नेपाल पुलिसको पोष्टमा २३ गोलको बर्षा
काठमाडौंः कोकाकोला अन्तरविद्यालय राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत महिलातर्फ शुक्रबार भएको खेलमा रौतहटको दुर्गा माविले काभ्रेको नेपाल पुलिस एचएसएसलाई २३–० को भारी गोलअन्तरले पराजित गरेको छ ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को ‘स्ट्रो टर्फ’मा भएको एकपक्षीय प्रतिस्पर्धामा दुर्गा माविले दुई दर्जनभन्दा बढी गोलले जित हात पारेको हो । दुर्गा माविको जितमा रश्मीकुमारी घिसिङ एक्लैले सात गोल गरिन् भने सुमित्रासिंह पाख्रिनले पाँच तथा रजनी थोकरले चार गोल गरिन् ।
रश्मीले खेलको १७ औं, २० औं, २२ औं, ३० औं, ३५ औं, ४१ औं र ४४ औं मिनेटमा लगातार सात गोल गरेकी थिइन् । यस्तै सुमित्राले खेलको १३ औं, २३ औं, ४६ औं, ५४ औं र ६८ औं मिनेटमा तथा रजनीले खेलको आठौं, ३३ औं, ४९ औं र ६५ औं मिनेटमा गोल गरेकी थिइन् ।
त्यसबाहेक मेनुका आलेमगरले खेलको दोस्रो, २० औं र ४३ औं मिनेटमा तीन गोल गर्दा अस्मिता वैद्यले खेलको तेस्रो र २७ औं तथा दिलकुमारी रानामगरले खेलको सातौं र १५ औं मिनेटमा दुई—दुई गोल गरे ।
महिलातर्फको अर्काे खेलमा काठमाडौंको नेपाल राष्ट्रिय उमाविले स्याङ्जाको बालविद्या उमाविलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । नेपाल राष्ट्रिय उमाविको जितमा ननीता गुरुङले खेलको २० औं, ज्यामु शेर्पाले खेलको ४० औं तथा अर्पणा परियारले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए । बालविद्याका लागि भने रिया बनुले खेलको २६ औं र ४८ औं मिनेटमा दुई गोल गरेकी थिइन् ।