नेपालका दुवै टोली पदकबाट चुके
काठमाडौः अजरबैजानको बाकुमा जारी ४२ औं चेस ओलम्पियाडमा ११ औं चरणको खेल नेपालको पुरुष टोलीका लागि सुखद रहेन । अन्तिम दुई खेलमा पराजित हुनु नेपाली पुरुष टोलीका लागि दुर्भाग्य बन्यो । नवौं चरणको खेलपछि समूह ‘डी’ को दोस्रो स्थानमा रहेर पदकको नजिक पुगेको नेपालले बाँकी दुई खेलबाट एक अंकमात्र पनि हासिल गर्न सकेको भए पदक निश्चित थियो ।
नेपालको पुरुष टोली बुधबार भएको अन्तिम खेलमा ९३ औं वरीयतामा आसीन इराकसँग २.५-१.५ ले पराजित भयो । पहिलो बोर्डमा खेलेका २०९९ रेटेड केशव श्रेष्ठ २१६१ रेटेड नमिरमोहमद इस्माइलसँग पराजित भए भने दोस्रो बोर्डमा खेलेका २०३४ रेटेड सजिन महर्जन २२ रेटेड मोहमद सलाह जोजेसँग हारे । तेस्रो बोर्डमा खेलेका क्षितिज भण्डारीले २२६१ रेटेडमोहमद वसिम अराजलाई हराउँदै अन्तिम खेलमा नेपाललाई एकमात्र जित दिलाए । चौथो बोर्डमा खलेका फिडे मास्टर २०१७ रेटेड विलमलाल श्रेष्ठ भने २२३६ रेटेड अब्दुलसतार अहमदसँग बराबरीमा रोकिए ।
समग्रमा चेस ओलम्पियाड नेपाली पुरुष टोलीका लागि मिश्रित रहयो । नेपालले जमैका, माल्टा, जर्सी र यूएस भर्जिन इलेसलाई हरायो भने दक्षिण कोरियासँग बराबरी खेल्यो । पदक हात पार्न नसके पनि नेपालले वरीयतामा भने सुधार गरेको छ । प्रतियोगिता सुरु हुँदा एक सय २७ औं स्थानमा रहेको नेपाल प्रतियोगिताको समाप्तिपछि एक सय २० औं वरीयतामा पुगेको छ ।
व्यक्तिगत प्रदर्शनका हिसाबले पनि नेपालको अवस्था सन्तोषजनक रह्यो । सुजना लोहनी पहिलो महिला फिडे मास्टर बन्न सफल भइन् । उनले नवौं चरण खेलेर सात अंक हात पारिन् । अहिलेसम्म सातौं ओलम्पियाडमा सहभागी भएको नेपाली खेलाडोको यो व्यक्तिगत उच्च स्कोर पनि हो । यसअघि जर्मनीमा भएको ओलम्पियाडमा मनीष हमालले साढे ६ अंक पाएका थिए ।
यसैगरी युवा खेलाडी सजिन महर्जन र क्षितिज भण्डारीले क्यान्डिडेट मास्टर (सीएम) को उपाधि पाए । सजिनले १० खेलबाट साढे चार अंक जोडेर १३ रेटिङ थपे । ५२ रेटिङ जोड्न सफल भएका क्षितिजले पाँचौं चरणको खेलदेखि उत्कृष्ट प्रदर्शन गर्दै साढे पाँच अंक जोडेका थिए । फिडे मास्टर विलमलालले पनि यो प्रतियोगितामा गतिलो प्रदर्शन गरे । उनले नौ चरणमा ६ जित, एक बराबरी र दुई हारको नतिजा निकाले । उनले साढे ६ अंक जोडेर ५५ रेटिङ सुधार गरे ।
पूर्वनेपाल च्याम्पियन सीएम केशव श्रेष्ठका लागि भने प्रतियोगिता निराशाजनक रह्यो । प्रतियोगिता अवधिभर आफूभन्दा उच्च वरीयताका खेलाडीसँग खेलेका केशवले एकमा जित र एकमा बराबरीको नतिजा निकालेका थिए । आठ चरण खेलेका उनले १७ रेटिङ गुमाए । महिला टोलीले आफ्नो अन्तिम खेलमा आरुबासँग २—२ को बराबरी खेल्यो । महिला टोली समूह ‘ई’ मा छैटौं स्थानमा रह्यो ।
आरुबासँगको बराबरीले गर्दा नेपालले कांस्य पदक गुमायो । एक सय १४ औं स्थानमा रहेको नेपाली महिला टोली आफ्नो वरीयतामा सुधार गर्दै एक सय नवौं स्थानमा पुग्यो । सिन्दिरा जोशीले रुस्सी कटनलाई पराजित गरिन् भने सुजना लोहनीले अनेलास जाकोबलाई निरास पारिन् । अस्मिता अधिकारी मारिया डेजसँग र मोनालिसा खम्बु आमिली अरबोनासँग पराजित भए ।
सुजनाले ४६ रेटिङ र सिन्दिराले २९ रेटिङ सुधार गरे । प्रतियोगितामा पुरुषतर्फको उपाधि अमेरिकाले हात पार्यो । युक्रेन दोस्रो र रुस तेस्रो भए । महिलातर्फको उपाधि चीनले जित्यो । पोलान्ड दोस्रो र युक्रेन तेस्रो भए ।