किन हैरान बनेकी छन् नम्रता श्रेष्ठ

किन हैरान बनेकी छन् नम्रता श्रेष्ठ

नेपाली चलचित्र उद्योगमा स्थापित नाम हो नम्रता श्रेष्ठ । अभिनेत्री नम्रता श्रेष्ठ भन्नासाथ 'नोभेम्बर रेन', 'छड्के', 'मेरो एउटा साथी छ' जस्ता चलचित्र याद आउँछन् । नम्रता श्रेष्ठका नाममा अर्को अनुहारको कल्पना कमैले गरेका होलान् । नेपाली चलचित्र उद्योगमा भित्रिएकी छन्, नयाँ नम्रता श्रेष्ठ । गाँठो चलचित्रबाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नम्रता आफ्नो परिचय स्थापित गर्न प्रयासरत छिन् ।

मोडलिङ क्षेत्रमा साढे तीन वर्षको अनुभव सँगालेकी उनी अभिनयतर्फ मोडिएकी हुन् । 'जान्नेबुझ्ने भएदेखि नै चलचित्रमा काम गर्ने रहर थियो', उनले भनिन्, 'सानो छँदा बलिउड चलचित्र खुब हेर्थें ।' चलचित्रका 'नक्कली' अभिनेत्रीहरूमा आफूलाई कल्पना गर्थिन् । 'सोना कित्ना सोना हे' बोलको गीतमा त उनी निदाएकै भए पनि उठेर नाचिहाल्थिन् । त्यसैले उनलाई घरमा सबैले सोनु भनेर बोलाउँछन् ।

पहिला चलचित्रमा राम्री चिटिक्क परेका चरित्रले उनलाई आकर्षित गर्थे । अभिनेत्री हुन राम्री हुनुपर्छ भन्ने भ्रम अहिले टुटेको छ । भन्छिन्, 'पहिला स्क्रिनमा राम्री देखिऊँजस्तो लाग्थ्यो, अहिले राम्री देखिनु छैन, राम्रो अभिनय गर्नु छ ।' यस चलचित्रमा आफू राम्री नदेखिएको तर अभिनयमा शतप्रतिशत कला प्रस्तुत गरेको उनी बताउँछिन् ।

चलचित्रमा जति धेरै छोटा लुगा लगाउन सक्यो त्यति दर्शकलाई आकर्षित गर्न सकिन्छ भन्ने कुरा उनलाई 'ननसेन्स' लाग्छ । गाँठोमा काम गर्दा नै उनले धेरै कुरा सिकेकी छन् । यस क्रममा अभिनयको महत्त्व बुझ्नु उनका लागि ठूलो सिकाइ हो । क्यामेरा फेस गर्नु उनका लागि नौलो कुरा थिएन तर 'डायलग डेलिभरी'देखि अभिनयका अन्य पक्ष नौलो थिए ।

'सोसियल वर्क'मा स्नातक गरिरहेकी नम्रतालाई अब आफ्नो काममा विश्वास हुन थालेको छ । पहिलो चलचित्रबाट नयाँ नम्रताको रूपमा आफ्नो छवि स्थापित हुनेमा उनी विश्वस्त छन् । चलचित्रको 'प्रोमोसन'का लागि जहाँ पुगे पनि दर्शकले 'नम्रता श्रेष्ठ भनेको त अर्कै केटी रैछ' भनेको सुन्दा उनको मन चसक्क भयो । तर, आफ्नो मेहनतले एक दिन नम्रता भनेर आफैंलाई चिनाउन सक्नेमा उनी ढुक्क छन् ।

वीरगनजकी नम्रता मोडलिङकै सिलसिलामा तीन वर्षअघि राजधानी भित्रिएकी हुन् । उनले मोडलिङमा र्‌याम्प वाकदेखि विज्ञापन, म्युजिक भिडियोमा काम गरिसकिन् । अब चलचित्रबाट पछाडि फर्केर हेर्ने चाहना छैन उनको । भन्छिन्, 'दुईवटा ढुंगामा खुट्टा राख्यो भने यता न उताको भइन्छ, अब चलचित्रमात्र गर्छु ।'

मोडलिङ गर्दा रमाइलो लाग्ने भए पनि 'त्यस क्षेत्रमा जति काम गर्नु थियो गरिसकेँ, जति सिक्नुपर्ने थियो सिकिसकेँ' भन्न रुचाउने उनी अब चलचित्रमै आफ्नो बाटो कोर्दैछिन् । यसअघि सफल चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक सुरज भुसालले प्रस्ताव गर्नासाथ उनले स्वीकार गरिन् । यहीँबाट सुरु भयो उनको चलचित्र यात्रा अनि सिकाइको क्रम । भन्छिन्, 'धेरै गल्ती भएको होला तर आफ्नो तर्फबाट पूरै मेहनत गरेकी छु, भविष्यमा पनि गर्नेछु ।'

कसैलाई जित्छु, कसैजस्तो बन्छु या त्यो उचाइमा पुग्छु भन्ने दम्भ उनमा छैन । आफ्नो तर्फबाट काम गर्दै गएपछि एक दिन अवश्य आफ्नो स्थान भेटिनेमा उनी विश्वस्त छिन् । 'सोसियल वर्क'की विद्यार्थी भएकाले उनी सामाजिक कार्यमा पनि रुची राख्छिन् । जुन काम गरे पनि आफ्नो कमाइको केही प्रतिशत सामाजिक काममा खर्च गर्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.