चाडपर्वको मुखमा मौसमी 'अनुगमन'

चाडपर्वको मुखमा मौसमी 'अनुगमन'

नीति कार्यान्वयन सुनिश्चित गर्न 'अनुगमन' एउटा महत्त्वपूर्ण प्रक्रिया हो । अनुगमन जवाफदेही सुनिश्चित गर्न र लापरबाही या त्रुटि सम्बोधन गर्ने उद्देश्यले पनि गरिन्छ । तर मुलुकमा यता आएर हुने गरेको अनुगमन या त राजनीतिक नेतृत्वको सस्तो लोकप्रियताको लागि या जसरी भए पनि राजस्व असुलीको लागि हुने गरेका छन् र यी अनुगमन पारदर्शी ढंगले नहुँदा जनताले त्यसमा सहयोग गर्नुको साटो प्रश्न उठाउने गरेका छन् ।

हालै दसैं तथा अन्य महत्त्वपूर्ण चाडहरू केही साता मात्र बाँकी छँदा आपूर्ति मन्त्रालयले विभिन्न व्यापारिक घराना र भण्डारहरूमा छापा मार्‌यो । १९ दिन चलेको उक्त अभियानमा चार सयभन्दा बढी छापा या अनुगमन भए, तर त्यसले के नतिजा ल्यायो, स्पष्ट हुन सकेको छैन । समस्त प्रक्रिया र कारबाहीमा पारदर्शिताको अभाव छ ।

'अनुगमन' ले प्रश्न जन्माएको या त्यसपछाडिको नियतबारे आशंका गरिएको यो पहिलो अवसर हैन । बीचबीचमा प्रहरीले 'पुर्जी' काटी 'जरिवाना' लादेका अनगिन्ती घटना छन् । त्यसप्रति सुनवाइ या अपिल हुने कुनै निकाय नहुनुले उक्त संस्था कानुन, न्याय र पारदर्शिताभन्दा 'जबर्जस्ती' मा विश्वास गर्छ भन्ने सन्देश पनि त्यत्तिकै गएको छ ।

अनुगमनकै कुरा गर्दा प्रधानमन्त्री भएलगत्तै बाबुराम भट्टराईले काठमाडौंदेखि मुग्लिङसम्मका 'रेस्टुराँ' मा छापा मारे अनि तत्काल त्यहाँ अनियमितता या गुणस्तरविहीनताको घोषणा गरे पनि त्यससम्बन्धी कानुनी र प्रशासनिक दायित्व बोकेका संयन्त्रहरूलाई आवश्यक निर्देशन दिएनन् । केही दिनको लोकप्रियता उनले हासिल गरे, सम्भवतः उनको राजनीतिको लागि त्यो अक्सिजन सावित भयो ।

बाबुराम भट्टराईले धेरै आस गरेका र अहिलेको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्रालयको जिम्मा पाएका गगन थापा अहिले स्वयं अस्पताल धाइरहेका छन्, अनुगमनका लागि । मन्त्रीले नीति र कार्यक्रम कार्यान्वयनको लागि जिम्मेवार संयन्त्र परिचालन नगरी यी सबै कामको जिम्मा आफैँ लिनुले केही दिन उनलाई सञ्चारको नजरमा जिउँदो राख्ला, तर त्यस्तो लोकप्रियता क्षणिक हुनेछ ।

स्वास्थ्य क्षेत्रमा सुधार र सेवालाई आम जनताको पहुँचमा पुर्‌याउनु सर्वाधिक चुनौतीपूर्ण विषय हो आज, तर त्यसबारे नीतिगत छलफल र निर्णयको लागि दैनिक अनुगमनको खाँचो पर्दैन ।

मन्त्री र प्रधानमन्त्रीबाट हुने 'अनुमोदन' उनीहरू सत्तामा हुँदा हुने हो, तर सरकारको अनुगमन निकाय त सर्वकाल सक्रिय रहनुपर्ने हैन र ? यसमा अर्को एउटा पक्ष छ, जसलाई तत्काल सुधारको खाँचो छ । खाद्यलगायत विभिन्न सरकारी निकायले आफूअन्तर्गतका राजस्व संकलन गर्ने प्रक्रियालाई जनमैत्री बनाए भने सरकारले आफ्नो संकलन लक्ष्य हासिल गर्नेछ ।

तर प्रक्रिया असहज अनि त्यसका लागि घन्टौं कुर्नुपर्ने अहिलेको व्यवस्था जारी रहेमा सरकारलाई बुझाउनुको साटो केही 'कर्मचारी' लाई बुझाई उन्मुक्ति खोज्ने र सरकारलाई ठग्ने परम्परा जारी रहेको छ । अर्को विभिन्न अनुगमनले दोषी पाएका महत्त्वपूर्ण व्यापारिक संस्थाहरूलाई पारदर्शी ढंगले कानुनको घेरामा ल्याएको र अदालतबाट दोषी ठहर गराएको उदाहरण सरकारले प्रस्तुत गर्न सकेमा त्यसले राज्य र कानुनप्रति सकारात्मक प्रतिबद्धताको वातावरण पनि बनाउनेछ । त्यस्तै, सस्तो या व्यक्तिगत लोकप्रियताको लागि अनि चाडपर्वको मुखमा गरिने मौसमी 'अनुगमन' पनि अन्ततः निष्प्रभावी हुनेछन् र अनुगमनको नाममा भ्रष्टाचार र कालोबजारी मौलाउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.