आठ अर्बको गलैंचा निर्यात
काठमाडौः गलैंचा सबैभन्दा बढी निर्यात हुने वस्तु बनेको छ । आव २०७२÷७३ मा एक वर्षमा आठ अर्ब ६ करोड रुपैयाँको निर्यात भएपछि गलैंचा पहिलो बनेको हो । यसअघि फलाम तथा स्टिलजन्य वस्तु सबैभन्दा बढी निर्यात हुने वस्तुमा पथ्र्यो । गत वर्ष फलाम तथा स्टिलजन्य वस्तुको निर्यात ५४ प्रतिशतले घटेर चार अर्ब ६६ करोडमा खुम्चिएको छ ।
गत वर्ष गलैंचाको निर्यात अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले बढेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाउँछ । आव २०७१/०७२ मा सात अर्ब रुपैयाँको गलैंचा निर्यात भएको थियो ।
सोही वर्ष फलाम तथा स्टिलजन्य वस्तु १० अर्ब २७ करोड बराबरको निर्यात भएको थियो । खासगरी नेपाली गलैंचा अमेरिका, चीन, युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ । फलाम तथा स्टिलजन्य वस्तु भारतमा निर्यात हुने गर्छ ।
गलैंचा तेस्रो मुलुकमा निर्यात हुने हुँदा बर्सेनि सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने वस्तुमा पर्दै आएको गलैंचा निर्यातकर्ता संघका अध्यक्ष अनुपबहादुर मल्लले जानकारी दिए । ‘विदेशमा नेपाली गलैंचाको बजार छ, हामीले बजार खोज्न सकेनौं’ उनले भने, ‘हाम्रो वस्तुको जहाँ पहिचान बनाउन सक्यौं, वस्तुको बारेमा राम्रो जानकारी गराउन सक्यौं, त्यहीँ बजार बन्ने हो ।’
नेपाली गलैंचा अमेरिका, चीन, युरोपेली मुलुकमा निर्यात हुँदै आएको छ । फलाम तथा स्टिलजन्य वस्तु भारतमा निर्यात हुने गर्दछ ।
गत वर्ष एक अर्बभन्दा बढी रुपैयाँको निर्यात हुनेमा १७ वस्तु परेका छन् । पाँच अर्ब ८८ करोडको निर्यात हुँदै तयारी पोसाक दोस्रो नम्बरमा परेको छ । तयारी पोसाक पनि अमेरिकामा बढी निर्यात हुने गर्छ । धागो पाँच अर्ब ३६ करोड रुपैयाँको निर्यात भएको छ ।
यसैगरी, मुसुरोको दाल, टेक्सटाइल, हस्तकलाका सामान, चाँदीका गरगहना, चाउचाउ, टुथपेस्ट, अलैंची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, उनी तथा पस्मिना सल, जडीवुटी, जुत्ताचप्पल पनि अर्बभन्दा बढीको निर्यात हुने सूचीमा परेका छन् ।
नेपाली वस्तु सबैभन्दा बढी निर्यात हुने देशमा भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, टर्की, फ्रान्स, बंगलादेश, जापान, इटालीलगायत छन् । नेपालले नाफाको व्यापार गर्दै आएको बंगलादेशसँग गएको वर्ष घाटा सहनु परेको छ । आलुको आयात ह्वात्तै बढेपछि बंगलादेशसँगको व्यापार घटामा गएको हो ।