अनुसार, व्यक्ति, समूह, संघसंस्था र सुकुम्बासीको नाममा नहरको जमिन अतिक्रमण भएका छन् । केन्द्रीय बस टर्मिनल भरतपुरछेउको सी नहरअन्तर्गत पर्ने जमिन पिच बाटोमा परिणत भएको र बी नहरको कल्याणपुर क्षेत्रमा नहरको एक किलोमिटर जमिनमा बस्ती बसेको उनी बताउँछन् ।

२०६२ सालदेखि २०६४ सालसम्म सबैभन्दा बढी नहरको जमिन अतिक्रमण भएको उनले जानकारी दिए । अतिक्रमण रोक्न सर्वदलीय बैठकबाट निर्णय भए पनि रोक्न नसकिएको उनी बताउँछन् । ‘निजी उपभोग गरेकालाई त हटाउन सकिएको छैन भने सार्वजनिक बाटो, पाटीपौवा, मन्दिर निर्माण भएका संरचना हटाउन कठिन छ’, उनले भने, ‘आँपटारी, क्षेत्रपुरहुँदै कल्याणपुर, तोरीखेत, पारसनगर क्षेत्रमा पनि नहरको जमिन अतिक्रमण भएको छ ।’

सिँचाइ हुने जमिन घट्दै

जथाभावी भइरहेको प्लटिङले चितवनमा सिँचाइ हुने जमिन घट्दै गएको छ । नारायणी लिफ्ट सिँचाइ प्रणालीअन्तर्गत विगतमा चार हजार सात सय हेक्टरमा सिँचाइ हुँदै आएकोमा अहिले त्यो क्षेत्र घटेर तीन हजार दुई सय हेक्टरमा सीमित भएको छ । जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा प्लटिङ भएका कारण सिँचाइ हुने जग्गा घटेको हो ।

भरतपुरको नारायणपुर, कैलाशनगर, तोरीखेत, कल्याणपुरका खेतीयोग्य जमिन प्लटिङमा रूपान्तर भएका छन् । जमिन घडेरीमा परिर्वतन भएसँगै कतिपय जमिन बाँझै रहेका छन् । अहिले त्यस क्षेत्रमा नहरबाट सिँचाइ गर्ने किसान घटेका छन् । नारायणी लिफ्टअन्तर्गत ३५ वटा जल उपभोक्ता समूह रहेकोमा अहिले २५ वटा मात्र छन् । चितवनमा खगेरी नहर, रापती नदी र नारायणी लिफ्टबाट सिँचाइ हुँदै आएको छ ।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.