नुवाकोटका स्वास्थ्य संस्थाको पुनःनिर्माण दक्षिण कोरियाले गर्ने
काठमाडौंः दक्षिण कोरिया र नेपाल सरकारबीच नुवाकोट जिल्लाका स्वास्थ्य सेवाको पुनःनिर्माणको लागि सम्झौता भएको छ ।
नेपालका लागि कोरियन राजदूत यंगजीन चोए र नेपाल सरकारका अर्थ मन्त्रालय सचिव शान्ताराज सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता सँगै नुवाकोटमा भूकम्पले तहसनहस भएका स्वास्थ्य संस्था सुचारु गर्ने प्रतिबद्धता नेपाल र कोरिया सरकारले जनाएका छन्।
यस परियोजना अन्तर्गत कोरिया सरकारले नुवाकोटमा एउटा जिल्ला अस्पताल र १० वटा स्वास्थ्य चौकी निर्माण गर्नेछ । पुनःनिर्माण कार्यमा युएनडिपी, जिआइजेड, गुड नैवर इन्टरनेशनल नेपाल र कोरियन निर्माण कम्पनीको साझेदारी रहेको छ ।
पुनःनिर्माणको परियोजना अन्तर्गत विदुर नगरपालिकामा एउटा जिल्ला अस्पताल र गाँउ विकास समितिमा १० वटा स्वास्थ्य चौकी निर्माण गरिनेछ । स्वास्थ्य चौकी निर्माण गरिने गाविसमा रातेमाटे, दुइपिपल, चारघरे, बेलकोट, सूर्यमति, थाप्रैक, पन्चकन्या, घांफेदी, लिखु र सिसडोल रहेका छन् ।