‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट अहिलेसम्म आठको मृत्यु

‘माइट’ मै ब्याक्टेरिया सङ्क्रमणको पुष्टि, स्क्रब टाइफसबाट अहिलेसम्म आठको मृत्यु

 

रत्ननगर: नेपालमै पहिलोपटक ‘स्क्रब टाइफस’ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ मा ब्याक्टेरिया (जीवाणु) भएको पुष्टि भएको छ।

उक्त ब्याक्टेरियाको नाम वरेन्सिया सुसुगामुसी हो। इपिडिमियोजोजी तथा सरुवा रोग महाशाखाले बाह्य विशेषज्ञसहितको टोली ल्याएर चितवनका मुसामा गरेको अध्ययनबाट यस्तो पुष्टि भएको हो। सन् १९९७ ताका नेपालमा माइट भएको पत्ता लागेको भए पनि सङ्क्रमित छ छैन भनेर परीक्षण भएको थिएन। 'यसपटकको परीक्षणले भने माइट पनि सङ्क्रमित रहेको प्रमाणित भयो, इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले भने,'यसरी पत्ता लागेको यो नेपालमै पहिलो हो।'

थाइल्यान्डबाट आएका पाँचजना विशेषज्ञसहितको टोलीले पिसिआर टेस्टबाट यसरी माइट सङ्क्रमित भएको प्रमाणित गरेको उनले जानकारी दिए।नेपालकै सबैभन्दा बढी स्क्रब टाइफस रोगको सङ्क्रमण भएको जिल्ला चितवनमा आएर प्रविधिज्ञसहितको टोलीले १० वटा मुसा र माइटको नमुना सङ्कलन गरी लगेको थियो।

दश मुसामध्ये सातवटामा माइट पाइएको थियो। स्क्रब टाइफस सङ्क्रमण भएको क्षेत्रमै पुगेर टोलीले नमुना सङ्कलन गरी लगेको थियो। सो क्रममा मुसाको महत्वपूर्ण अङ्गसमेत परीक्षणका लागि काठमाडौँ लगिएको थियो। परीक्षणका क्रममा मुसामा समेत रोग सङ्क्रमण भएको पाइएको डा गुणनिधि शर्माले जानकारी दिए। थाइल्यान्डबाट आएका कीटजन्य रोग तथा प्रयोगशालाविज्ञले रोग र किराबारे नेपालका स्वास्थ्यकर्मीलाई प्रशिक्षणसमेत दिएको जनाइएको छ।

यही भदौ २४ गते आएको टोलीले मुसाका अङ्ग र माइटसहित चितवनका स्थानीय गाउँलेका ८६ नमुनासमेत सङ्कलन गरेर टोली २७ गते फर्किएको थियो। चितवनको शारदानगर, पार्वतीपुर, शङ्करचोक र विकास चोक क्षेत्रमा मुसा समाएर नमुना सङ्कलन गरिएको थियो। चितवनमा रोग सङ्क्रमणको अनुसन्धानका लागि आउनुभएका महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले चितवनमा पछिल्लो समयमा सङ्क्रमण दरमा भने कमीको सङ्केत देखिएको बताए। दोस्रो विश्वयुद्धका बेला जापानको सेनामा पहिलोपटक यो रोग देखिएको थियो। जापानमा पत्ता लागेकाले यसलाई ‘सुसुगामुसी’ भनेर भनिएको हो।

स्क्रब टाइफसबाट मर्नेको सङ्ख्या आठ पुग्यो

एक वर्षअघि मात्रै नेपालमा सङ्क्रमण भएको पुष्टि भएको स्क्रब टाइफस रोगबाट अहिलेसम्म आठजनाको मुत्यु भएको महाशाखाले जनाएको छ। महाशाखा अन्तर्गत इपिडिमियोलोजी शाखाका प्रमुख डा शर्माले नेपालका ३७ जिल्लामा सङ्क्रमण देखिएको यो रोगका कारण आठजनाको ज्यान गइसकेको बताए। अघिल्लो वर्ष १०१ जना सङ्क्रमित भएका पाइएको थियो। यसरी मृत्यु हुनेमा कैलालीका र सङ्खुवासभाका दुई–दुईजना छन्।

यस्तै चितवन, गुल्मी, भोजपुर र तनहुँका एक–एकजनाको ज्यान गएको शाखाले जनाएको छ। शाखा प्रमुख डा शर्माले दिएको जानकारीअनुसार नेपालमा अहिलेसम्म २७५ जनामा स्क्रब टाइफस लागेको पाइएको छ। सबैभन्दा बढी चितवन जिल्ला घर भएका मात्रै ९९ जना सङ्क्रमित भएका छन्। अरू ३६ जिल्लाका बिरामी छन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जिल्लामा भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा यो रोगको परीक्षण हुँदै आएको बताए। यसमा भरतपुर अस्पतालमा भने सरकारले नै कीट उपलब्ध गराइएकाले निःशुल्क परीक्षण हुन्छ।

चितवनका फिजिसिएन डा शीतल अधिकारीले समयमै अस्पताल आए उपचार सहज भएको जानकारी दिए। प्रायःजसो झाडी, खेतवारी, वनजङ्गल, घरवरिपरिको झाडी, घुरान हुने ठाउँमा देखिने गर्छ। मानिसबाट मानिसमा रोग सर्दैन । मुसाको एक प्रकारको तरल पदार्थ खाएर माइट बस्छ।

अघाएपछि माइट जातको किरा झारमा झर्छ। त्यही झारमा मानिस पुग्दा टाँसिन्छ र सङ्क्रमितले टोक्दा सर्छ। टाउको दुख्ने, १०४ जति ज्वरो आउने, कामज्वरो आउने, घाँटीवरिपरि मसिना बिमिरा आउने, पसिना आउने तथा ग्रन्थी सुनिने यस रोगका लक्षण हुन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.