सम्बन्धको सकस
सम्बन्धको सकसबारे कुरा हुँदै थियो । कुरैकुरामा एकजना साथीले बडो घतलाग्दो कुरा भन्नुभयो, 'मान्छेहरू आई लभ चिकन भन्छन् र चिकनलाई काटकुट गरेर, रोस्ट गरेर खान्छन् । मान्छेहरू आई लभ बर्ड भन्छन् र सुगालाई पिँजडामा थुनेर हेर्न मन पराउँछन् । आफूले प्रेम गरेको हर कुरा आँखैसामु देख्न जो चाहन्छन् । मान्छेले मान्छेलाई भन्ने 'आई लभ यु'मा पनि सो वा सो सरहकै कुरा लागू हुन्छ ।'
सरसर्ती हेर्दा उहाँको कुरा व्यक्तिगतस्तरको स्वभावजन्य कुरा लाग्छ । समाजशास्त्रीय आँखाले हेर्दा वर्तमान नेपाली समाज त्यही 'आई लभ चिकन'वाला मनोविज्ञानको बाटो हुँदै गुज्रँदैछ । यहाँ एकपछि अर्को दुर्घटना सम्बन्धको गाँठो फुस्किएर होइन, सम्बन्धको गाँठो सुल्झाउनै नसक्ने गरी जेलिएका कारण भइरहेछन् ।
मृत्युले त मार्छ एकपटक, सम्बन्धको सकस यस्तो कुरा हो जसले न मर्न अनुमति दिन्छ, न बाँच्न नै । सम्बन्धको सकसको डरलाग्दो आँधीहुरी मभित्र पनि चल्थ्यो कुनै बेला । नगण्य रूपमा धेरथोर चल्छ अझै पनि । अहिले भने मेरो मनमस्तिष्कमा फनफनी घुमिरहेका केही सम्बन्धको चित्र अनावरण गर्छु ।
चित्र नं. १
कोरियामा ब्वाइफ्रेन्ड भएकी एकजना साथी छिन् । उनी हरेक रात ७ बजेदेखि १० बजेसम्म स्काइपमा आफ्नो ब्वाइफ्रेन्डसँग कुरा गर्न उपस्थित हुनैपर्छ । एक दिन मात्रै नेटको कारणले वा अन्य कारणले कुरा गर्न नसके उता उसको ब्वाइफ्रेन्ड रनाहामा पर्छ र उसको अवस्था बौलाहाको जस्तो हुन्छ । साथीले कुरैकुरामा भनिन्, 'तीन वर्षमा एकपटक नेपाल आउँछ, तर यहाँ नबसीकनै मेरो जीवन नर्क बनाइदिएको छ उसले । छोडूँ भने भावावेशमा आत्महत्या गर्ला कि भन्ने डर, नछोडूँ भने कुनै पनि साँझ कतै जमघट, यात्रा वा पार्टीहरूमा जानै नसकिने गरी कैदी भएकी छु ।'
मैले सोधेँ उनलाई, के यही प्रेम हो त ? उनले बाँचिरहेको जीवनजस्तै उसको जवाफ पनि अलमलस्तरकै थियो, 'प्रेम होइन भनूँ भने विगत पाँच वर्षदेखि प्रेममा छु । हरेक दिन ऊ मलाई प्रेम गर्छु भन्छ र म पनि प्रेम गर्छु भन्छु । तर, प्रेम हो भनूँ भने मेरो व्यक्तिगत स्वतन्त्रता पूरै गुमाएर हर रात ७ बजेदेखि १० बजेसम्म स्काइपमा उपस्थित हुनैपर्ने रुटिनमा चल्ने कठपुतलीजस्तो भएकी छु ।' उनको विवशता घनश्याम खड्काको उपन्यास 'निर्वाण'मा वर्णित कथनभन्दा कुनै पनि अर्थमा फरक लाग्दैन, 'प्रेमको नाममा जति सकस भोग्नुपर्छ मान्छेले, सायद त्यति सकस त घृणाको नाममा पनि भोग्नु पर्दैन ।'
चित्र नं. २
कविता लेख्ने एकजना कवि दाजु हुनुहुन्छ । केही वर्षअगाडि प्रेमविवाह गर्नुभयो । सुरुका दिनमा खुसी नै देखिनुहुन्थ्यो । भावुक हृदय न हो, सुनका थैला हातका मैला के गर्नु धनले भन्दै आत्मस्वाभिमान गुमाएर कहीँकतै काममा अडिनुभएन । आफैंलाई गुमाएर पैसा संकलन गर्नभन्दा आफैंलाई पाएर थोरै तलबमा काम गर्ने बाटोमा खुसीखुसी हिँड्नु भो उहाँ । तर, उहाँको त्यही खुसी उहाँकी श्रीमतीको दुःखको कारण बन्दै गयो ।
झन् त्यहीमाथि साहित्यिक कार्यक्रमहरूमा लोग्ने हिँड्न थालेपछि त के चाहियो र ? कवि, कविता र किताबहरू भन्नासाथ ती भाउजूमा सौतेनी ग्रन्थीले ग्रसित रस उत्पादन हुन थालिहाल्यो । पछिपछि उहाँको लेखनलाई लिएर पत्नीमा यति धेरै चिडचिडाहपन देखिन थाल्यो- उहाँको कविताको डायरी जलाउनेदेखि लिएर ल्यापटपमा रहेका सबै कविता डिलिट गरेर फाल्ने काम गर्नु भो भाउजूले । त्यतिमात्र भए त हुन्थ्यो नि, कामको सिलसिलामा दाइ दूरदराजमा गएका बेला कोठा सर्दा झन्झट भो भनेर वर्षौंदेखि दाइले संकलन गरेका किताबहरू कवाडीलाई बेचिदिनुभएछ । अभावमा पनि बडो सोख र रहरले किनिएका स्वदेशी तथा विदेशी लेखकका ती किताबहरू । एक दिन कुरैकुरामा तिनै किताबहरू सम्झेर आँखाभरि आँसु पार्दै दाइले हिक्कहिक्क गर्नुभो ।
'यति हुँदा पनि किन सँगै त नि दाइ ? ', उहाँको जवाफ थियो, 'नेपालको कानुनले पत्नीले अनुमति नदिएसम्म सम्बन्धबिछोडको अनुमति दिँदैन । त्यहीमाथि छोरी छे । छोरीको कारणले पनि सँगै बस्न बाध्य छु ।' सम्बन्धका नाममा कोही कसरी कुन हदसम्म सहिद हुनसक्छ ? तिनै दाइलाई हेरेर थाहा पाएकी हुँ मैले ।
चित्र नं. ३
हामी सानो छँदा छिमेकमा एकजना किसान दिदी हुनुहुन्थ्यो । उहाँको लोग्ने नजिकैको गाउँको स्कुलको प्राथमिक तहको शिक्षक । हामीले सुनेअनुसार ती दिदी र भिनाजुको बोलचाल बन्द भएको वर्षौं भइसकेथ्यो । स्वयं उनकै छोरी पनि त्यसको पुष्टि गर्दै हाम्रा माझमा के–के के–के सुनाइरहन्थिन् । छरछिमेकमा अरू पनि उनीहरूबीच बोलचाल नहुने कुरा साइसुइ गरिरहन्थे । केही नभनी नहुने छ भने बच्चाका माध्यमबाट बोल्दा रहेछन् उनीहरू । घरमा सुत्दा पनि एउटै कोठामा सुत्दैनन् भन्थी उनकी छोरी । स्वयं छोराछोरीका निम्ति पनि आफ्ना बाबुआमाको सम्बन्ध कुनै भीमकाय रहस्यको पोको भन्दा कम थिएन ।
न कहिल्यै बोल्नु, न कहिल्यै सँगै हिँड्नु । न दुःखसुख सेयर गर्नु, न कहिल्यै कतै सँगै घुम्न जानु । न मनपरी गाली गर्नु रिसको झोँकमा । न झगडापछि प्रेमले पानीपानी भएर एकले अर्कोलाई अँगाल्नु । सधैंको एकनासको चिसोपन, सधैंको एकनासको मुर्दा मौनता । वैवाहिक जीवन चलाउनै नपर्ने, आफँं चलेजस्तो यन्त्रवत् । जस्तै खिया लागेर पाटपुर्जाहरू बेकामे हुँदा पनि कताकता के–के काम चँै गरिरहने । शुष्क तर निरन्तर अल्झाइरहने अल्झाइजस्तो केही ।
एउटै घरभित्र बस्ने दुई प्राणी तर बोल्ती बन्द छ । एउटै घरभित्र बस्ने दुई मनको बीचमा प्रत्येक पल असमानता र असमझदारीको कतिकति भंगालो छुट्दो हो ? त्यसको सहजै अनुमान गर्न सक्छौं हामी । तर अनुमान गर्न नसकिने अर्को सत्य के भने प्रत्येक वर्षजसो ती दिदी गर्भवती हुन्थिन् र बच्चा जन्माउँथिन् । बोल्दै नबोल्ने चिसो सम्बन्धमा पनि बच्चाहरूचाहिँ कसरी भटाभट जन्मन्छन् ?
सम्बन्धका बाँकी सबै पक्ष मरेर यौनमात्र बाँकी हुँदा पनि चल्छ सायद वैवाहिक जीवन । आजपर्यन्त जब ती छिमेकी दिदीका चिसा आँखाहरू सम्झन्छु, शरीर र मनबीचमा चल्ने त्यो आँधीहुरीको कल्पनाले मात्रै पनि मन सिरिंग भएर आउँछ । ती भिनाजुको भोगाइ पनि नारकीय नै थियो होला पक्कै । प्रत्येक सहवासपछिको मनस्थिति कति बिथोलिएको हुँदो हो ! केही मिनेटको शरीरको भोक मेटाइसकेपछि आउने ग्लानिको डकार कति अमिलो हुँदो हो !!
अटेरी शरीर, अर्कोपटक भोकको निम्ति तयार भइसक्दा फेरि अघिल्लोपटकको सबै कुरा बिर्सेर सामुन्ने मासुको थुप्रोमात्र देख्दो हो । पुरुषले महिला मासुको थुप्रो, महिलाले पुरुष मासुको थुप्रो । फगत मासुको थुप्रोसँग मासुको थुप्रोसँगको मात्र सम्बन्ध ।
त्यो त एक प्रतिनिधि कथा थियो बचपनमा मैले आफ्नै छिमेकमा देखेको, आफ्नै आँखाले देखेको । क्षणभरको यौनमा मात्र टिकेको वैवाहिक सम्बन्ध आज पनि कति छन् कति यहाँ !
...
राधाकृष्णलाई पूजा गर्ने तर आज पनि प्रेमलाई बर्जित विषय मान्ने आफू बाँचिरहेको समाजको सन्दर्भमा मैले फेसबुकमा लेखेको कुनै एउटा स्टाटसमा लेखक तथा समालोचन डा.नेत्र एटमको एउटा कमेन्ट बडो गज्जबको लागेथ्यो । उहाँले लेख्नुभएको थियो, 'समाजको मनोविज्ञानभन्दा व्यक्तिको मनोविज्ञान अक्सर जहिले पनि एक कदम अगाडि हुन्छ । समाजको मनोविज्ञानअनुसार खुम्चिएर बाँच्ने कि आफूले आफ्नै तरिकाले खुलेर बाँच्दै नयाँ बचाइको मानक निमार्ण गर्ने ? त्यो व्यक्तिव्यक्तिमा भर पर्छ ।'
हुन पनि हो, आजको प्लस टु पुस्ताकै कुरा गर्ने हो भने ल्यापटप, ट्याब वा मोबाइलको माध्यमबाट उनीहरूले बाँचिरहेको जिन्दगीको स्वछन्दता कतिपय अवस्थामा कल्पनातीतजस्तो लाग्छ । फेसबुक र ट्विटरका भित्ताहरूमा खुल्लमखुल्ला 'आई लभ यु' भन्नु 'हेल्लो, हाय' भन्नुजस्तै सामान्य बोली लाग्न थालिसक्यो । सँगैसँगै कतै घुम्न जाँदाको अन्तरंग क्षणको तस्बिर पोस्ट गर्नु भर्चुअल दुनियाँको निम्ति अब नौलो कुरा रहेन । फेरि त्यही युवक वा युवती जब ट्याब वा मोबाइल बन्द गररे भर्चुअल दुनियाँबाट यथार्थको दुनियाँमा पदार्पण गर्छ, उसको आफ्नो घरको भित्ता परम्परागत नै पाउँछ । घरको सिलिङ, भुइँ, बार्दली, दलिन आदि सबैसबैको भाषा परम्परागत नै हुन्छ । घरका हर सदस्यले बोल्ने बोली पनि परम्परागत नै हुन्छ ।
उता छोरा भर्चुअल दुनियाँमा क्रिस्टिन स्टेवार्ट वा सेलेना गोमेजको जस्तो अदा भएकी प्रेमिका पाएकोमा मक्ख पर्दै अत्याधुनिक हुनुको प्रमाण पेस गर्छ, इन्स्ट्राग्राममा आफ्नी प्रेमिकाको फोटो पोस्ट गर्दै । यता बाबुआमालाई अहिले पनि कुर्तासुरुवालमा सजिएकी र लज्जावती भारझैं लजाइबस्ने बुहारीको पर्खाइ छ भन्ने पनि उसलाई थाहा हुन्छ ।
उता छोरी पोर्क बारबाक्यु पार्टीमा फ्रेन्च वाइनको मज्जा लिन्छे, उता बाबुआमा आज पनि बाहुनले सुँगुर हुनु हुँदैन भन्ने कट्टर मान्यतामा विश्वास गर्छन् ।
शंका लाग्छ, व्यक्तिको मनोविज्ञान र समाजको मनोविज्ञानबीचको यो खाडलमा बसेर श्वास फेर्नुको नाममा फगत निश्वासमात्र फेरिरहेका त छैनौं हामी ?
...
कवि मनोज बोगटीले 'काफ रे अमेरिका' भन्दै डरपोक अमेरिकाको राजनीतिक चिरफार भयंकर डरलाग्दो र विद्रुप तरिकाले गरेका छन् । यसअघि नै एलेन गिन्सवर्गले अमेरिकाको साम्राज्यवादी आँखाहरूको एक्स रे गर्दै तेजाबी कविता लेखेर संसार नै हल्लाइदिएका थिए । नाजिम हिक्मत वा मोहम्मद दर्विस पनि कम छैनन् यस सवालमा । अमेरिकासँग कहाँ राजनीतिक डरमात्र छ र ? उसलाई त अराजनीतिक विचारकहरूसँग पनि डर लाग्छ । नत्र रजनिशजस्तो विचारकलाई लखेट्नुको ध्येय के ?
अमेरिका रजनिशसँग डराएको होइन, सम्बन्धको समाजशास्त्रलाई लिएर रजनिशले गर्ने व्याख्यासँग डराएको हो । अमेरिका रजनिशसँग डराएको होइन, सम्बन्धको सकसलाई लिएर उनले दिएका तर्क र प्रमाणहरूसँग डराएको हो । ती सकसहरूबाट निस्केर कसरी खुला हावामा सास फेर्ने ? कसरी पाखण्डका पत्रहरू च्यातेर प्राकृतिक लयमा बाँच्ने ? स्वछन्दताको त्यो ध्वनिसँग डराएको हो । सकसमा त जस्तोसुकै राम्रो विचारको बीउ पनि रोगाउँछ । विचारको बीउ रोगाएपछि मान्छे रोगी हुन्छ । रोगी मान्छेमाथि पो शासन गर्न र नियन्त्रण गर्न सजिलो हुन्छ ।
हाम्रै देशमा पनि प्रेम र सम्बन्धलाई अराजनीतिक र झिनामसिना ठानेर बर्जित गरिँदा कहाँकहाँ के के बर्जित भइरहेछन् ? यसतर्फ सायदै हामीले कहिल्यै सोच्ने जरुरी सम्झेनौं ।
जन्मँदा एक्लै जन्मिए पनि जन्मिसकेपछि मान्छे कहिल्यै एक्लो रहिरहन सक्दैन । यतिसम्म कि, एकल जीवन बाँचिरहेका भनिएकाहरू पनि कतै न कतै कुनै न कुनै सम्बन्धको धागोमा उनिएकै हुन्छन्, चाहे त्यो सन्तानप्रेमको सन्दर्भमा होस् वा भ्रातृत्वप्रेम वा अन्यअन्य । सम्बन्धको यस प्रकारको मनोविज्ञानलाई सम्बोधन नगरी समद्ध समाजको कल्पना अब कोरा कल्पनामात्र हुनसक्छ । सम्बन्ध–सम्बन्ध बीचको सम्बन्धलाई बेवास्ता गरेर समाजको चौतर्फी विकासको कल्पना पूर्ण कल्पना हुनै सक्दैन ।
आफ्नै घरभित्र कुण्ठा र निराशाको गाँस टिपेर हिँडेको कुनै नेताको नेतृत्व कसरी स्वस्थकर हुनसक्छ ? आफ्नो पैतालामै फोहोर छ भने बाटोमात्र सफा गरेर बस्ती कहाँ सफा हुन्छ ? मुलुक कसरी सफा हुन्छ ? मूलको पानी नै सफा नगरी धाराको पाइप वा टुटी टल्काउँदैमा धाराबाट सफा पानी झर्ने हैन क्यार !
...
अठारौं शताब्दीबाट उदाएको माक्र्सवादको वर्गसंघर्ष आर्थिक फेनोमेनाहरूको जगमा उभिएको त जगजाहेर नै छ । अठारौं शताब्दीको माक्र्सवाद उन्नाइसौं शताब्दीमा आइपुग्दा समयसापेक्ष परिमार्जित हुँदै नवमाक्र्सवादमा रूपान्तरित हुन पुग्यो । फ्रयांकफट स्कुलका हरबर्ट मारकुज, थेडर एडोरनो हुँदै एन्टेनियो ग्राम्सी, लुकास, एलिक ओलिन राइट जस्ता नवमाक्र्सवादीहरूले माक्र्सवादको दायरालाई अझ फराकिलो बनाए । सामाजिक र व्यक्तिगत स्वतन्त्रता, मनोविज्ञान र मनोवैज्ञानिक एवं सांस्कृतिक संवेदनाहरूको व्याख्या स यसरी आजको नवमाक्र्सवादभित्र सम्बन्धशास्त्रसमेत सहजै अटाउने स्पेस छ । त्यसो त अउनेस्टो लुकलउ, छन्तल मउफी, माइकल हार्ड आदिले प्रतिपादन गरेको उत्तर–माक्र्सवादको कुरा पनि बग्रेल्ती उठिरहेका बेला नवमाक्र्सवाद पनि आफैंमा कति नव रह्यो अब ? ...यो बेग्लै कुरा र चिन्तनको विषय हुनसक्छ ।
अब प्रेम र सम्बन्धजस्ता विषयलाई हल्काफुल्का संवेगात्मक कुरामात्र हुन् भनेर नयाँ नेपाल वा अन्य कुनै पनि नयाँ राष्ट्र निमार्णको परिकल्पना गर्ने परिकल्पनाकार उम्कन पाउँदैन ।
सम्बन्धको मनोविज्ञानले एउटा परिवारको मनोविज्ञान निर्धारण गर्छ । परिवार परिवारको मनोविज्ञानले एउटा छिमेक वा टोलको मनोविज्ञान निधारण गर्छ । छिमेक र टोलहरूको एकमुष्ठ मनोविज्ञानले राष्ट्रको मनोविज्ञान तय गर्छ । यस्तोमा आफूलाई एकदमै क्रान्तिकारी दाबी गर्ने केही नेता तथा लेखकले प्रेम र सम्बन्धको कुरालाई हावादारी वा सस्तो कुरा मान्नु मलाई जहिल्यै अपाच्य लाग्छ ।
विकासको पछिल्लो सूचकांकले मानवीय खुसीलाई समेत एउटा सूचकांक मानिसकेको अवस्था छ । यस्तोमा समाजको विकास गर्छु भन्नेहरूले मानवीय सम्बन्ध र सम्बन्धका जटिलताजस्ता प्राथमिक कुरालाई गैरराजनीतिक वा गैरआर्थिक भनेर आँखा चिम्लनु कदाचित् मनासिब लाग्दैन ।
प्रेम गर्नु वा सम्बन्ध गाँस्नु रत्नपार्कमा घाम ताप्दै नशालु आँखामा आँखा जुधाएर बदाम खानुको दायराभन्दा धेरै माथि हुन्छ । डेटिङ जाने, रमाइलो गर्ने, छिल्लिने, जिस्किने, चिमोट्ने, टोक्ने- यी त सब प्रेमका कच्चा अवधारणा हुन् । यिनै कच्चा अवधारणालाई प्रेमको मानक सम्झेर प्रेम र सम्बन्धको वास्तविक गहिराइलाई हेयकर आँखाले हेर्नु न्यायसंगत हेराइ हुँदै होइन । मानिसलाई सामाजिक प्राणी भन्दै समाजको व्याख्या गरिरहँदा मानिससँगै जोडिएका प्रेम र सम्बन्धहरूको समाजशास्त्रीय व्याख्या हुन पनि जरुरी हुन्छ । यस्तो व्याख्याको अभावमा पनि समाज वा व्यवस्था त चल्छ, तर खोच्याङ्खोच्याङ् गर्दै लंगडो भएर चल्छ !
राजनीतिक जटिलताहरूको बीचमा राजनीतिक सकस । आर्थिक जटिलताहरूको बीचमा आर्थिक सकस । सांस्कृतिक जटितलाहरूको बीचमा सांस्कृतिक सकस । सम्बन्धका जटिलताहरूको बीचमा सम्बन्धकै सकस ।
भन्न त भनिन्छ- दार्शनिक दृष्टिले अहिलेको समय भनेकोे कुनै पनि कुराको अर्थ खोज्ने समय होइन, अर्थको पनि अर्थ खोज्ने समय हो । यस्तोमा प्रेम र सम्बन्धको अर्थको पनि अर्थ खोज्नु त कहिले हो, कहिले ? फगत अर्थको छेउछाउमा पुग्न मात्र सकियो भने पनि धेरै खाले उकुसमुकुसबाट स्वतः मुक्ति मिल्ने थियो ।
सम्बन्ध त स्वतन्त्रताको किनारैकिनार हिँड्नुपर्ने । यहाँ त बन्धन र बाध्यताको पर्याय भइदिएको छ अधिकांश सम्बन्ध । हकदाबी गर्ने र लगाम लगाउने लिखित, अलिखित प्रमाणपत्र भइदिएको छ सम्बन्ध । दिनदिनै घरमा झगडा गरेर केवल छिमेकीको मुख टाल्न फेसबुकमा पोस्ट गरिने युगल फोटोजस्तो चर्को मजाक भइदिएको छ सम्बन्ध । भित्र सकस छ तर बाहिर सकस छैन भनेर देखाउनुपर्ने ढोंग वा पाखण्ड–पर्व भइदिएको छ सम्बन्ध ।
स्वीकार गरे पनि नगरे पनि अहिलेको नेपाली समाज अनेकन् सकसहरूको बीचोबीच गुज्रँदैछ । यस्तोका कानमा आएर प्रियतम्ले 'आई लभ यु' भन्दा 'आई लभ चिकन' भन्ने सुनेर तर्सने प्रेमिका म आफैं पनि हुनसक्छु वा तपाईं पनि !
सोचिल्याउँदा साँच्चै नै झसंग हुन्छु- कतै हामी पनि कसैलाई आई लभ यु भन्दै आनन्द मानीमानी उसैलाई रोस्ट वा ग्रिल गरेर खाइरहेका त छैनौं कुपुकुपु ?