महेन्द्र बहुमुखी क्याम्पसको भवन जीर्ण
नेपालगन्जः पश्चिम नेपालको पुरानो आंगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको भवन जीर्ण हुँदा जाखिम मोलेर पठनपाठन भइरहेको छ । ५० वर्ष पुरानो भवनमा जिर्णोद्धार नुहँदा जोखिमपूर्ण अवस्थामा पठनपाठन गर्नुपर्ने बाध्यता छ ।
भवनको छत जीर्ण भएको छ । छतबाट पानी चुहिएर पाठ्यपुस्तकसमेत भिज्ने गरेको छ । क्याम्पस प्रमुख गणेशकुमार रेग्मी भवन जीर्ण भएका कारण क्याम्पस अन्यन्त संकटमा रहेको बताउँछन् । उनले समयमा मर्मत सम्भार नभए दुर्घटना हुने खतरासमेत उत्तिकै रहेको बताए ।
‘जताजतै भत्किएको छ । पानी परेको बेला चुहिएर पठनपाठन गराउन पनि समस्या हुन्छ’, क्याम्पस प्रमुख रेग्मीले भने, ‘जोखिम पनि त्यत्तिकै छ । कुन बेला बालुवा, इँटा खसेर लाग्छ ।’ २०१९ सालमा महेन्द्र डिग्री कलेजको नाममा स्थापना हुँदा क्याम्पस भवनको निर्माण भएको हो । २०२८ सालमा आएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज नामाकरण गरिएको हो ।
स्थापना भएको ५० वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मर्मत सम्भार भएको छैन । क्याम्पस प्रमुख रेग्मी भन्छन्, ‘भवन बनेको ५५ वर्ष भयो, जिर्णोद्धार गर्ने हो भने अझै ५० वर्ष चल्छ ।’ भवन जीर्ण भएका कारण विद्यार्थी संख्यासमेत घटेर गएको प्रशासन भनाइ छ ।
भवन मर्मत सम्भारका लागि त्रिभुवन विश्वविद्यालय तथा स्थानीय निकायका साथै विभिन्न दातृ निकायसँग अनुरोध गरिए पनि सुनुवाइ नभएको क्याम्पस प्रमुख रेग्मी गुनासो गर्छन् ।
उनले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई क्याम्पसको जिर्णोद्धारका लागि अनुरोध गर्ने तयारी गरिरहेको बताए । हालका उपप्रधान तथा अर्थमन्त्री महराले महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाटै आईएससीसम्मको अध्ययन गरेका हुन् । भारत सरकारको सहयोगमा १२ वर्षअघिदेखि निर्माण थालिएको क्याम्पसको डिग्री ब्लक र छात्रा छात्रवासको निर्माण अझैसम्म अधुरै छ ।
‘पुराना भवन अत्यन्तै जीर्ण भइसकेका छन् । नयाँ भवन १२ वर्षदेखि बन्न सकेको छैन्, विद्यार्थी कहाँ राखेर पढाउने? , निकै समस्या भएको छ’, प्रमुख रेग्मी भन्छन् । क्याम्पस प्रशासन र नगरपालिकाको सुस्तताका कारण डिग्री ब्लक र छात्रवासको निर्माण पूरा हुन नसकेको नेपाल प्राध्यापक संघ क्यापस इकाइका पूर्वसभापति कृष्णकुमार लम्साल बताउँछन् ।
१७ बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसमा हाल दुई हजारको हराहारीमा विद्याथी छन् । क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका मानविकी, शिक्षा, विज्ञान, शिक्षा र व्यवसस्थापन तथा कानुन संकायको पठनपाठन हुने गरेको छ ।
क्षेत्रीय पुस्तकालयको बिजोग
महेन्द्र बहुमुखी क्याम्पसभित्र रहेको क्षेत्रीय पुस्तकालय भवन निर्माण पूरा नहुँदै चुहिन थालेको छ । मापदण्डविपरीत हचुवाका भरमा निर्माण गरिएका कारण निर्माण नसकिँदै जीर्ण भएर पुस्तकालयमा पानी चुहिन थालेको हो ।
पुस्तकालय भवन निर्माणमा लागेको एक करोड रुपयाँ बालुवामा पानीजस्तै भएको छ । तल्लो तला पुरानो र जीर्ण रहेको अवस्थामा कुनै मापदण्डबिना माथिल्लो तला बनाइएकोले पुस्तकालयमा जोखिम बढेको छ । पानी चुहिने कारण पुस्तकालय भवनमा राखिएका पुस्तक भिज्ने गरेको कर्मचारीले बताए ।
झ्याल निर्माणसमेत सही ढंगले नभएकोले झ्यालबाट पानी भवनभित्र पस्ने गरेको छ । छत चुहिन्छ, झ्यालबाट पनि आउँछ, पुस्तक कहाँ राख्ने निकै समस्या छ । भवन उच्च शिक्षा परियोजनाको एक करोडको लागानीका निर्माण भएको हो ।
क्याम्पस प्रमुख रेग्मीसमेत पुस्तकालय भवन निर्माण मापदण्डविपरीत भएको बताउँछन् । मापदण्ड नै पूरा नगरी हचुवाका भरमा बनाइएका कारण पानी चुहिने समस्या मात्रै होइन जोखिमपूर्ण निर्माण गरिएको छ ।