'नेपाली लोकभाका विश्वभरमै अलग'
स्कटल्यान्डको एडेनब्रामा गत अगस्ट महिनामा संसारभरका सेनाका ब्यान्डहरू भेटिन्थे । 'ट्याटु ब्यान्ड पर्फमेन्स' नाम दिइएको फेस्टिभलमा सहभागी हुन संसारभरका आर्मी ब्यान्ड त्यहाँ उपस्थित थिए । यो फेस्टिभलमा पहिलोपटक निम्तो पाएको नेपाली सैनिक ब्यान्डले उत्कृष्ट छाप बनाएर आएको ५ । प्रमुख सेनानी अमुल कार्की ढलीको नेतृत्वमा गएको नेपाली सेनाको सैनिक ब्यान्ड 'वान अफ द वेस्ट' ब्यान्डका रूपमा चिनिन सफल भयो । फेस्टिभलमा सहभागी हुन ५० जनाको नेपाली सैनिक ब्यान्डको टोली २४ जुलाईमा बेलायत प्रस्थान गरेको थियो ।
प्रमुख सेनानी कार्कीलाई उनको कार्यालय सैनिक मुख्यालयमा मैले के कारणले नेपाली सैनिक ब्यान्ड उत्कृष्ट बन्न सफल भयो भनेर सोधेको थिएँ । उनको विचारमा नेपाली सैनिक ब्यान्डको संगीतमा भएको माधुर्यले नै पहिलो सहभागितामै उत्कृष्ट छाप पार्न सफल भएको हो । कार्की भन्छन्, 'त्यहाँ जोर्डन, अमेरिकन, न्युजिल्यान्ड, नर्वे, क्यानडा, यूकेको नौवटा ब्यान्ड र नेपाललगायतका देशका प्रतिनिधी सहभागी थिए । तर, नेपाल अरूभन्दा भिन्न थियो । उनीहरूको अमेरिकी र बेलायती ट्युन मिल्दोजुल्दो देखियो । हामीले सांस्कृतिक विविधता देखायौं । हाम्रा लोकभाकाहरू विश्वभरमा अलग छ । त्यसैले हाम्रो प्रस्तुती राम्रो मानियो ।'
कार्कीका अनुसार नेपाली सैनिक ब्यान्डले नेपालको संस्कृति र इतिहास झल्किने प्रस्तुति देखायो । 'हामीले कम समयमा नै धेरै प्रस्तुति दियौं', कार्कीले भने, 'तर अरूको भन्दा भिन्न ।'
फेस्टिभलमा नेपाली सैनिक ब्यान्डको प्रस्तुतिका क्रममा सुरुमा महिला टिमले सारंगी बजायो । त्यसपछि पन्चेबाजाको धुनसँगै अभिनय सुरु भयो । एउटा सोको लागि पाँचदेखि ६ मिनेट समय दिइएको थियो । त्यतिन्जेलमा खुकुरी नाचलगायतका नाच प्रस्तुत भए भने 'जंगी निशान हाम्रो', 'जय जय जय नेपाल, जय जन्म भूमि जय पुण्य भूमि'लगायतका गीत प्रस्तुत भए ।
अन्त्यमा 'यो नेपाली शिर उचाली' गीतमा अभिनयसँगै प्रस्तुति समापन गर्यो । नेपाली सैनिक ब्यान्डले सर्वोच्च शिखर सगरमाथामा मानव पाइला राखेको ६० वर्ष पुगेको उपलक्ष्यमा सगरमाथा चढेको अभिनयसमेत प्रस्तुत गरेको थियो । रातको पौने १० बजे सुरु हुने कार्यक्रममा रंगीबिरंगी प्रकाशले जाज्वल्यमान त्यो क्षण सम्झँदै कार्कीले सुनाए, 'सेनाले प्रस्तुति गरिरहँदा करिब नौ हजार दर्शकले एकोहोरो ताली बजाए । त्यो विशेष सम्मान थियो ।'
के थियो फेस्टिभल ?
'ट्याटु ब्यान्ड पर्फमेन्स' नाम दिइएको फेस्टिभल धेरैभन्दा धेरै सैनिक ब्यान्ड एकैपटक प्रस्तुत गर्ने महोत्सव हो । प्रत्येक वर्ष बेलायती सेनाले यसको आयोजना गर्छ । यसमा यसपटक नेपाली सेना पनि सहभागी हुन पायो । ब्रिटिस सेनाले आयोजना गर्ने यस कार्यक्रममा नेपाली सेनाका ब्यान्डलाई प्रस्तुति गर्ने अवसर निमन्त्रणा पठाइएको थियो ।
यो फेस्टिभलको सुरुआत बेलायतबाटै भएको हो । धेरै वर्षपहिला एउटा सांगीतिक कार्यक्रममा ब्यान्डहरूले एकएक गरी आफ्नो कला प्रस्तुत गरेका थिए। तर, सामूहिक प्रस्तुति गर्दा एकरूपता नआएपछि सबैलाई एकै ठाउँमा प्रस्तुत गर्न लगाइएको थियो । सुरुमा एकएकले प्रस्तुति गरे पनि अन्त्यमा सबैले एकैपटक प्रस्तुति गर्ने परम्परा नै ट्याटु ब्यान्डको नामले चिनियो । सन् १९५० मा पहिलो आधिकारिक ट्याटु ब्यान्ड फेस्टिभल भएको थियो ।
बेलायतका हाई प्रोफाइलका मानिसहरू उपस्थित हुने यस कार्यक्रमको टिकट एक वर्षपहिले नै बिक्री भइसक्ने कार्कीले बताए । उनले नेपालको प्रस्तुति भइँरहँदा जोर्डन र साउदीका राजाले प्रत्यक्ष अवलोकन गरिरहेको बताए ।
कसरी भयो सहभागिता
कार्कीका अनुसार बेलाबखत नेपाल आउने सैनिक अधिकारीहरूले नेपाली सेनाको सांगीतिक प्रस्तुति मन पराउँथे । त्यसैले उनीहरूले नेपाललाई पनि यो फेस्टिभलमा सहभागी गराउने सोचे । सहभागिता सुनिश्चित गर्नुपूर्व 'डाइरेक्टर अफ म्युजिक'को पाँचजनाको टोली नेपाल आएर नेपाली सेनाको प्रस्तुति अवलोकन गरेपछि नेपाललाई सहभागिताको स्वीकृति दिएको थियो ।
एडेनब्राको रंगशालामा सहभागी हुने मुलुकको झन्डा स्थायी रूपमै त्यहाँ राखिने चलनअनुसार अहिले नेपालको झन्डा फरफराउन थालिसकेको छ ।
फेस्टिभलमा सहभागी हुँदाको अनुभव कार्कीले निकै प्रसन्नतापूर्वक सुनाए, 'तीस दिनसम्म निरन्तर चल्ने यो कार्यक्रममा प्रत्येकपटक करिब नौ हजार दर्शक हुन्थे । आइतबार एक दिन बिदा हुन्थ्यो, शनिबार दुईवटा सो हुन्थ्यो । कार्यक्रममा एउटै प्रस्तुति दोहोर्याइन्थ्यो । आइतबार सबैभन्दा उत्कृष्ट ब्यान्डलाई सहरदेखि टाढा प्रस्तुति गर्न लगिन्थ्यो ।
नेपालले फरक पहिचान बनाएकै कारण अन्य सहरबाहिरका सामान्य मानिसकहाँ पनि प्रस्तुति गर्ने मौका मिल्यो । फरक भूमिको फरक स्थानमा नेपाली म्युजिकको पहिचान छोडियो । लगभग दुई लाख मानिसले नेपाली संस्कृतिबारे थाहा पाए । नेपाली संगीतको फरक स्वाद सिंगो विश्वले थाहा पायो ।'
सैनिक प्रवक्ता, सहायक रथी ताराबहादुर कार्कीले सेनाको एउटा टुकडीले राष्ट्रको लागि नाम राखेर आएकोमा सबैले गर्व गर्नुपर्ने धारणा राखे । भने, 'हामीले नेपालको संगीत विश्वभर चिनाउने मौका पायौं । यो एउटा संस्थाका लागि मात्र हैन, राष्ट्रका लागि गौरवको कुरा हो । यसले नेपाली सेना कलासंगीत र संस्कृति संरक्षणमा कसरी लागेको छ, स्पष्ट बनाउँछ ।'
को हुन् कार्की ढली ?
२०११ साल फागुन ११ गते सातवटा छुट्टै टुकडी मिलाएर बनेको नेपाल सैनिक ब्यान्डको वर्तमान कमान्डर प्रमुख सेनानी अमुल कार्की ढली सुरुदेखि संगीतमा सहभागी छन् । २०३८ सालदेखि सेनामा कार्यरत कार्की म्युजिक लाइनमै काम गरी पदोन्नति हुँदै एक उत्कृष्ट संगीतकारका रूपमा परिचित बनिसकेका छन् ।