‘रोनाल्डोलाई पुरानै क्लब स्पोर्टिङ फर्काउन चाहन्छन् ब्रुनो’
काठमाडौंः पोर्चुगल तथा रियल मड्रिडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको बाल्यकालको क्लब हो पोर्चुगलको स्पोर्टिङ लिस्वन। रोनाल्डोले फुटबल स्पोर्टिङ क्लबबाटै खेल्न सुरु गरेका हुन्।
म्यानचेस्टर युनाइटेड आउनुअघि रोनाल्डो स्पोर्टिङ क्लबबाटै फुटबल खेल्थे र सानै उमेरमा फर्गुसनको आँखामा परे। त्यसपछि फर्गुसनले आफ्नो क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध गराएका थिए। रोनाल्डोजस्तै नानी पनि स्पोर्टिङ क्लबकै उत्पादन हुन्। म्यानचेस्टर युनाइटेडमा केही वर्ष खेलेपछि पुरानै क्लब फर्केका थिए नानी। तर अहिले स्पेनिस क्लब भ्यालेन्सियासँग आबद्ध भएर स्पेन आएका छन्।
स्पोर्टिङ लिस्वन क्लबका अध्यक्ष ब्रुनो कार्वाल्होले नानीजस्तै रोनाल्डो बाल्यकालको क्लबमा फर्केको हेर्न चाहेको बताएका छन्। ‘रोनाल्डोको रियल मड्रिडसँगको सम्झौता सन् २०१८ सम्मको छ। त्यो सम्झौता सकिएपछि पनि उनलाई अन्य क्लबले आबद्ध गराउन चाहन्छन् तर, म उनी पुरानै क्लब फर्केको हेर्न चाहन्छु,’ ब्रुनोले भनेका छन्। उनले रोनाल्डो एक दिन अवश्य पनि स्पोर्टिङ क्लब फर्किने आशा समेत व्यक्त गरेका छन्।
ब्रुनोले भनेका छन्,‘रोनाल्डोले फुटबलको करियर स्पोर्टिङबाटै अन्त्य गरोस्। त्यो मलाई हेर्न मन पर्छ। ऊ हाम्रा लागि विश्वकै राजदूत हो। हाम्रा विषयमा जहिले पनि राम्रो बोल्छ।’ ब्रुनोले रोनाल्डोलाई ल्याउन आफूले पहल पनि गरिरहेको बताएका छन्।