पानीप्रती उत्तरदायी
चार खर्ब ६० अर्ब वर्षअगाडि उत्पन्न भएको पृथ्वीमा ज्वालामुखी विस्फोट हुँदाको खरानीमात्र भएको मानिन्छ । पृथ्वी चिसो हुने क्रममा बाफ चिसो भएर पानी भएको मानिन्छ । पानी पृथ्वीको जीवको नसा, रूखको हाँगाजस्तै हो । पानीमा अग्ली, ब्याक्टेरिया हुँदै जीवहरूको उत्पन्न भएको हो ।
पृथ्वीमा ७१ प्रतिशत पानी र २९ प्रतिशत जमिनले ओगटेको छ । पृथ्वीमा भएको पानीमा ९६.५ प्रतिशत समुद्रीय नुनिलो पानी छ, ३.५ प्रतिशत पिउनयोग्य स्वच्छ पानी छ । पृथ्वीमा हुने पानीको मात्रा जहिले पनि स्थिर हुने गर्दछ ।
पृथ्वीमा मान्छेको जनसंख्या २०१६ मा लगभग सवा सात अर्ब भएको एक तथ्यांकले जनाउँछ । प्रत्येक मान्छेको शरीरमा ५७-६० प्रतिशत पानी हुन्छ । जनसंख्या वृद्धिसँगै मानिसले उपभोग गर्ने खानाको मात्रामा पनि वृद्धि भएको छ । एउटा मान्छेले बिहान र बेलुका गरी दिनमा चार सय ग्राम अन्न सेवन गर्दछ । त्यस्तै बर्सेनि मासुको माग पनि बढी नै रहेको छ ।
उत्पादनको क्रममा एक किलोग्राम आलु उत्पादनको लागि एक सय लिटर, एक किलोग्राम धानको लागि चार हजार लिटर, एक किलोग्राम गाईको मासुको लागि १३ हजार लिटर अनुमानित पानी चाहिन्छ । उत्पादित अन्नको ५० प्रतिशत मासु उत्पादनको लागि प्रयोग गरिन्छ । सन् १९५० देखि माछा मार्ने काम भयो र बर्सेनि ८०-१०० मेट्रिकटन एक वर्षमा मारिन्छ । चार भागको एक भागमा माछा मार्ने ठाउँमा माछाको हराउने सम्भावना बढेको छ ।
साधारणतया एक घनमिटर साधारण ढलानमा एक सय ७५ लिटर पानी चाहिन्छ । विश्वमा सन् १९५० भन्दा यता धेरै नै पूर्वाधारहरूको निर्माण भएको छ । उदाहरणको लागि चीनमा एक सय तलाभन्दा अग्ला गगनचुम्बी भवनहरू २० वर्ष यता बनेका छन् । सँगसँगै खनिजबाट तरल पदार्थको उत्खनन गर्ने काममा पनि पानीको अत्यधिक आवश्यकता पर्दछ ।
अर्कोतर्फ तीव्र गतिको विकासका कारण प्रदूषण पनि बढेको छ । जसका कारण विश्वको तापमानमा वृद्धि भइरहेको छ । जसले हिमालमा हिउँ पग्लिँदै गएको छ । गत ४० वर्षमा ४० प्रतिशतले हिमालको हिउँ पातलो भएको आँकडा छ । जसको कारण समुद्रको सतह बर्सेनि २० सेन्टिमिटर बढेको छ । समुद्र सतहमा भएका देश डुब्ने सम्भावना बढिरहेको छ भने त पिउनयोग्य शुद्ध पानीको स्रोत पनि कम हुँदैछ ।
संसारका दुई अर्ब मानिसहरू दैनिक जीवनयापन र कृषिको लागि हिमालबाट बग्ने पानीमा निर्भर छन् । एसिया महादेशमा हिमालबाट बगेका ठूला नदीहरू नै पानीको मुख्य स्रोत हुन् ।
संसारमा जनसंख्या वृद्धिसँगै खाद्यान्न तथा तरकारीको माग बढिरहेको छ, जसको लागि पानीको आवश्यकता बढिरहेको छ । ठूला सहरहरूमा तरकारी उत्पादन र औद्योगिक प्रयोजनका लागि लैजाँदा कतिपय ठूला नदीहरूसमेत सुकिरहेछन् । ती समुद्रसम्म पुग्नै पाउँदैनन् ।
सहरी विकास र यसबाट हुन गएको सिँचाइको अभावको कारण विश्वको ४० प्रतिशत कृषियोग्य जमिन अहिले बाँझो बनेको छ । प्रत्येक वर्ष एक करोड ३० लाख हेक्टर वनविनाश भइरहेछ ।
यसैगरी चार भागको एक भाग स्तनधारी, आठ प्रजातिमध्ये एक प्रजाति चरा, तीन भागमध्ये एक भाग जलचरहरू लोप हुने खतरामा पुगेका छन् । विभिन्न प्रजातिको लोप हुने दर प्राकृतिक नियमभन्दा एक हजार गुणाले बढिरहेछ ।
ब्रिटिस रिस्क कन्सल्टेन्सी फर्म म्यापलक्रफ्ले एक सय ६५ देशमा स्वच्छ पानीको सम्भार सम्बन्धमा गरेको अनुसन्धानले धेरैजसो एसियाली र अफ्रिकी मुलुकहरू पानीको गम्भीर समस्यामा रहेको देखाउँछ ।
भारत सबैभन्दा पानीको अभाव भएको देशको रूपमा देखिन थालेको छ । पछिल्लो ५० वर्षमा २१ करोड मुहानहरू भारतमा सुक्ने अवस्थामा छन् । अनि धेरैजसो ठाउँमा पानीको इनार झन् गहिरो खन्नुपर्ने अवस्था छ र पश्चिम भारतमा ३० प्रतिशत मुहानहरू सुकिसकेका छन् ।
संसारमा जनसंख्या वृद्धिसँगै खाद्यान्न तथा तरकारीको माग बढिरहेको छ, जसको लागि पानीको आवश्यकता बढिरहेको छ । ठूला सहरहरूमा तरकारी उत्पादन र औद्योगिक प्रयोजनका लागि लैजाँदा कतिपय ठूला नदीहरूसमेत सुकिरहेछन् ।
विश्वमा गरिबी मुलुकमा दैनिक पाँच हजार मानिसहरू अशुद्ध पानी पिउनका कारण मर्दछन् । एक अर्ब मानिसहरू शुद्ध पानी पिउनबाट वञ्चित छन् र लगभग एक अर्ब मानिसहरू भोकमारीको सिकार भएका छन् ।
वातावरणीय परिवर्तन मानिसको क्रियाकलापको कारण नै हो । हामीले विश्वलाई नै हाम्रो इच्छाअनुसार परिवर्तन गर्न खोज्नुको परिणाम हो । अब हामी एक-एकजनाबाट नै गल्तीको सुधार खोजेनौं भने विश्वका सवा सात अर्ब मानिसको भार यो विश्वले बोक्न सक्दैन । अमेरिकाको न्युयोर्कमा वन संरक्षणको कामहरू भइरहेको छ । जुनबाट आउने पानीले उक्त सहरभरि पानीको आपूर्ति हुन्छ ।
त्यस्तै दक्षिण कोरियामा युद्धको कारण विनाश भएका वन अहिले सरकारकै पहलबाट पुनः संवद्र्धन संरक्षण भइरहेको छ । फलस्वरूप ६५ प्रतिशत वन संरक्षण भएको छ । यसैगरी कोस्टारिकाले सैनिकमा खर्च गर्नुको सट्टा आफ्नो प्राकृतिक स्रोत संरक्षणमा खर्च गरिरहेको पाइन्छ ।
प्राकृतिक न्याय भएपछिमात्रै वातावरण सन्तुलन हुन्छ । यसमा नै सबैको हित हुन्छ । अब हामी उत्तरदायी उपभोक्ता हुनुपर्छ । सोचौं कि हामीले खरिद गर्ने सामानहरू कहाँबाट आउँदछ र यसको प्रयोगबाट अरूलाई हानि हुन सक्ने बारेमा बुझ्नु जरुरी छ ।