बार्सिलोनाको उत्कृष्ट पुनरागमन
म्याड्रिडः दुई पूर्वविजेता स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग फुटबलमा सानदार सुरुआत गरेका छन् । दुई दिनअघि घरेलु लिगमा अप्रत्याशित हार व्यहोरेको बार्सिलोनाले मंगलबार राति भएको खेलमा सेल्टिकलाई ७-० गोलको फराकिलोअन्तरले हरायो ।
घरेलु मैदानमा उत्रिए को बार्सिलोनालाई स्कटिस लिग च्याम्पियनविरुद्ध फराकिलो अन्तरको जित दिलाउने क्रममा अर्जेन्टिनी खेलाडी लियोनल मेसीले ह्याट्रिक गरे । लुइस स्वारेजले दुई तथा आन्द्रेस इनिएस्टा र नेमारले एकएक गोल थपे । ब्राजिलियन खेलाडी नेमारले चार गोलका लागि सहयोग पनि गरे ।
यसअघि शनिबार राति घरेलु मैदानमै उत्रिएको बार्सिलोना गत सिजनमात्र शीर्ष डिभिजनमा बढुवा भएको आल्भेससँग १-० गोलले पराजित भएका थियो । उक्त खेलमा बार्सिलोनाले पहिलो रोजाइका खेलाडीलाई दोस्रो हाफमा मात्र मैदानमा उतारेको थियो । तर सेल्टिकविरुद्ध भने बार्सिलोना सुरुदेखि नै पहिलो रोजाइका खेलाडीसहित मैदानमा ओर्लिएको थियो ।
खेलको तेस्रो मिनेटमै बार्सिलोनाले अग्रता लियो । मेसीले नेमारको पासमा गोल गरी बार्सिलोनालाई अगाडि बढाए । २७ औं मिनेटमा मेसीले पुनः नेमारकै पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । पहिलो हाफमा २-० गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा पाँच गोल थप्यो ।
५० औं मिनेटमा नेमार आफैंले गोल गरे । इनिएस्टाले ५९ औं मिनेटमा नेमारको पासमा अर्को गोल थपे । त्यसको एक मिनेटपछि नै मेसीले स्वारेजको पासमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
त्यसपछि स्वारेजले ७५ औं र ८८ औं मिनेटमा क्रमशः नेमार र मेसीको पासमा गोल गरेका थिए । टोली १-० ले पछाडि परेको अवस्थामा प्राप्त पेनाल्टी प्रहारको अवसरलाई सेल्टिकका मौसा डेम्बलले सदुपयोग गर्न सकेनन् । पाँच पटकको विजेता बार्सिलोनाले पछिल्ला आठ संस्करणमध्ये तीन पटक यो प्रतियोगिताको उपाधि जितेको छ । समूह ‘सी’ मा बार्सिलोना एक खेलबाट तीन अंक जोडेर शीर्ष स्थानमा छ ।
समूह ‘डी’ अन्तर्गतको खेलमा बायर्नले रुसको एफके रुस्तोभलाई ५-० गोलले हरायो । घरेलु मैदानमा उत्रिएको बायर्नका लागि जोसुवा किमिचले दुई तथा थोमस मुलर, रोबर्ट लेवान्डोस्की र हुवाँ बर्नाटले एकएक गोल गरे ।
पहिलो हाफमा २-० ले अगाडि रहेको बायर्नले दोस्रो हाफमा तीन गोल थप्यो । पोलिस स्ट्राइकर लेवान्डोस्कीले २८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने मुलरले पहिलो हाफको इन्जुरी समयमा गोल थपे । किमिचले ५३ औं र ६० औं तथा बर्नाटले ९० औं मिनेटमा गोल गरेका थिए । घरेलु लिगमा लगातार पछिल्ला चार संस्करणको विजेता बनेको बायर्न युरोपियन च्याम्पियन्स लिगका पछिल्ला आठ संस्करणमा एक पटक विजेता, दुई पटक उपविजेता र तीन पटक सेमिफाइनलसम्म पुगेको छ ।
यसैगरी अन्य खेलमा साबिक उपविजेता एट्लेटिको म्याड्रिड र इटालीको नापोली पनि विजयी भए । डच क्लब पीएसभीको मैदानमा उत्रिएको स्पेनिस क्लब एट्लेटिको १-० गोलले विजयी भयो । एट्लेटिकोका सल निगुएजले ४३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा घरेलु टोलीले पेनाल्टीको अवसर पाए पनि आन्द्रेस ग्वाड्राडो चुके ।
समूह ‘डी’ मा एक खेलबाट तीन अंक हात पारेको एट्लेटिको दोस्रो स्थानमा छ । एट्लेटिको प्रतियोगिताको पछिल्ला तीनमध्ये दुई संस्करणमा फाइनलसम्म पुगेको थियो । नापोलीले डाइनामो किभलाई उसैको मैदानमा २-१ गोलले हराएको हो । आर्सनल र पेरिस सेन्ट जर्मन (पीएसजी), बेनफिका र बेसिकटास तथा बासेल र लुडोगोरेट्सबीचको खेल भने बराबरीमा सकियो ।