खोटाङ लोडसेडिङ मुक्त हुने
दिक्तेलः खोटाङ लोडसेडिङ मुक्त जिल्ला बन्ने भएको छ । स्थानीय मेवा खोला हाइड्रोपावर दुई हप्तापछि सञ्चालनमा आउने निश्चित भएपछि जिल्ला लोड सेडिङ मुक्त बन्ने भएको हो ।
१ मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने भएपछि अहिले विद्युतीकरण भएका सदरमुकाम लगायतका केही गाविस लोडसेडिङ मुक्त हुने हाइड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए ।
बिहीबार सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर हाइड्रोपावर कम्पनीले हाइड्रोपावरको ड्राईटेस्ट गरिसकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रसारणलाइनमा जोड्न मात्र बाँकी रहेको जनाएको छ ।
चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि बत्ती बल्ने प्रबन्ध निर्देशक राईले बताए । समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाइमा बैंक अफ काठमान्डूको ७० प्रतिशत गरी २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका-१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत् उत्पादन गर्न लागिएको हो ।
लोडसेडिङको मार खेपीरहेका जिल्लावासी दुई हप्ताभित्र मेवा खोला जलविद्युत् सञ्चालन हुने खबरले उत्साहित बनेका छन् । हाल २.५ मेगावाट विद्युत् खपत भइरहेको जिल्लामा मेवा खोलाको १ मेगावाट थप हुँदा ऊर्जा संकटमा कमी आउने दाबी गरिएको छ ।
जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाइड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रवद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाइड्रोपावरको काम सुरु गरिएको हो ।
२०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाइड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिनपछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।
बाढीको क्षतिका कारण सुरुमा स्टिमेट गरेभन्दा दुई करोड ५० लाख बढी खर्च लागेको हो । खोलाबाट निकालिने हाइड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका ४० गाविस लोडसेडिङमुक्त बन्ने साप्सु–कालिका हाइड्रोपावर कम्पनीले जनाएको छ ।