भाषा बहस- बनाउने भन्दै, बिगार्दै
'भाषा त सुटुक्क फेरिने कुरा हो । ...सयौं वर्षमा केही कुरा फेरिन्छ भने त्यसलाई स्वाभाविक रूपमा हेरिनुपर्छ । तर जानी जानी, सिपालु भएर, म भाषा परिमार्जन गर्छु, सजिलो बनाउँछु भनेर हुँदैन । अहिले जसरी नयाँ वर्णविन्यास थोपर्ने प्रयास भइरहेको छ, यो देख्ता मलाई हाँस्न मन लाग्छ ।'
आफ्ना चेला–उपचेलाहरूले नेपाली शब्दको हिज्जेमा जबर्जस्ती थोपरिरहेको परिवर्तनबारे नेपाली भाषाशास्त्रीहरूका कुलगुरु प्रा बालकृष्ण पोखरेलको पछिल्लो टिप्पणी हो यो (सेतोपाटी डट कम, २०७३ भदौ २७) । यो अकस्मात् आकाशबाट झरेको टिप्पणी होइन, हिज्जेमा मच्चाइएको भाँडभैलो र त्यसले नेपाली भाषालाई अन्योल, अराजकता र अवनतितर्फ धकेल्न थालेकोमा भाषिक तत्वदर्शीको गम्भीर चिन्ता र चेतावनी हो ।
संयुक्त अक्षरका खुट्टा काट्ने निर्विवेकी आदेश विरुद्ध नेपाली भाषा प्रयोगकर्ताहरूबीच चुलिएको आक्रोशले हिज्जेमाथि हुँदै आएको अनधिकृत हस्तक्षेपलाई आज व्यापक सार्वजनिक चर्चा र चिन्ताको विषय बनाइदिएको छ । नेपाली भाषामाथिको अतिक्रमण स्कूलदेखि क्याम्पससम्म, पारिवारिकदेखि सार्वजनिक समारोहसम्म र सडकदेखि सदनसम्म चासोको विषय बन्न पुगेको छ । नेपाली भाषाको इतिहासमा यो अपूर्व परिघटना हो । प्रा. पोखरेलेको चिन्ता यसै सन्दर्भमा व्यक्त भएको हो ।
हिज्जेमा अराजकताको सार्वजनिक बीजारोपण २०४० को 'नेपाली बृहत् शब्दकोश' मार्फत भएको थियो, जसको सम्पादकीय निर्देशक उहाँ स्वयं हुनुहुन्थ्यो । झर्रोवादी आन्दोलनका मुख्य अभियन्ता उहाँले परम्परागत हिज्जेमा जबर्जस्ती परिवर्तन थोपर्ने काम झर्रोवादी उग्रताको उपज भएको स्पष्ट पार्दै भन्नुभएको छ, 'यस कोशमा मैले मेरो प्यारो झर्रोवादको अनुकूल व्यापक क्रान्ति ल्याउँला भन्ने आशा मेरा क्रान्तिकारी चेलाहरूको थियो । तर...मैले उक्त कोशमा ०.५ (आधा) प्रतिशत क्रान्ति मात्र लागू गरें ।'
त्यसबेला आफू लगायतका झर्रोवादीहरूले शहर, कानून, मालूम, वकील, रसीद, जादू, जासूस, शायद आदि शब्दलाई नेपाली भोटो लगाइदिएर (दीर्घ ई, ऊ लाई ह्रस्व र श लाई स बनाएर) तद्भवीकृत नगरे 'अशुद्ध' घोषित गर्ने गरेको र उक्त शब्दकोशमा पनि त्यही गरिएको उहाँको स्पष्टोक्ति छ । हिज्जेका नाममा आज मच्चिएको भाँडभैलो त्यसैको परिणाम हो भन्दै उहाँले आफ्नो त्यस कार्यलाई 'पाप' को संज्ञा दिनुभएको छ र भन्नुभएको छ, '२०४० को मद्वारा शतप्रतिशत निर्देशित र १५ प्रतिशत घुँडाधस शैलीमा सम्पादित 'बृहत् नेपाली शब्दकोश' को यो पापको 'नेकशुले–२०६९' मार्फत मैले प्रायश्चित्त गरेको छु ।' (२०६९ असार ९ मा एक राष्ट्रिय दैनिकमा प्रकाशित उहाँको आलेख)
नेकशुले–२०६९
भाषाको सम्प्रभुता यसका प्रयोगकर्ताहरूमा निहित हुन्छ भन्ने उद्घोषका साथ नेपाली भाषा प्रयोगकर्ताहरूले २०६८ मा शुरु गरेको अभियानको उपज हो — नेकशुले (नेपाली कसरी शुद्ध लेख्ने ? ) – २०६९ । भाषा परिवर्तनशील हुन्छ र यो परिवर्तन लोकव्यवहारबाट अनायास हुँदै जान्छ, त्यसलाई सबैले अंगीकार गर्नुपर्छ; परिवर्तनका नाममा वा कुनै पनि बहानामा उर्दी, आदेश र राज्यशक्तिको प्रयोगबाट भाषामाथि हस्तक्षेप गर्ने अधिकार कुनै व्यक्ति, संस्था, विश्वविद्यालय, सरकार वा संसद कसैलाई हुँदैन भन्ने मान्यता बोकेको छ यस अभियानले ।
खास गरी विभिन्न भाषाबाट नेपालीमा जस्ताको तस्तै मिल्न आएका शब्दहरूको दीर्घ ईकार–ऊकार हटाएर ह्रस्व पार्ने, श–ष हटाएर स बनाउने लगायतका ज्यादती विरुद्ध केन्द्रित छ यो अभियान । संयुक्त अक्षरका खुट्टा काट्ने आदेश विरुद्ध आज उर्लिएको जनविरोध यसै अभियानको अनुक्रम हो ।
यसै क्रममा, समयको अन्तरालमा लादिएका र देखा परेका विकृतिबाट मुक्त गराएर नेपाली भाषालाई सहज–स्वाभाविक गतिमा अघि बढ्न सहयोग पुर्याउने ध्येयले हिज्जे सम्बन्धमा प्रयोगकर्ताहरूबीच निर्धारित गरिएको व्यवस्था हो, नेकशुले–२०६९ । यसमा, जीवनभर अलग–अलग भाषिक मान्यता बोकेर हिंडेका प्रा. बालकृष्ण पोखरेल, प्रा. मुकुन्दशरण उपाध्याय लगायतका महागुरुहरू आआफ्ना मतभिन्नता थाती राखेर कृष्णप्रसाद पराजुली, कमल दीक्षित, जगदीश घिमिरे, डा. राजेन्द्र विमल, दुर्गाप्रसाद श्रेष्ठ, डा. गोविन्दराज भट्टराई, किशोर नेपाल, खगेन्द्र संग्रौला, परशु प्रधान, हरि अधिकारी, नारायण ढकाल, श्यामल, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ध्रुवहरि अधिकारी, राजेन्द्र दाहाल, शिव गाउँले लगायत ८२ जना प्रतिष्ठित भाषासेवी, साहित्यकार, सम्पादक, पत्रकार तथा प्रयोगकर्ताहरूसँग एक ठाउँमा उभिनुभएको थियो । खुशीको कुरा, हिजोसम्म हिज्जेमाथिको अनधिकृत हस्तक्षेपलाई संस्थागत गर्न कटिबद्ध भएर लागिपरेका विभिन्न पक्षहरू समेत आज यसै दिशातर्फ अभिमुख हुन थालेका छन् ।
अराजक हस्तक्षेप
प्रयोगकर्ताले पचाइसकेका र भाषामा भिजिसकेका शब्दहरूको हिज्जेमाथि एकमुस्ट आक्रमण गर्ने काम संसारको कुनै पनि जीवन्त भाषामा हुँदैन । हामीकहाँ भने चरणबद्ध रूपमा यही हुँदै आएको छ । राज्यशक्तिको आडमा, विभिन्न चरणमा उर्दी जारी गरिएको छ — संस्कृत बाहेक अन्य सबै भाषाबाट आएका शब्दको शुरू र बीचमा रहेको दीर्घ ईकार–ऊकारलाई हटाएर ह्रस्व मात्र लेख, श–ष हटाएर पातलो स मात्र लेख ।
शहीद, गरीब, शहर, जोश, होश, बूट, कार्टून, कानून, आदिलाई बिगारेर सहिद, गरिब, सहर, जोस, होस, बुट, कार्टुन, कानुन बनाऊ । संस्कृतबाटै आएका शब्दलाई पनि तीतो, पीरो, मीठो, दूध, फूल, बूढो आदि लेख्न छोडेर तितो, पिरो, मिठो, दुध, फुल, बुढो लेख्न थाल । दशैं, कोशी, दश आदिलाई दसैं, कोसी, दस बनाऊ ।
पूर्व लेखे पनि पूर्वेली नलेख, पुर्बेली लेख; पश्चिम लेखे पनि पश्चिमेली नलेख, पस्चिमेली लेख । स्वीकार लेखे हुन्छ तर स्वीकार्ने नलेख, स्बिकार्ने लेख्ने गर; विश्वास लेख तर विश्वासिलो नलेख, बिस्वासिलो लेख ।
एकपछि अर्को आदेश आउन थाले — नेपालीलाई एउटा पातलो स भए पुग्छ, तीन–तीनवटा स को के काम ? दुइटालाई हटाइदेऊ । ह्रस्वले काम चल्छ, दीर्घ ईकार–ऊकारको के आवश्यकता ? तिनको सफाया गर । 'ण' अक्षर नेपालीले उच्चारणै गर्दैनन्; राणा, वीणा, वाणी, कृष्ण, नारायण जस्ता शब्द तिनको मुखबाट निस्कनै सक्तैनन् । नेपालीले त कि राना, बिना, बानी, कृस्न, नारायन भन्छन्, कि राँडा, बिँडा, बाँडी, कृस्डँ, नारायँड मात्र उच्चारण गर्न सक्छन् ।
त्यसैले ण लाई नामेट पार । उच्चार्य वर्णमालाबाट ई, ऊ, ऐ, औ, अं, अः जस्ता स्वर र ञ, ण, श, ष, क्ष, त्र, ज्ञ जस्ता व्यञ्जन हामीले हटाइदिएका छौं, किनभने नेपाली उच्चारणमा ती वर्ण छैनन् । झुक्किएर कसैले उच्चारण गरिहालेछ भने पनि त्यसलाई मान्यता दिंदैनौं !
हालसम्म जारी भएको सबभन्दा पछिल्लो उर्दीले भनेको छ — संयुक्त अक्षरहरूलाई संयुक्त रूपमा नलेख्नू । 'संयुक्त अक्षर' भन्ने अवधारणाको सफाया गर्नू । जोडिएको अक्षर खुट्टा काटेर लेख्नू । जस्तै — विद्या लाई विद्या, बुद्ध लाई बुद्ध, बुद्धि लाई बुद्धि, द्वन्द्व लाई द्वन्द्व आदि । शिक्षकले विद्यार्थीलाई यस्तै सिकाउनू । जसले यसरी लेख्तैन, त्यसलाई फेल गर्नू ।
उदेकलाग्दा तर्क
अराजक हस्तक्षेपको बचाउमा उदेकलाग्दा तर्क अघि सारिने गरेका छन् । जस्तैः
क. यो सब सरलताका लागि गरिएको हो । नेपाली भाषा अत्यन्त कठिन भयो, हामी सरल बनाउने अभियानमा लागेका छौं ।
ख. जस्तो उच्चारण हुन्छ, त्यस्तै लेखिनुपर्छ । यो त्यसतर्फको अग्रसरता हो ।
ग. संस्कृत भाषा नेपाली भाषाको पनि मातृभाषा हो । त्यसैले त्यसका तत्सम शब्दलाई नबिगारी लेख्नुपर्छ । तर अरू भाषाबाट आएका शब्दलाई त्यस्तो सम्मान दिन सकिंदैन ।
घ. अन्य भाषाबाट आएका शब्दमा हाम्रो नियम लागू गर्नुपर्छ, तिनलाई तद्भवीकरण गर्नुपर्छ । तिनको नियम अनुसार उच्चारण गर्न सकिंदैन, हाम्रै नियम अनुसार उच्चारण गर्नुपर्छ । त्यसैगरी लेख्नुपर्छ ।
ङ. संयुक्त अक्षर केटाकेटीले सिक्न सक्तैनन्, शिक्षकले सिकाउन सक्तैनन्, त्यसैले खुट्टा काटेरै लेख्नुपर्छ ।
एकपछि अर्को आदेश आउन थाले — नेपालीलाई एउटा पातलो स भए पुग्छ, तीन–तीनवटा स को के काम ? दुइटालाई हटाइदेऊ । ह्रस्वले काम चल्छ, दीर्घ ईकार–ऊकारको के आवश्यकता ? तिनको सफाया गर ।
मुख्य तर्क यिनै र यस्तै हुन् । यसो गमिहेरौं त, यी कति तर्कसंगत छन् ?
क. हिज्जे गिजोलेर जटिलता, अन्योल र अराजकता मात्र बढ्छ, सरलता कहिल्यै आउँदैन । यो हाम्रो अनुभवले नै प्रमाणित भइसकेको कुरा हो । देवनागरी लिपिमा लेखिने भएकाले नेपाली शब्दको हिज्जे अंग्रेजी, फ्रेन्च, स्पेनिस जस्ता भाषाको तुलनामा कहाँ हो कहाँ सरल छ र वैज्ञानिक पनि । वर्णविन्यासका नाममा वर्णविनाश गर्दा भाषाको क्षमता घट्छ र यो संकुचित बन्दै जान्छ ।
भएका वर्णको उच्चारण समेत सिकाएर केटाकेटीलाई सक्षम बनाउनुपर्ने ठाउँमा, सरलताका नाममा वर्ण नै हटाइदिएर अनि स्वतः उच्चारण गरिरहेकालाई पनि त्यो उच्चारण नै होइन भनी तिरस्कृत गरेर भाषालाई उँभो लैजान सकिंदैन । सरलताको अर्थ भाषालाई कमजोर बनाउनु होइन ।
ख. लेख्य र कथ्य भाषाबीच पूर्णतः एकरूपता कदापि सम्भव हुँदैन । भाषाको कथ्य रूप ठाउँपिच्छे फरक हुन सक्छ तर लेख्य रूप सर्वत्र एउटै हुनुपर्छ । लेख्य र कथ्य रूपका बेग्लाबेग्लै कानून हुन्छन्, एउटाको कानून अर्कालाई लगाउन मिल्दैन । हामी 'रहेछ' लेख्छौं, तर बोल्दा 'रहेछ' भन्ने मानिस विरलै भेटिएला । कसैले रएछ भन्छ, कसैले रछ भन्छ, कसैले रेछ भन्छ, कसैले रैछ भन्छ त कसैले रच भन्छ ।
ग. आफ्नी आमालाई सम्मान गर्नुपर्छ भन्नुको अर्थ आफूलाई पालनपोषण गर्ने अन्य 'आमा' हरूको अपमान गर्नुपर्छ भन्ने होइन । हाम्रो संस्कृति र परम्पराले यस्तो सिकाउँदैन । संस्कृतबाट जस्ताको तस्तै आएका शब्दको सम्मान गरेर तिनको हिज्जे नबिगारी लेख्नु उचित हो र त्यही सम्मान अरू भाषाबाट जस्ताको तस्तै आएका शब्दलाई पनि दिनुपर्छ । हाम्रो भाषालाई संस्कृतका शब्दले मात्र नपुग्ने भएपछि ल्याइएका हुन् ती शब्द । तिनले नेपाली भाषालाई समृद्ध बनाएका छन्, बनाउँदै जानेछन् । तिनको अपमान कसरी गर्न मिल्छ ? शब्द त सरस्वतीका रूप हुन्, तिनको सम्मान गर्न नसक्नेले भाषाको कुरा गर्न सुहाउँछ ?
वास्तवमा, तिनलाई 'आगन्तुक' भन्नु पनि ठीक होइन । आगन्तुक भनेको त पाहुना हो; जो सधैं बस्तैन, केही दिन पछि आफ्नो घर फर्कन्छ । के 'आगन्तुक' भनिएका शब्दहरूलाई हाम्रो साहित्य, हाम्रो वाङ्मयबाट निकालेर फिर्ता पठाउने हाम्रा भाषा–प्रशासकहरूको कुनै योजना छ ?
घ. अन्य भाषाबाट आएका शब्दमा हाम्रो नियम लागू गर्नुपर्छ भन्नु त ठीक हो तर त्यसको अर्थ जबर्जस्ती तिनको हिज्जे फेरेर अंगभंग गर्नुपर्छ भन्ने हुन सक्तैन । हुनुहुँदैन । तिनको अंगभंग नगरी, जीउ सग्लै रहन दिई, नियम मात्र हाम्रो लगाउने हो । उदाहरणका लागि, 'स्कूल' शब्दलाई जबर्जस्ती ह्रस्व 'स्कुल' बनाउनु त्यसको अंगभंग गर्नु हो । हाम्रो नियम लगाउनु भनेको त बहुवचन जनाउन 'स्कूल्स' नभनेर 'स्कूलहरू' भन्नु हो । 'फ्रम स्कूल' नभनेर 'स्कूलबाट' भन्नु हो ।
ठीक त्यसैगरी, जसरी अन्य मुलुकबाट आएको पर्यटक औसत नेपाली भन्दा अग्लो छ भने टाउको वा खुट्टा काटेर उसलाई 'नेपाली उँचाइ' मा ल्याइँदैन, जीउ सग्लै रहन दिएर नै नियम–कानून परिपालन गराइन्छ ।
जहाँसम्म 'तद्भवीकरण' को कुरा छ, यो अब म्याद गुज्रेको ओखती भइसक्यो । हिजोको जमानामा यसको सार्थकता थियो, तर सूचना–प्रविधि र श्रव्य–दृश्य माध्यमको कल्पनातीत विकासका कारण अब यसको सान्दर्भिकता समाप्त भएको छ । अब विश्वको कुनै पनि भाषाबाट कुनै पनि भाषामा शब्दहरू, तिनको उच्चारण समेत, जस्ताको तस्तै आउन–जान र प्रयोग हुन थालेका छन् ।
'विश्वग्राम' र तद्भवीकरण सँगसँगै हिंड्न सक्तैनन् । पहिले आएर स्थापित भइसकेका, अब खासै प्रयोगमा नआइरहेका 'लाल्टिन' जस्ता शब्द त रहलान्, तर त्यसरी स्थापित भए पनि निरन्तर प्रयोग भइरहेका नवम्बर, दिसम्बर जस्ता शब्द बिस्तार–बिस्तारै नोभेम्बर, डिसेम्बर भइरहेका छन् ।
अन्य भाषाबाट आएका शब्द 'तिनको' होइन 'हाम्रो' नियम अनुसार उच्चारण गर्नु र लेख्नुपर्छ भन्ने हठ पनि घामलाई हत्केलाले छेकेर रात पर्यो भन्नुजस्तै हो । त्यस्तो हुँदो हो त 'हाम्रो' नियम अनुसार हामी त्य लाई 'टु' नभनेर 'टो' भन्थ्यौं होला । द्यगत लाई 'बट' नभनेर 'बुट' भन्थ्यौं होला । प्लषभ लाई 'नाइफ' नभनेर 'क्नाइफ' वा 'क्निफे' भन्थ्यौं होला । न्भयचनभ लाई बोलाउँदा 'हलो जर्ज' नभनेर 'हलो ग्योर्गे' भन्थ्यौं होला । कि कसो ?
ङ. संयुक्त अक्षर केटाकेटीले सिक्न सक्तैनन् भन्नु केटाकेटीको अवमूल्यन र अपमान हो । दुनियाँले सुन्दा पनि गलल्ल हाँस्ने कुरा । चिनियाँ र जापानी भाषाका जटिल, चित्रात्मक अक्षर सिक्न त्यहाँका केटाकेटीलाई गाह्रो हुन्छ भनेर कसैले ती अक्षर भत्काउँछ र ? रह्यो, शिक्षकले सिकाउन सक्तैनन् भन्ने कुरा । त्यसका लागि शैक्षिक सामग्री÷उपकरण बनाउन सकिन्छ, संयुक्त अक्षर कुशलताका साथ सिकाइरहेका शिक्षकहरूबाट अरूलाई तालीम दिलाउन सकिन्छ ।
हिज्जेमा गरिएको अराजक हस्तक्षेपको प्रतिरक्षा गर्न उभ्याइने कतिपय विद्वत्तर्क भने शास्त्रीय सूत्र र सिद्धान्तको भूलभुलैयामा परेर आफैं अलमलिएका हुन्छन्, जसको धरातलीय यथार्थ र व्यावहारिकतासँग गोरु बेचेको साइनो पनि हुँदैन । भाषाशास्त्र र त्यसका हाँगाबिंगाहरूको काम मानवीय भाषाको वैज्ञानिक अध्ययन गर्नु मात्र हो र तिनले लोकव्यवहारलाई नियमन, निर्देशन वा नियन्त्रण गर्ने हैसियत राख्तैनन् भन्ने सीमा अनि यथार्थ बुझ्ने हो भने कुरो टुंगिइहाल्छ । भाषा शास्त्रले चल्ने होइन, शास्त्र चाहिं भाषाका आधारमा जन्मने र चल्ने हुन् ।
नोक्सानै नोक्सान
हिज्जेमा हस्तक्षेप गर्ने उन्मादले नेपाली भाषालाई चौतर्फी नोक्सान पुर्याएको छ ।
१. यसले सरलताका नाममा नेपाली शब्दको हिज्जेलाई झन् झन् अस्थिर, जटिल, अव्यवस्थित, अन्योलग्रस्त र अराजक बनाउँदै लगेको छ । त्यही क्रममा 'उच्चार्य वर्णमाला' बाट दर्जन भन्दा बढी वर्ण (र तिनको ध्वनि÷उच्चारण) समाप्त पार्ने प्रपञ्च चलाएको छ । भएको सम्पत्तिमा थप्न नसके पनि जोगाउनु त पर्छ; यहाँ त गुमाएर बहादुर बन्ने प्रवृत्ति मौलाएको छ ।
२. औपनिवेशिक अहंकारले अरूको भाषाका शब्दलाई बिगारेर प्रयोग गर्ने 'भाषा' हरू पनि अब आफ्नो गल्ती महसूस गरेर तिनको शुद्ध रूप (उच्चारण र हिज्जे दुवैमा) लाई अँगाल्ने बाटोमा अघि बढेका छन् । बिगारिएका शब्दहरू मूल रूपमा फर्कंदैछन् ।
छिमेकमै बम्बई मुम्बई बनेको छ, कलकत्ता कोलकाता भएको छ, पेकिङ बेइजिङ बनेको छ । 'नैपाली' भन्नेहरू शुद्ध उच्चारणका साथ हामीलाई 'नेपाली' भनिरहेका र लेखिरहेका छन् । नेपाली भाषालाई भने छँदाखाँदाका, सर्वप्रचलित सही रूपलाई बिगारेर विकृत रूप प्रयोग गर्न विवश तुल्याइएको छ । यो भाषाबाट भाषिकातर्फको यात्रा हो ।
३. यसले नेपाल र भारतको नेपाली भाषालाई एक–अर्काका लागि बिरानो बनाइदिने बाटो पक्रेको छ । नेपालको नेपाली भाषाले मानकता गुमाएको ठहर गरेर भारतीय नेपालीहरू छुट्टै आधिकारिक नेपाली शब्दकोश बनाउने उपक्रममा जुटेका छन् । संसारभरि एक प्रकारले लेखिने शब्दहरू नेपालभित्र, त्यो पनि सीमित क्षेत्रमा अर्को प्रकारले लेख्न लगाएर भाषालाई फक्रने–फैलने होइन, साँगुरो घेरामा खुम्चिंदै जाने परिस्थितितर्फ धकेलेको छ ।
४. 'नेपालीमा पातलो स र ह्रस्व मात्र हुन्छ' भनिएका कारण संस्कृतबाट आएका तत्सम शब्दहरूको पनि अनुहार फेरिंदै गएको छ । श्रोता, शून्य, शिल्प, मयूर, नवीन, अनशन जस्ता शब्द स्रोता, सुन्य, सिल्प, मयुर, नविन, अनसनमा बदलिंदै गएका छन् । स्तूप, जीवन, पूरक, शिशिर, शारदा, निर्देशन जस्ता शब्द स्तुप, जिवन, पुरक, सिसिर, सारदा, निर्देसन लेखिन थालेका छन् । कुन शब्द कुन भाषाबाट आएको हो भन्ने कण्ठ पारेको हुन्छ र प्रयोगकर्ताले ?
५. संयुक्त अक्षरलाई खुट्टा काटेर लेख्ने आदेशले लेखाइ भद्दा र विरूप त बनाएकै छ, देवनागरी लिपिको अक्षरात्मक चरित्रमाथि पनि आघात पुर्याएको छ । यसले अन्ततः स्वर र व्यञ्जनलाई पनि छुट्याएर लेख्नुपर्ने कुतर्कलाई प्रोत्साहित गर्दै देवनागरीको ठाउँमा रोमन लिपिलाई प्रतिस्थापित गर्ने सम्भावना टडकारो बन्दै गएको छ ।
६. हिमाल, पहाड, तराईका विभिन्न भाषाबाट नेपालीमा आएका र आउने शब्दहरूको पनि हिज्जे परिवर्तन गरेर तिनको मूल रूपलाई अशुद्ध वा स्तरहीन ठहर गर्ने सामन्ती उन्मादले सबै राष्ट्रिय भाषाभाषीहरूमा नेपाली भाषाप्रति मनोवैज्ञानिक दूरी र पृथकताको भावना बढाउन सघाउ पुर्याएको छ ।
७. रमाइलो, तर गम्भीर कुरा के भने, हिज्जे बिगार्ने र निरन्तर बिगार्दै जाने यस कुचक्रले 'म शुद्ध नेपाली लेख्न सक्छु' भन्न सक्ने नेपालीको संख्यालाई एक प्रतिशत भन्दा कममा झारेको छ । हाम्रा सबै विद्वान र साहित्यकारहरू, जसले नेपाली वाङ्मयलाई यो उँचाइमा पुर्याए, शुद्ध हिज्जे लेख्न नजान्ने ठहरिएका छन् । यो भाषालाई उँभो लगाउने लक्षण हो कि उँधो लगाउने ?
अनधिकार चेष्टा
शुरूमा भनिएझैं, भाषा यसका प्रयोगकर्ताले निर्माण गर्छन् र यसको परिवर्तन पनि लोकव्यवहारबाटै अनायास हुँदै जान्छ । भाषाशास्त्रीको काम भाषाको अध्ययन गर्नु हो । व्याकरणकारको काम प्रचलित भाषामा लुकेका नियमको पहिचान गरेर तिनलाई लिपिबद्ध गर्नु र तदनुरूप शब्दको व्युत्पत्ति केलाउनु हो ।
शिक्षक–प्राध्यापकको काम निर्धारित पाठ्यवस्तु निर्धारित प्रक्रिया अनुरूप पढाउनु हो । यीमध्ये कसैलाई पनि, एक्लै वा संयुक्त रूपमा, भाषामाथि हस्तक्षेप गर्ने अधिकार हुँदैन । राज्यका सर्वशक्तिसम्पन्न निकायलाई पनि यो अधिकार कहिल्यै हुँदैन । तसर्थ, हिज्जेका नाममा जे जति हस्तक्षेप भएका छन्, ती सबै पूर्णतः अनधिकृत कार्य हुन् । त्यसैले तिनका बारेमा, तिनको औचित्य वा अनौचित्यका बारेमा छलफल गर्नुको कुनै औचित्य छैन ।
यस आलेखको उद्देश्य पनि यो समग्र प्रक्रिया र त्यसका विविध पक्षबारे जानकारी सम्प्रेषित गर्नु मात्र हो, त्यसबारे छलफल गर्नु होइन । जुन कार्य स्वतः अनधिकृत छ, त्यो जसले गरे पनि स्वतः बदरभागी हुन्छ । त्यसैले, नेपाली भाषामाथि हिज्जेका नाममा गरिएका उपर्युक्त हस्तक्षेपहरू विना कुनै तर्क, वितर्क वा कुतर्क स्वतः फिर्ता हुनुपर्छ । नेपाली भाषा र हिज्जेका बारेमा छलफल त्यसपछि मात्र चल्नु उपयुक्त हुन्छ । साँच्चै भन्ने हो भने, त्यसपछि शायद छलफलको आवश्यकतै पर्नेछैन, किनभने नेपाली भाषामा र यसको हिज्जेमा वस्तुतः कुनै समस्या नै छैन । जति समस्या छन्, ती अनधिकृत हस्तक्षेपले निम्त्याएका समस्या मात्र हुन् ।
अन्त्यमा, प्रा. बालकृष्ण पोखरेलको शुरूमै उद्धृत अन्तर्वार्ताको यो अंशः
'व्याकरण र वर्णविन्यास छोटो समयमा परिवर्तन गरिरहने हो भने यसले भाषालाई अस्थिर र अस्पष्ट बनाउनेछ । यो परिवर्तन हुन पहिले जनजीवनमा परिवर्तनलाई राम्रोसँग भिजिसक्न दिनुपर्छ ।...नेपाली भाषा परिपक्व र वैज्ञानिक छ । यसमा नियम र परिवर्तन थोपरिनु हुँदैन ।'