‘घन्टी बज्यो घन्टी बज्यो’का गायक टंक बुढाथोकी दुबईमा
टंक बुढाथोकी नेपाली सांगीतिक क्षेत्रको चर्चित नाम हो । ‘घन्टी बज्यो घन्टी बज्यो’, ‘काली तिम्रो नजरैले’ जस्ता चर्चित गीतका गायक बुढाथोकी केही समय अघि झापाली समाज युएईको कार्यक्रममा सहभागी हुन युएई पुगेका थिए । युएईमा गायक बुढाथोकीसँग जगत लुइटेलले गरेको कुराकानीः
पहिलो पटकको दुबई यात्रा कस्तो रहयो ?
विदेश जता गए पनि धेरै नै विकसित लाग्छ । अनि अति व्यस्त जीवन देख्छु । यसरी घुम्दा नेपालको राजनीतिक नेतृत्वमा अलिकति इच्छाशक्ति भए नेपालको पनि विकास देख्न पाइन्थ्यो भन्ने लाग्या छ।
युएई अघि कुन देश पुग्नुभएको थियो ?
यसअघि कतार गएको थिए । कतार यात्रा गरेपछि युएई आउने अवसर प्राप्त भएको छ ।
देश बाहिरका कार्यक्रममा सहभागी हुँदा कस्तो अनुभव हुन्छ ?
म धेरै नै खुसी छु । दुबईमा रहेका नेपालीबासीको न्यानो माया पाउदा उत्साहित छु । देशभन्दा टाढा रहेर नेपाली कला संगीतको माया गर्ने ठूलो समूह भेट्दा धेरै खुशी लाग्छ ।
तपाईंको सांगीतिक यात्रा कहिलेबाट सुरुभयो ?
बाल्यकालबाट संगीतमा रुची भए पनि २०६८ साल बाट पूर्ण रुपमा संगीतमै समर्पित भएको छु ।
संगीत क्षेत्रमै बाच्ने भविष्य देख्नु भएको छ ?
मिहिनत गरे जुनसुकै क्षेत्रमा बाच्न सकिन्छ । संगीत क्षेत्रमा मिहिनतसँगै थोरबहुत क्षमता चाहिन्छ । त्यत्तिमात्र होइन लगनशीलहरु जुनसुकै क्षेत्रमा आत्मनिर्भर हुन सक्छन् ।
पैसा हुनेले नामका लागि मात्र गीत गाउने गरेका छन् । यसले संगीत क्षेत्रमा मिहिनत गर्नेलाई असर गर्दैन ?
नामको पछि दौडनेहरु क्षणिक मात्र हुन् । पैसाका नाममा दौडनेले प्रतिभालाई कहिल्यै असर गर्दैन ।
किन टंक बुढाथोकी भन्दा पनि गीत चर्चित छन् नि ?
मैले कहिल्यै यो अनुहारको प्रचार गरिन । अनुहारको प्रचार गर्नु आवश्यक पनि ठानिन । नाम भन्दा कामले चिनिन् मन लाग्छ । त्यसैले म भन्दा मेरो काम चर्चित हुनसक्छ ।
तपाईंलाई चिनाउने गीत कुन–कुन हुन् ?
काली तिम्रो नजरैले, घन्टी बज्यो घन्टी बज्यो, आएम सरी रियल सरी मलाई चिनाउने गीत हुन् ।