भारतमा सांसदले मन्त्रीलाई जुत्ता प्रहार गरेपछि...
एजेन्सीः भारतका एक सांसदले मन्त्रीलाई जुत्ता प्रहार गरेका छन् । बुधबार पञ्जावका कांग्रेस विधायक तारलोचन सन्धुले राजश्व मन्त्री विक्रमसिंह मजिठियामाथि जुत्ता प्रहार गरोक हुन् ।
विधानसभामा विपक्षी दल र सरकारबीचको विवाद चुलिँदै गएपछि कांग्रेस सांसद तारलोचनले मन्त्री मजिठियामाथि जुत्ता प्रहार गरेको भारतीय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
सरकारपक्ष र विपक्षीका बीच विवाद चर्कदै गएपछि कांग्रेसका सांसदले विधानसभाका सभामुख चरणजितसिंह अटवालमाथि डायरी प्रहार गरेका थिए । सभामुखमाथि आक्रमण सुरु भएपछि सभामुखको सुरक्षाका लागि घेरा हाल्न उभिएका राजश्व मन्त्रीमाथि सांसद तरलोचनले जुत्ता खोलेर प्रहार गरेका हुन् ।
मन्त्रीको अनुहार ताकेर जुत्ता प्रहार भएको भए पनि मन्त्रीलाई कुनै असर नपरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै कांग्रेस सांसदले सोमबार संसदमा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।
पञ्जावको विधानसभाले अविश्वासको प्रस्ताव बहुमतले रद्ध गरिदिएपछि कांग्रेस सांसद रुष्ट बनेका हुन् । रुष्ट बनेका सांसद बैठक कक्षमै धर्ना दिएर बसेका छन् ।