एनआरटी शीर्षस्थानमा
काठमाडौः न्युरोड टिम (एनआरटी) ले सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार भएको खेलमा एनआरटीले नयाँ बस्ती क्लबलाई २-१ गोलले हरायो । यो जितपछि एनआरटी अंकतालिकाको शीर्षस्थानमा कायमै छ । एनआरटी दोस्रो स्थानमा रहेको रानीपोखरी कर्नर टिम (आरसीटी) भन्दा दुई अंकले अगाडि छ । हल्चोक मैदानमा भएको खेलमा एनआरटीका राजकुमार घिसिङ र वीरेन्द्र थापाले एकएक गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने नयाँ बस्तीले लिएको थियो । नयाँ बस्तीका रमेश घिसिङले २० औं मिनेटमा गोल गरेका थिए । तर राजकुमार घिसिङले ४३ औं मिनेटमा खेल बराबरीमा ल्याए ।
वीरेन्द्रले ६३ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । एनआरटीले सात खेलमा पाँच जित र दुई बराबरीको नतिजासहित १७ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको आरसीटीले पनि अपराजित रहँदै सात खेलमा चार जित र तीन बराबरीको नतिजासहित १५ अंक बनाएको छ । तेस्रो स्थानमा रहेको श्रीकुमारी क्लबको सात खेलबाट १४ अंक छ ।
अर्को खेलमा खुमलटार क्लबले सामाजिकलाई ३-२ गोलले हरायो । खुमलटारको जितमा सविरकुमार चौधरीले दुई र वीरेन थारूले एक गोल गरे । सामाजिकले दुई पटक अग्रता लिएर पनि जित हात पार्न सकेन ।
सामाजिकका भुवन बस्नेतले दुई गोल गरे । भुवनले २७ औं मिनेटमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । सविरले ३६ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । भुवनले ४९ औं मिनेटमा सामाजिकलाई पुनः अग्रता दिलाएका थिए ।
तर वीरेनले ६० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । सविरले ८१ औं मिनेटमा गोल गरेपछि खुमलटारले खेलमा पहिलो पटक अग्रता लिएको थियो । खुमलटारले सात खेलबाट १० अंक जोडेको छ । समान खेलपछि सामाजिकको तीन अंकमात्र छ ।