पहिलो महिला निर्देशक

पहिलो महिला निर्देशक

नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी निर्देशक सुचित्रा श्रेष्ठ हालै चलचित्र निर्देशक समाजको पहिलो महिला अध्यक्षमा विजयी भइन् । अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रलाई चिनाउन प्रयासरत उनी चाँडै नै हिन्दी चलचित्र 'चक्र' को निर्देशन गर्ने भएकी छन् ।

जुन विषयले चर्चा पाएको छ । २०५८ सालमा चलचित्र 'प्रेमयुद्ध'बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल 'अकल्पित र स्मृति'को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले 'सहारा', 'समर्पण' र 'भाइटीका'को निर्देशन र लेखन गरिन् । योङ एसिया टेलिभिजनले बनाएको एक वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा लामो समयदेखि आबद्ध छन् ।

रेडियो सगरमाथाबाट प्रसारण हुने 'हालचाल' कार्यक्रमको नामकरणदेखि संलग्न सुचित्राले सातामा पाँचवटा साप्ताहिकसम्ममा काम गरिन् । तीन वर्षदेखि उनी देउराली डट कममा सम्पादकका रूपमा कार्यरत छिन् । बहुआयामिक सुचित्रा श्रेष्ठसँग अन्नपूर्णकर्मी रामकला खड्काले गरेको कुराकानी ।

हिन्दी चलचित्र निर्देशन गर्ने सोच कसरी आयो ?

पाँच वर्षअगाडि यसको कुराकानी भइरहेको थियो । अहिले यो अवसर मिल्यो । लभ र एक्सन चलचित्र 'चक्र' को म र बलिउडका निर्देशक राजेश राजले निर्देशन गर्ने छौं ।

चलचित्रको छायांकन कहिले र कहाँ हुन्छ ?

बिहारका व्यापारी शंकर दास र अनवर राजले निर्माण गर्ने उक्त चलचित्रको तिहार पछाडिबाट छायांकन सुरु गरिनेछ । यसको छायांकन ७५ प्रतिशत बिहारको झारखण्डमा भए पनि २५ प्रतिशत भने नेपालमै हुने तय भएको छ । कलाकार पनि उता र यताको मिलाएर राख्ने सोच छ ।

चलचित्र निर्देशक समाजमा आइसकेपछि कस्ता चुनौती देख्नुभएको छ ?

मलाई यहाँसम्म आइपुग्न नै ठूलो चुनौती पार गर्नुपर्‌यो । मेरा अग्रजमध्ये पनि कतिले साथ दिए कतिले दिएनन् । तर अब यहाँ आइसकेपछि म एक्लो छैन । समाजको सिंगो टिम नै सक्षम र जागरुक भएकाले हामी सबै मिलेर अगाडि बढ्ने सोच राखेका छौं । चलचित्र विकास बोर्डसँग पनि सहकार्य गरेर हामी अगाडि बढ्नेछौं ।

समाजमा आएपछि तपाईंले प्राथमिकतामा राखेका कामहरू के हुन् ?

पहिले त यहाँभित्रको व्यवस्थालाई मिलाउन केही समय लाग्छ । त्यसपछि आर्थिक उन्नतिका लागि कसरी अगाडि बढ्ने भन्नेमा हामी लागिपर्नेछौं । नेपाल बाहिरका केही कार्यक्रमको पनि सोच बनाइरहेका छौं ।

नेपाली चलचित्र निर्देशकका हक अधिकारको लागि के गर्नुहुन्छ ?

नेपाली चलचित्र उद्योगमा काम गरेर पनि पारिश्रमिक नपाउने निर्देशक धेरै छन् । कामअनुसारको पारि श्रमिकका लागि पहल गर्नेछौं । दुर्घटनामा पर्दा उनीहरूका लागि क्षतिपूर्तिको माग गरिदिने, कोही बिरामी पर्दा सरकार र व्यक्तिगत तवरबाट सहयोग जुटाइदिने काम पनि गर्छौं । चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्‌याउन सकिन्छ भन्नेमा पनि हाम्रो पहलकदमी हुनेछ ।

नेपाली चलचित्रले विदेशी बजारमा पहुँच पुर्‌याउन नसक्नुमा केको कमजोरी हो ?

कुनै पनि निर्माताले निर्देशकको आड, भरोसा र विश्वासमा नै लगानी गर्ने हुन् । चलचित्र बनाउँदा निर्देशकीय पक्षको कमजोरी हुन्छ भनेर भन्नै मिल्दैन । बजार व्यवस्थापनमा कमजोरी र वितरकले उचित व्यवस्थापन नमिलाएका कारण चलचित्रले बजार लिन नसकेको हो । पुरानै कलाकार र चलचित्रकर्मीलाई प्राथमिकता दिने गरेकाले पनि विदेशी बजारमा स्थान जमाउन नसकेको हो । तर अहिले चलचित्र विकास बोर्डले यसमा कदम बढाइसकेकोले भविष्यमा सुधार हुँदै जाने आशा गरेका छौं ।

पत्रकारिता र लेखनमा कसरी तालमेल मिलाउनुभएको छ ?

पत्रकारिता र लेखनमा पनि मेरो सक्रियता घटेको छैन । कथा, गीत, लेख रचनामार्फत म पाठकमाझ आइरहन्छु । निकट भविष्यमै आफ्नै निर्माण र निर्देशनमा बनाउने चलचित्रको लागि कथा लेख्ने काममा पनि व्यस्त छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.