कश्मीरमा आत्मघाती आक्रमण १७ सैनिकसहित २१ को मृत्यु
एजेन्सीः भारत प्रशासित कश्मीरमा आइतबार बिहान भएको आक्रमणमा १७ सैनिक र चार विद्रोही गरी २१ जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार बारामुलाको उरी सेक्टरस्थित सैन्य इलाकामा आइतबार बिहान पाँच बजेतिर आत्मघाती हमला भएको हो ।
आत्मघाती हमलाका कारण भारतीय सैनिक बस्दै आएको स्थानमा आगलागी भएको छ । उक्त आक्रमणमा परी सयौँको संख्यामा सैनिक घाइते भएको बिबिसीले जनाएको छ ।
उक्त क्षेत्रमा सेना र विद्रोहीबीच मुडभेट अझै जारी रहेको छ । घटनाका घाइतेलाई हेलिकोप्टर मार्फत् अस्पताल पुर्याइएको छ ।
कश्मीरमा आक्रमण भएपछि भारतीय गृहमन्त्री राजनाथ सिंहले आफ्नो विदेश भ्रमण स्थगित गरेका छन् । गृहमन्त्री सिंह सोमबार रुस र अमेरिका जाने कार्यक्रम थियो ।
गृहमन्त्री सिंहले काश्मीर क्षेत्रलाई निगरानी गर्न गृहमन्त्रालयका अधिकारीलाई निर्देशन दिएका छन् ।