चीन र ताइवानमा आँधी, आठ जनाको मृत्यु
बेइजिङ: दक्षिणपूर्वी चीन र ताइवानमा आएको शक्तिशाली आँधीबाट आठ व्यक्तिको मृत्यु भएको छ।
चीनको नागरिक मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार फुजिआन प्रान्तमा आएको ‘मेरान्टी’ नामक आँधीबाट सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य नौ जना वेपत्ता भएका छन्।
सोही आँधीबाट ताइवानमा पनि एक व्यक्तिको मृत्यु भएको ताइवानी आधिकारीले जानकारी दिएका छन्।
चिनियाँ अधिकारीका अनुसार मेरान्टीका कारण तीन करोड ३० लाख व्यक्ति विस्थापित भएका छन्। त्यसैगरी यस आँधीको कारण एक हजार छ सय घर ध्वस्त भएका छन्।
राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार यस आँधीको कारण तटीय सहर सिआमेनमा विद्युतीय लाइन र सडक सवारी साधनहरु ध्वस्त भएको छ।
ताइवानी सञ्चार माध्यमका अनुसार यस आँधीबाट दक्षिणी ताइवानमा बाढीको प्रकोप जारी रहेको छ।
ताइवानमा शुक्रबार अवेर रातिबाट ‘मालाकास्’ नामक अर्को आँधी आउने पनि अनुमान गरिएको छ। रासस/एपी