‘खानाले गाँस्छ आत्मीयता ’
गोकर्ण फरेस्ट रिसोर्ट, होटल अन्नपूर्ण, हिमालयन होटललगायत दर्जनौं होटलका मास्टर सेफहरू उत्साहपूर्वक हेरिरहेका थिए अमेरिकाबाट आएका सेफ मार्क टाफोयालाई । उनले आफ्नै तरिकाले रेसिपी बनाउन सिकाइरहेका थिए । कुपन्डोलस्थित होटल समिटको प्रांगणमा मीठो वासना आइरहेको थियो ।
अमेरिकी दूतावासले ‘कुलिनरी डिप्लोमेसी प्रोग्राम’मा उनलाई विज्ञका रूपमा आमन्त्रण गरेको थियो । उनले नेपालमा करिब दुई सातासम्म विभिन्न स्थानमा गएर यस्तै प्रकारका तालिम दिइरहेका छन् ।
विज्ञका रूपमा आएका मार्कले आफ्नो नजिकैको (कजन) दिदीबाट प्रभावित भएर यस क्षेत्रमा हात हालेको बताए । भने, ‘दिदी साहसिलो काम गर्न रुचाउनुहुन्थ्यो । खाना बनाउन, नयाँनयाँ स्थानमा घुम्न उहाँलाई खुब मन पथ्र्यो । म पनि उहाँलाई सघाउँथेँ । सुरुमा हामीले चाइनिज एगरोल बनाएका थियौं । त्यो क्षण एकदमै महŒवपूर्ण लागेको थियो ।’
मार्क हाँसीहाँसी, रमाउँदै खाना बनाइरहेका थिए । उनले बनाएका खाना उत्तिकै स्वादिला थिए । उनले धेरै प्रकारका रेसिपी बनाएर चखाए । सन् २००३ देखि नै सेफका रूपमा काम गरिरहेका मार्कले येल युनिभर्सिटीबाट फ्रेन्च लिटरेचर तथा थिएटर अध्ययन गरेका छन् । मार्कका अनुसार उनलाई खाना बनाउन यति सोख बढ्यो कि उनले अभिनय नै छोडिदिए ।
पहिला उनी विभिन्न कार्यक्रममा जान्थे, अभिनय गर्थे । अध्ययनको सिलसिलामा फ्रान्स जाँदा उनले धेरै कुरा देखे, सिके ।
‘मलाई धेरै कुराले आकर्षित गथ्र्यो । म सबै पैसा खानामा खर्च गर्थें । मलाई ट्याक्सी चढ्ने पैसा हुँदैन थियो । म रातिराति हिँड्दै घर जान्थेँ’, उनले त्यति बेलाका दिन सम्झिए ।
नेपालमा आएर बारा, योमरी, चटामरी खाएको उनले सुनाए । उनले ती खानाहरू जापानिज खाना मोची, इन्डोनेसियन क्यालेकोनजस्तो लागेको बताए । उनी भन्दै थिए, ‘प्रायःजसो सबै मुलुकमा उस्ताउस्तै खाना हुन्छन् तर खाने तरिकामात्र अलग देखेको छु ।’
‘खानाले एक प्रकारको आत्मीयता गाँस्छ, तपाईंको कोही शत्रुलाई आफूले बनाएको खाना खुवाउनुस्, पक्कै पनि उसले तपाईंप्रति राम्रो भाव राख्छ’, उनले भने, ‘खानाले मानिसलाई एकअर्कामा गाभ्ने काम गर्छ । एउटा राम्रो पारिवारिक वातावरण बनाउँछ । भावनात्मक सम्बन्ध बनाउँछ ।’
अमेरिकामा कुनै होटल रेस्टुरेन्टमा काम गर्दैनन् उनी । तर, पर्सनल सेफका रूपमा काम गर्छन् । प्राइभेट पार्टीहरूमा उनले साढे ६ सय डलरसम्ममा खाना बेच्दै आएका छन्, जुन खाना उनी अमेरिकी धनाढ्यहरूका लागि बनाउने गर्छन् ।
मार्कले अमेरिकीहरू अभागी भएको बताए । ‘किनकि उनीहरू घुम्दैनन् । उनीहरूले फरक ठाउँका फरक स्वादहरू खान पाएका छैनन् । तर म घुम्न, फरक स्वाद चाख्न मन पराउँछु’, उनले भने ।
कार्यक्रममा उपस्थित समिटका सेफ रवीन्द्र खड्का, भैंसेपाटीका सिल्भर रेस्टुरेन्टका प्रकाश श्रेष्ठले मार्कले दिएको आइडिया फरक भएको बताए । हेर्दा सामान्य लागे पनि उनले खानेकुरामात्रै हैन, अन्य चिजहरू कसरी चलाउने, कहाँ राख्ने, कसरी सर्भ गर्नेजस्ता महत्वपूर्ण जानकारी बाँडेको उनीहरूले बताए ।
श्रेष्ठले भने, ‘उनी यति ठूलो सेफ भएर पनि गल्ती भएमा एक्सक्युज माग्दा रहेछन्, जुन एउटा सेफमा हुनैपर्ने गुण हो भन्ने सिकाए ।’