यसरी भयो सेनाको सुविधा कटौती

यसरी भयो सेनाको सुविधा कटौती

काठमाडौं: दक्षिणी सुडानको अध्यागमनले बिनाराहदानी शान्ति मिसनका लागि पुगेका दुई सय ३२ नेपाली सेनालाई फर्काएपछि मुलुककै बेइज्जत भएको भन्दै गृह मन्त्रालयले अबदेखि शान्ति मिसनमा जाने सेनालाई सर्वसाधारणलाई जस्तै व्यक्तिगत प्रस्थान अनुमति (डिपार्चर) दिन अध्यागमन विभागलाई निर्देशन दिएको छ ।

प्रस्थान अनुमति पाएको राहदानी काठमाडौंमै छाडेर दक्षिणी सुडान पुगेका सैनिक अधिकारीलाई त्यहाँको अध्यागमनले इन्ट्री रिफ्युज गरेपछि गृहले अबदेखि सेनाको टोलीलाई सामूहिक प्रस्थान अनुमति नदिन निर्देशन दिएको हो । शान्ति मिसनका लागि सुडान पुगेका नेपाली सैनिकलाई राहदानी नभएर फिर्ता गरिएपछि फितलो र कमजोर व्यवस्थापन भएको भन्दै सैनिक नेतृत्वको चौतर्फी आलोचना भइरहेका बेला उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले घटनाबारे शुक्रबार गृह र अध्यागमनका अधिकारीसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका कारण कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी समालिरहेका गृहमन्त्री निधिले नेपाली सेनाले अध्यामगन कानुनमा छुट नपाउने भन्दै आगामी दिनमा शान्ति मिसनमा जाने सैनिकलाई अध्यागमनको बाटो प्रयोग गराउन निर्देशन दिएको गृह स्रोतले उल्लेख गरेको छ ।

सैनिक अधिकारीहरूले अध्यागमन नियम पालना नगर्दा गम्भीर त्रुटि व्यहोर्नुपरेको गृहको निष्कर्ष छ । गृह मन्त्रालयमा शनिबार पत्रकार भेटघाटमा मन्त्री निधिले भने, 'सैनिक अधिकारी फिर्ता प्रकरणमा अध्यागमन वा सेना कसको गल्ती हो ? छानबिन भइरहेको छ । कानुन सम्मत हिसाबले पठाउनुपर्‌यो, यो या त्यो भनेर कसैलाई छुट दिनु हुँदैन ।'

गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा मन्त्री निधिले शान्ति मिसनमा जाने नेपाली सेनालाई विशेष सुविधा नदिइ सर्वसाधारणलाई झैं व्यवहार गर्न अध्यागमनका अधिकारीलाई निर्देशन दिए । छलफलपछि गृह प्रवक्ता यादवप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधि सबै निकायबाट परिपालन हुने व्यवस्था सुनिश्चित गर्न गृहमन्त्री निधिले सम्वन्धीत पक्षको ध्यानाकर्षण गराएको उल्लेख छ ।

बैठकमा मन्त्री निधिले सुरक्षाका दृष्टिकोणले समेत व्यवस्थित, मर्यादित र सुरक्षा संवेदनशीलतालाई समेत ध्यान दिई आगमन र प्रस्थान प्रक्रिया व्यवस्थित गर्न अध्यागमन विभागलाई निर्देशन दिएका थिए ।

शान्ति मिसनमा जाने नेपाली सेनाको टोली विमानस्थलमा रहेको सेनाको गौचर ब्यारेकबाट प्रवेश गरी त्यहींबाट चार्टर विमानबाट गन्तव्य मुलुक जान्छ । मंगलबार पनि सेनाको टोलीले सोही मार्ग प्रयोग गरेको थियो । मिसनमा जाने सैनिक अधिकारीको राहदानी संकलन गरी एकमुस्ट रूपमा अध्यागमन कार्यालयमा लैजाने र त्यसमा यात्रुको अनुपस्थितिमा अध्यागमन अधिकृतले प्रस्थान अनुमति दिने गरेको छ ।

राहदानी संकलन गर्ने जिम्मेवारी पाएका सैनिक अधिकारीले एकमुस्ट रादहनी झोलामा हालेर अध्यागमन कार्यालयमा लगेपछि अध्यागमन अधिकृतले ती राहादानीमा डिपार्चर छाप लगाएका थिए । राहदानीको जिम्मा लिएका सैनिक अधिकारीको लापरबाहीले राहदानी काठमाडौंमा छु्टदा सुडान पुगेको इथियोपियन एयरलाइन्सको चार्टर जहाज र त्यसमा रहेका सबै सैनिक अधिकारीलाई त्यहाँको अध्यागमनले फर्काइदिएको थियो ।

सुडान अध्यागमनले फिर्ता गरेका सैनिकहरू सोही विमानबाट नेपाल फिर्ता भई काठमाडौंमा छुटेको राहदानी लिएर पुनः बुधबार सुडान फर्किएका थिए । 'सैनिक अधिकारीले सर्वसाधरणझैं स्वयंले नै राहदनी लिएर प्रस्थान अनुमति लिँदा के हुन्छ ? ' गृहमन्त्री निधिलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'किन सेनालाई स्पेसल प्रिभिलेज ? अब मिसनमा गएका सेनालाई पनि सर्वसाधारणझैं व्यवहार गर्नुस् ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.