हरायो झम्के बुलाकी
धनकुटाः धनकुटाको बूढीमोरङ गाविस–७ स्थित दुर्गा चोककी बासिन्दा चन्द्रमाया लिम्बूले करिब सात वर्षको उमेरदेखि बुलाकी लगाउन थालेकी हुन् । कहिलेकाहीँ सरसफाइ गर्दाबाहेक सधैंजसो उनको नाकमा परम्परागत सुनको बुलाकी देखिन्छ । उनी भन्छिन्, ‘अब त बानी प¥योे । फुकालेर ऐनामा हेर्दा आफैंलाई आफ्नो अनुहार रित्तो लाग्छ, अनौठो लाग्छ ।’
६४ वर्ष पुगेकी चन्द्रमायाको अनुहार सुनको कलात्मक गहनाले ढपक्कै ढाकेको छ । कानमा माडवारी, नाकमा लर्केको माछीकाँडे बुलाकी । देब्रे नाकमा सुहाएको फुली । परम्परागत सुनको गहनाले बुढेसकालमा पनि उनको अनुहारको चमक कम छैन ।
सोही गाउँकी लक्ष्मीमाया लिम्बूको १३ वर्षको उमेरदेखि लगाएको बुलाकी अहिले ७३ पुग्दासमेत नाकमा झुन्डिएको छ । उनी सम्झन्छिन्, ‘त्यो बेला सबैको नाकमा बुलाकी हुन्थ्यो । मलाई आमाले लगाइदिनुभएको हो ।’ लक्ष्मीमाया लिम्बूको उमेर पाको भएकाले सामान्य हिँड्डुल पनि गर्न सक्दिनन् । तर, अनुहारबाट बुलाकी भने कहिल्यै फुकालेकी छैनन् । उनी भन्छिन्, ‘अन्तिम सास रहुन्जेल लाउँछु ।
बुलाकी मेरो लागि पहिचान हो ।’ बुलाकी लगाउने प्रचलन पछिल्लो पुस्तामा हराउँदै गएको छ । नयाँ पुस्ताका युवतीले बुलाकी लगाउने सोच्न पनि छोडेका छन् । यसका कारण बुलाकी लोप हुने अवस्थामा पुगेको छ । विशेष गरी जनजाति समुदायका लिम्बू, राई र मगर समुदायका युवतीहरूले विभिन्न आकृतिका कलात्मक गहना लगाउने गर्छन् ।
बुलाकी महिलाको नाकका दुई पोराका बीच छेडिएको तल्लो भागमा लगाउने सुनको मुन्द्रे गहना हो । बुलाकी साधारण, माछाकाँडे, झम्के र पाते प्रकारका हुन्छन् । झुम्का भएको सुनको गहना झम्के बुलाकी हो ।
झम्के बुलाकीमा पात वा झुम्को हुन्छ । झुम्काका ठाउँमा माछाको काँडा आकार देखिने माछीकाँडी बुलाकी हो । गाउँका बूढापाकाको भनाइअनुसार बुलाकी लगाउने प्रचलन परापूर्व कालदेखिको हो ।
जनजाति समुदायको चाडपर्व, विवाह, शुभकार्यमा बाहेक अन्य बेला बुलाकी लगाएका महिला प्रायः देखिन छोडेका छन् । बुलाकी लगाउने प्रचलन हराउन थालेपछि बूढापाका परम्परा हराउने चिन्ता गर्छन् । चन्द्रकुमारी लिम्बू नाकबाट बुलाकी निकाल्दा के हरायोजस्तो भाव हुने बताउँछिन् ।
‘हामीभन्दा अघिका पुस्ताले लगाएको देखेर हामीले लगायौं । तर, अहिले हामीपछिका पुस्ताले बुलाकी बिर्सिन थाले’, उनी भन्छिन्, ‘हाम्रो पुस्ता मासियो भने बुलाकी लगाउने प्रचलन पनि मासिने देखेकी छु ।’ यसलाई संरक्षण गर्नुपर्ने उनको चाहना छ ।
हाम्रो पुस्ता मासियो भने बुलाकी लगाउने प्रचलन पनि मासिने देखेकी छु । - चन्द्रकुमारी लिम्बू ।
बूढीमोरङ गाविसकै ६४ वर्र्षीय दुर्गाबहादुर लिम्बूको भनाइमा बुलाकी नेपाली समाजको मौलिक गहना हो । २०३०–३२ सालताका जनजाति समुदायका राई, लिम्बू र मगर जातिका युवतीको नाकमा बुलाकी लगाएर हिँड्ने गरेको पुराना दिन उनी सम्झन्छन् । उनी भन्छन्, ‘अहिलेका युवतीले त प्रायः छाडी नै सके । बुलाकी लगाउने पुराना पुस्ताकाले पनि विस्तारै लगाउन छाडे ।’
उनका अनुसार त्यो बेला गाउँमा प्रायःजसो हाटबजार मेला लाग्थ्यो । मेला हाटबजार भर्न आउने मानिसहरू जातीय भेषभूषा लगाएर आउँथे । धाननाच नाचिन्थ्यो । त्यो बेलासम्म महिलाले बुलाकी लगाएको देखेको उनी सम्झन्छिन् । उनले भने, ‘बरु अहिले आएका सस्तोमस्तो गहना लगाएर हिँड्छन् । परम्परागत सुनको गहना इलाम र छिमेकी देश भारतको सिक्किमका संरक्षण गरेर राखेको भन्ने सुनेको छु ।’
छोरीहरूको सौन्दर्य झल्काउने पहिरन गहना हो । लोप हुन नदिन ग्रामीण क्षेत्रका क्लब, जातीय संघसंस्थाले केही मात्रामा यस्ता जातीय गरगहना संरक्षण गरेर राखेका छन् । बूढीमोरङ गाविसका पूर्वउपाध्यक्ष तथा समाजसेवी दलबहादुर इङनामले परम्परागत सुनको गहना लगाएर हिँड्दा चोरी हुने डरले मान्छेले घरमै संरक्षण गरेर राख्न थालेको बताउँछन् । उनी भन्छन्, ‘अहिलेको जमानामा जथाभावी लगाएर हिँड्न डरमर्दो हुन्छ । त्यही भएर सुनका बुलाकी लगाउन छाडेका हुन् ।’
नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष सञ्जयसन्तोषी राईले परम्परागत गहना जोगाउन विभिन्न कार्यक्रममा अनिवार्य जातीय पहिरन लगाउन अनुरोध गर्दै आइरहेको बताए । उनी भन्छन्, ‘परम्परागत गहनालगायत पहिरनहरू संरक्षण गर्न जनजाति महासंघको छुट्टै कोठामा राख्ने तयारी गरिरहेका छौं ।’
सुनका गहना बनाउने ज्वेलर्सहरूमा आधुनिक फेसनका गहनाको बिक्री बढी मात्रा हुने गरेको छ । धनकुटा–६, बीचबजारस्थित न्यु शुभलक्ष्मी ज्वेलरीका कालीगढ कमल विश्वकर्माले बुलाकी बनाउने अर्डन आउन छोडेको बताउँछन् । ‘माग नै आउँदैन’, उनी भन्छन्, ‘कसका लागि बुलाकी बनाउनु ? ’ पुराना गहना ल्याएर नयाँ गहना बनाउने क्रम बढेको उनी बताउँछन् । बुलाकीभन्दा पनि माडवारी, तिलहरी, सिक्री, चुरा, औंठीको माग बढी हुने गरेको उनी बताउँछन् ।