बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते
तुलसीपुरः दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। अन्य एकजना घाइते भएकी छिन्।
बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक तुलसीपुर–१९ जसपुरका ५४ वर्षीय देवबहादुर डाँगीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
गएराति दाङको टरिगाउँ एयरपोर्ट नजिक शीत्तलपुरबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ७८४ नम्बरको बसले डाँगी सवार रा १ प ७८१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो।
मृतक डाँगी अमर उच्च मावि उरहरीका विज्ञान शिक्षक थिए। दुर्घटनामा डाँगीकी श्रीमती पुष्पा डाँगी पनि गम्भीर घाइते भएकी छिन्। उनको कोहलपुरस्थित शिक्षण अस्पताल उपचार भइरहेको छ।
बस चालकले अत्यधिक मदिरा सेवन गरेर बस चलाएकाले दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसरीपुरका डिएसपी कृष्ण प्रसाईंले जानकारी दिए।
ठक्कर दिने बस र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ।