छाउ लुकाउने बानी
सन्तोष कुँवर, ३८ । पायल गाविस-५, थापडाकी सामाजिक परिचालिका । अरू लेख्नपढ्न जान्नेले झैं सन्तोष कुँवरले पनि बम्बईमा बसेका श्रीमान्हरूलाई श्रीमतीको तर्फबाट खुब चिठी लेखिन् । श्रीमतीहरूका भावनालाई मिलाएर लेखिदिइन् । जस्तोः
'पूजनीय श्रीमान्ज्युलाई
म श्रीमतीको टाढैबाट भए पनि ढोग छ ।
कुशल छु, कुशल चाहन्छु । हजुर गएको दिनदेखि मेरा आँखा हजुर आउने बाटोमै अड्किएका छन् । हजुर नहुँदा सधैं छाउगोठमा छु जस्तो लाग्छ ... ... ...'
बाँकी गीतबाटैः
पर्भाल मेरा माइती भया नौठान कुँवर
विदेशका फूलबारीभित्र नभुल्नू भँवर (भँमरा)'
गाउँमा एचआईभी एड्स फैलिँदै थियो । बम्बईमा बसेका श्रीमान् कतै त्यस्तोमा फस्ने हुन् कि भन्ने पीर श्रीमतीलाई लागिरहको हुन्थ्यो । गाउँका महिलाले यही चिन्ता समेटेर गीतबाटै श्रीमान्लाई सम्झाउँथे । उनी लेखिदिन्थिन्ः
'रामचन्द्रका साला छैन सीताका भाइ छैन
एचआईभी एड्सको दबाई विश्वमा पाइँदैन'
छाउको पीडालाई पनि चिठीमा लेखिदिन्थिन्ः
'सृष्टिकी जननी हामी आधा संसार हाम्रो
हाम्लाई किन समाजको नजरै नराम्रो'
कहिले त उनी सुटुक्क यस्तो पनि लेखिदिन्थिन्ः
'कुँवरको बैठक बस्न्या जनालीकोटमा
कति महिला बलात्कृत हुन्या छाउपडी गोठमा'
चिठी लेखेर पनि पठाइसकेपछि कहिलेकाहीँ उनी झस्किन्थिन्, कतै उनको लोग्नेले मेरी श्रीमती पनि बलात्कृत त भइन भनेर शंका गर्ने त होइनन् ?
उनलाई लाग्छ, अरू घटनाको खबर बाहिर आउँछ । छाउपडी गोठमा बलात्कृत भएको घटना बाहिर आउँदैन ।
०००
उनी १६ वर्षमा पहिलो पटक छाउ भइन् तर कसैलाई भनिनन् । पहिलोपटक लुकाउँदा खासै डर लागेन । किनभने पहिलो पटकको उस्तो दोष लाग्दैन भन्ने सुनेकी थिइन् । पहिलोपटक छाउ हुँदा धेरै रगत नबग्ने भएकाले लुकाउन पनि सजिलो भयो ।
दोस्रो र तेस्रोपटक भने धेरै रगत बगेकाले साह्रै डर लाग्यो । न उनीसँग प्याड थियो न घरेलु प्याड बनाउन आउँथ्यो । कसैसँग घरेलु प्याड बनाउन सिकौं भने अरूले छाउ भएको थाहा पाइहाल्छन् । झन् बर्बाद हुन्छ । डर र लाज सँगसँगै लागेको थियो ।
धेरै रगत बग्दा उनी खुब डराइन् । लाग्यो, छाउ भएको लुकाएकाले रिसाएर देउताले नै धेरै रगत बगाइदिएका हुन् कि ? एक मन त लाग्यो, बरु सबै कुरा भनेर छाउपडी गोठमा बस्न जाती । तर, भनियो भने स्कुल जान पाइँदैन । छाउपडी गोठ जानुपर्छ । तेल लगाएर कपाल कोर्न पाइँदैन । कपाल नकोरेको र तेल नलगाएको देखेपछि छाउ भएको रहेछ भनेर स्कुलमा सबैले थाहा पाउँछन् । केटाहरूले पनि जिस्क्याउलान् र स्कुलभरि हल्ला चलाइदेलान् भन्ने डर लाग्यो ।
स्कुल जाने बाटोमा भाग्यश्वरको ठूलो मन्दिर थियो । छाउ भएकाले त्यो बाटो हिँड्न मिल्दैनथ्यो । अर्को बाटोमा पीपलको ठूलो रूख थियो । त्यो बाटो पनि हिँड्न पाइँदैनथ्यो । घुमेर अर्कै बिरानोजस्तो बाटो हिँड्नुपथ्र्यो । त्यो बाटो हिँडेपछि सबैले छाउ भएको भनेर चिनिहाल्छन् । त्यसैले छाउ भएर पनि उनलाई त्यो बाटो हिँड्न मन लागेन ।
छाउ भएका केटीहरूलाई केटाहरूले गिज्याउँदै भन्थे, 'ई छाउ भयाकी छन् । इनीहरूभन्दा हामी टाढै बस्नुपर्छ । नत्र हाम्रा देउता रिसाउँदा छन् । हाम्रो पढाइ पनि बिग्डन्छ ।'
उनलाई यी सबै आरोप सहेर अभिषप्त बन्न मन लागेन । त्यसैले उनले छाउ भएको लुकाउने नै निर्णय गरिन् । थाहा दिने हो भने बरु स्कुल नजान नै जाती ।
छाउपडीहरूले बनाएको गीत उनले सुनेकी थिइन्ः
'छाउपडी अलग्गै चिन्नी फुकाएका केश
भँवर डुलेर आउँछ फूल फुलेका देश'
०००
मंसिर महिना । उनी चौथोपटक छाउ भइन् । यसपटक पनि छाउ भएको लुकाउने नै अठोट गरिन् ।
चौथोपटक छाउ भएको चौथै दिन । सधैंझैं स्कुल गइन् । शिक्षक पढाउन आए । अघिपछिभन्दा अनुशासित भएर पढ्न बसिन् । साथीहरू कोही चल्दै थिए, कोही खेल्दै । उनी भने चुपचाप । तर मन मौन थिएन ।
उनलाई तल हुसुक्क भयो, तातो पनि भयो अनि च्यापच्याप जस्तो । के भयो भनेर उठेर हेर्ने आँटसमेत आएन किनभने उनलाई थाहा थियो । रगत धेरै बगेको छ । शिक्षक र साथीहरूले थाहा पाए के होला ? अझ केटा साथीहरूले थाहा पाए के होला ?
उनलाई हुनसम्म लाज र डर लाग्यो । त्यसैले उनी झन् कतै नचलमलाउने भइन् । हाफ छुट्टीमा सबै बाहिर गएको बेला यसो हेरेकी त उनले लगाएको फ्रकको पछाडि र बेन्चीमा रगतैरगत ।
उनी एकदम हतास भइन् र पनि जुक्ति रचिन् । उनीसँग नीलो मसीको डब्बा थियो । त्यही मसी फ्रक र बेन्चीमा लगाइन् । रातो रगत कालो भयो । कसैले देखिहाल्यो भने मसी पोखिएर लुगा र बेन्चीभरि लाग्यो भन्न पाइयोस् भनेर उनले त्यसो गरेकी ।
घन्टी लाग्यो । हाफछुट्टी सकियो । सबै कक्षामा आए । उनी उसरी नै घोप्टो मुन्टो लगाएर कक्षामा बसिरहिन् ।
छुट्टी भएपछि उनी सबै निस्किएपछि निस्किइन् । घर पुगेर खाटमा थचक्क बसिन् । बस्नासाथ फेरि हुलुक्क भयो । यसो उठेर हेरिन् । उसरी नै लफ्रक्कै भिज्ने गरी रगत बगेको रहेछ । यसरी नै रगत बग्ने हो भने त शरीरको रगत नै सकिन्छ होलाजस्तो लाग्यो । झन् डराइन् । लाज घट्यो, डर बढ्यो । मनमा अशान्ति भयो । यस्तो तनाव सहनुभन्दा त बरु आमालाई भन्नु नै जाती भनेर उनले चौथोपटक छाउ भएको चौथो दिनमा आमालाई भनिन्, 'आमा, मुँ छाउ भयाकी छु ।'
त्यसपछि उनले पन्ध्र दिनसम्म छाउपडीगोठमा बस्नुपर्यो ।
गाउँमा मान्छेहरू भन्ने गर्थे, 'पइलो पालो छाउ भयाछि बच्चा भई सोच्नु, पइलो बच्चा भयाछि बूढी भया सोच्नु ।'
१५ दिनसम्म कहिल्यै राम्रोसँग निद्रा लागेन, डर भने नराम्रोसँग लागिरह्यो । छाउपडी गोठमा बस्दा जेल यस्तै हुन्छ होलाजस्तो लाग्यो । तर, यो छाउपडी जेलमा कुन अपराधले बस्नु परेको होला भनेर आफंैलाई धेरैपटक सोधिन् । उत्तर पाइनन् ।
०००
उनको माइतीघर भाग्यश्वर गाविस वडा नम्बर ९ डोटेमा पर्छ । हाल साँफेबगर नगरपालिका वडा नम्बर ९ । ०५१ सालमा उनले एसएलसी पास गरिन् । बुवा बम्बईमा थिए, आमा घरमै । पाँच दिदीबहिनीमध्ये उनी साहिँली ।
०५२ सालमा उनको मागीविवाह भयो तर केटासँग कुरा गरेर । त्यति खेर उनको समाजमा केटासँग कुरा गरेर बिहे गर्नु एकदम नौलो र अनौठो कुरा भयो । उनले भनेकी थिइन्, 'जिन्दगी बिताउने कुरा हो, हेर्नुपर्यो नि केटा । कुरा पनि गर्नुपर्यो । गाईगोरु भए पो मन परेन भने फिर्ता गर्न मिल्छ ।'
बिहेपछि उनका श्रीमान्ले भने, 'यस्तो जवानीको उमेरमा यहाँ नबस । अब सँगै जाने हो उतै । छाउ हुँदा यहाँ गोठमा बस्नुपर्छ । सुरक्षा छैन । छाउपडी गोठमा जो पनि पस्न सक्छ र जे पनि गर्न सक्छ । बलात्कार पनि हुनसक्छ । उहाँ देशमा यस्तो हुँदैन ।'
उनी श्रीमान्सँग बम्बई गइन् । बीकमसम्म पढेका उनका श्रीमान् बम्बईको ताजमहल होटलमा जागिरे छन् । उनका ससुरा पनि ताजमहल होटलमै काम गर्थे ।
उनका दुई छोरा छन् । जेठो छोरो बम्बईमा नै जन्माइन् । अहिले उनी चेन्नईमा चार्टर एकाउन्टेट पढ्दैछन् । सानो छोरो ९ कक्षामा पढ्छन् ।
सुरुमा उनी बम्बई तीनचार वर्ष बसिन् । त्यसपछि आउनेजाने भइरह्यो ।
बम्बईबाट घर फर्केपछि उनलाई चिन्ता पर्यो । छाउ भएको छैन भनेर लुकाऊँ भने सासूससुरा र छिमेकीलाई किन र कुन कारणले छाउ भएन भन्ने, भनौं भने छाउगोठमा बस्नुपर्ने, असुरक्षित भइने । उनका श्रीमान्ले फोनबाटै सिकाए, 'बाआमालाई गर्भनिरोधक सुई लगाएको छु, चारपाँच वर्षसम्म छाउ नै हुँदैन भन्नू । म पनि बाआमालाई यही कुरा भन्छु ।'
सुरुमा त उनले श्रीमान्को कुरा मानिनन् । देउता रिसाउलान् र केही अनिष्ट हुने हो कि भन्ने डर लाग्यो । पछि भने मानिन् ।
०००
०५७ सालदेखि महिला विकासमा सामाजिक परिचालिका भएर काम गर्न थालेपछि धेरै कुरा सिक्न र छाउपडीका बारेमा चेतनाका काम गर्ने अवसर पाइन् । सुरुमै त्यहाँ आधारभूत तालिममा सिकाइयो । एउटा कुरा उनलाई खुब घत पर्यो:
'छोरीलाई पनि न्वारन गर्नुपर्छ
छाउ भएपछि गोठमा हैन घरमा बस्नुपर्छ'
सासूससुराले सोध्दा उनले भनिन्, 'गर्भनिरोधक सुई लगाएको छु । अब मेरो छाउ पनि हुँदैन, बच्चा पनि हुँदैन ।'
विश्वास नलागेर सासूससुराले छोरालाई बम्बईमा फोन गरेर सोधेछन् । उनले हो भनिदिएछन् । त्यसपछि त सासूससुराले पत्याइहाले ।
तीनचार वर्षपछि वास्तविकता थाहा पाए । साह्रै चित्त दुखाए तर केही भन्न सकेनन् । यतिचाहिँ भने, 'छाउ भयाको अब नलुका बुहारी । बरु सरसफाइ गरीकन घरकाई एक कोठामा बस । हामीलाई तुइँले छुयाको नखुवाइदे ।'
सासूससुरा धेरै नै रिसाउँथे होलान् । त्यति बेलासम्म समाज केही परिवर्तन भइसकेको थियो । सेभ द चिल्ड्रेन, युनिसेफ, महिला तथा बालबालिका विभाग आदिले गाउँमा छाउपडी प्रथा अन्त्यका लागि विभिन्न कार्यक्रम ल्याइरहेका थिए ।
०६४ सालदेखि उनी निगरानी समूहमा पनि काम गर्न थालिन् । अन्य गाउँहरूमा निगरानी समूह गठन गर्न जाँदा गाउँका पुराना मान्छेले उनलाई 'छाउपडी' भनेर गाली गर्थे र भन्थे, 'आफू पनि बिग्डने अरूलाई पनि बिगाड्न्या । यसरी अरूलाई नबिगाड्नू ।'
उनलाई छाउ लुकाउने यति धेरै बानी परेछ कि पछि त छाउ हुँदा सासूससुरालाई छाउ भयो भनेर पनि भन्नै सकिनन् । लाज लागेर आयो ।
अहिले त उनका सासूसुरा धनगढीमा छन् । सानो छोरा पनि उतै पढ्छ । जेठो छोरो चन्नईमा नै छ, श्रीमान् बम्बईमा । त्यसैले उनी 'महिला तथा बालबालिका विभाग'अन्तर्गत सामाजिक परिचालिका र निगरानी समूहको सदस्य भएर काम गर्दै गाउँको घरमा एक्लै बस्छिन् । बेलाबेलामा धनगढी र बम्बई आउजाउ गरिरहन्छिन् ।