बढ्दैछन् रोजगार परामर्शदाता
काठमाडौः नेपालमा रोजगारी सिर्जना हुने क्रम बढ्न थालेको छ । नेपाली युवा वैदेशिक रोजगारीमा जाने प्रवृति बढे पनि पछिल्ला समयमा नेपालमै रोजगारी खुल्ने क्रम वृद्धि भइको छ ।
पछिल्लो समय अन्य क्षेत्रको तुलनामा गैरसरकारी संस्थामा रोजगारीको अवसर बढी देखिएको छ । भूकम्पपछि पुनर्निर्माणको काम हुने भएकाले पनि गैरसरकारी संस्थामा रोजगार खुल्ने क्रम बढ्दै गएको हो । त्यसपछि सूचना प्रविधि, स्कुल÷कलेज र बैंकिङ क्षेत्रमा रोजगारीको माग बढिरहेको रोजगार एजेन्सी बताउँछन् ।
रोजगारदाता र बेरोजगार युवाबीच पुलको काम गर्न पछिल्लो समयमा रोजगार सम्बन्धी काम गर्ने संस्था दिनप्रतिदिन बढिरहेका छन् । रोजगारदाता र बेरोजगार युवाको पुलको काम गर्ने गरी अनेक संस्था अस्तित्वमा आएपछि काम खोज्ने वर्ग र रोजगारदाता कम्पनीका लागि सहज भएको छ ।
ती संस्थाले अनलाइनमार्फत बेरोजगारबाट फर्म संकलन गर्ने र रोजगारदातासमक्ष समन्वय गरी रोजगारी दिलाउने काम गर्छन् । सजिलै काम पाइन थालेपछि बेरोजगार युवा त्यस्ता संस्थामा धाउनेको संख्या बढ्न थालेको छ भने रोजगारदाता कम्पनीले पनि ती संस्थामार्फत नै कर्मचारी लिन थालेका छन् ।
पछिल्लो समयमा मेरोजब डटकम, मेरो रोजगारी डटकम, रोजगारीडटकम, जब्स नेपाल डटकम, कुमारीजब डटकम, जबकुन्ज डटमलगायत दर्जनभन्दा बढी संस्थाले रोजगारीसम्बन्धी काम गर्र्दै आएका छन् ।
मेरोजब डटकम प्रालिका प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीका अनुसार मेरोजब डटकमार्फत वार्षिक २० हजारभन्दा बढी युवाले रोजगार पाएका छन् ।
मेरोजब डटकमले १२ हजार कम्पनीसँग जोडिएर काम गरिरहेको छ । ‘कम्पनीको स्वरुप र प्रकृति अनुसारसम्झौता हुन्छ', गिरीले भने ।
रोजगारी सर्भिस प्रालि (रोजगारी डटकम)का बिजनेस म्यानेजर सञ्जिवकुमार निरौलाले सुरुमा समाजिकरूपमा काम थाले पनि २०१५ यता व्यावसायिक ढंगले रोजगार परामर्शका रूपमा काम गर्न थालेको बताए । रोजगारी डटकम सन २०१३ मा स्थापना भएको थियो ।
मेरो रोजगारीले वार्षिकरूपमा छनोट गरेर दुई हजारभन्दा बढी र आउट सोर्सिङमार्फत पाँच सय बेरोजगारलाई रोजगारी दिइरहेको छ । मेरो जब डटकम र रोजगारी डटकमले बेरोजगार युवाबाट शुल्क लिदैनन् ।
उनीहरूले निःशुल्करूपमा दरखास्त संकलन गर्ने र कम्पनीबाट शुल्क लिई कामदार सप्लाई गर्ने गछन् तर कतिपय संस्थाले रोजगार दिलाईदिने भन्दै शुल्क लिने र महिनौ झुलाइदिने गरेको गुनासो पनि गर्छन् ।
पछिल्लो समय अन्य क्षेत्रको तुलनामा गैरसरकारी संस्थामा रोजगारीको अवसर बढी देखिएको छ । भूकम्पपछि पुनर्निर्माणको काम हुने भएकाले पनि गैरसरकारी संस्थामा रोजगार खुल्ने क्रम बढ्दै गएको हो ।
श्रमविज्ञ गणेशमान गुरुङले रोजगार परामर्शको काम गर्ने कम्पनीहरुले प्रभावकारी काम गर्न नसकेको बताउँछन् । केही बेरोजगार युवालाई सहज भए पनि त्यसले खासै प्रभाव पार्न नसकेको उनले बताए ।
नेपालमा रोजगारी सिर्जना गर्ने कुरा ६० वर्षदेखि हरेक पञ्चवर्षीय योजनामा राखिए पनि नगन्यमात्रामा रोजगारी सिर्जना हुन पुगेको बताए । एक वर्षमा पाँच लाख युवा श्रमबजारमा आउने गरेको र त्यसमध्ये ५० हजारलाई पनि रोजगारी दिन नसक्नु विडम्बना भएको उनी बताउँछन् ।
नेपालमा कलकारखाना स्थापना हुन नसक्नु, लोडसेडिङ बढ्नु, मजदुर र रोजगारदाता कम्पनीबीच द्वन्द्व सिर्जना हुनु र उत्तर दक्षिण राष्ट्रमा हाम्रा उत्पादानले प्रतिश्पर्धा गर्न नसक्नुलगायतका कारण रोजगारी सिर्जना हुन नसकेको श्रमविज्ञ गुरुङ बताउँछन् ।
स्वरोजगारमा फोकस गर्न र युवालाई उद्यमी बन्न सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा गुरुङले जोड दिए ।