तीन सातादेखि बाघ र हात्तीको आतंक

तीन सातादेखि बाघ र हात्तीको आतंक

वीरगन्जः जंगल छेउमा रहेका पर्साको ग्रामीण भेगमा हात्ती र बाघले तीन सातादेखि लगातार आतंक मच्चाउँदै आएको छ । चितवन राष्ट्रिय निकुन्ज र पर्सा वन्यजन्तु आरक्षको जंगलछेउमा रहेका ठोरी, निर्मलबस्ती, शंकरसरैया, महादेवपट्टी, सेढवा र सुवर्णपुर गाविसमा बाघ र हात्तीले दैनिक धनजनको क्षति पुर्‍याउँदै आएको छ ।

साँझ पर्नेबित्तक्कै आरक्षको जंगलबाट दर्जनौंको संख्यामा गाउँमा छिर्ने हात्तीको बथानले स्थानीयको घर भत्काउनुका साथै खेतमा धान खाएर माडेर नष्ट पार्दै आएको छ ।

शंकरसरैया, सेढवा र महादेवपट्टीमा हात्तीले दैनिक गाउँमा पसेर रातभर उपद्रो मच्चाउँदै आएको सेढवाका स्थानीय रामेश्वर साहले बताए । जंगली हात्तीले तीन साताको अवधिमा शंकरसरैया, महादेवपट्टी, सेढवा र सुवर्णपुर गाविसमा गरी दस बिघाभन्दा बढी जग्गाको धानबाली खाएर तथा माडेर नष्ट पार्नुका साथै स्थानीयवासीको दुईवटा घर पनि भत्काइदिएको सेढवाका कृष्णमोहन साहले बताए ।

जंगली हात्तीले बिहीबार राति पनि शंकरसरैया, सेढवा र महादेवपट्टी गाविसमा रातभर उपद्रो मच्चाएको थियो । सेढवा ९ मा रहेको सेक्टर वन कार्यालय वसन्तपुरमा हात्तीले आतंक मच्चाउन थालेपछि वन कार्यालयका जमदार रामअशीष राउत कुर्मीले दुई राउन्ड हवाई फायर गरेका थिए । हवाई फायर गरेपछि हात्तीको बथान जंगलतर्फ फर्किएको थियो ।

यस्तै पर्साको ठोरीमा एक सातादेखि बाघले आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुन्जको जंगलबाट दिउँसै गाउँमा छिरेर बाघले किसानको खसीबाख्रा खाइदिनुका साथै मानिसलाई घाइते बनाइदिएको छ ।

ठोरीमा एक साताको अवधिमा बाघले किसानको आठ खसीबाख्रा खाइदिएको छ । शुक्रबार मात्रै ठोरीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । ठोरी ४ की ३५ वर्षीया बसना भण्डारी बाघको आक्रमण्बाट घाइते भएकी हुन् ।

बाघले घण्डारीको छाती, पाखुरा र तिघ्रामा आक्रमण गरी घाइते बनाएको हो । उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ । निकुन्जको जंगलबाट गाउँमा पसको बाघले बिहान ११ बजेतिर आफ्नै घरको आँगनमा बसेका बेला भण्डारीलाई आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले बताए ।

यसअघि शुक्रबार नै बिहान पाँच बजेतिर भण्डारीको घर अगाडि रहेको खोरमा बाघले आक्रमण गरी तीनवटा खसी बाख्रा मारेको थियो । बाघले मान्छेलाई नै आक्रमण गरेर घाइते बनाएपछि ठोरीको जनजीवन आतंकीत बनेको छ ।

नेपाली सेनाको अमुवा पोस्ट्बाट क्याप्टेन शुभराज गुरुङको नेतृत्वमा सेना र प्रहरीको टोली दुईवटा हात्तीको सहयोगमा बाघ धपाउन खटिएको भए पनि उक्त बाघ शुक्रबार बेलुकीसम्म गाँउमै बसेपछि स्थानीयको जनजीवन आतंकित बनेको हो ।

निकुन्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) ले बाघलाई लठ्याउने सुई लगाउने प्राविधीकको टोली शनिबार बिहान मात्र ठोरीमा पुग्ने बताएको निर्मल ठोरी उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद खनालले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.