बलुचिस्तानको बहसले पाकिस्तान त्रसित
इस्लामाबादः बलुचिस्तानका बारेमा बहस सुरु भएपछि पाकिस्तान त्रसित भएको बलुच नेता मेहरान मारीले दाबी गरेका छन् । संयुक्त राष्ट्रसंघ मानवाधिकार आयोग (युएनएचआरसी) मा बलुच प्रतिनिधि मारीले हालै उठाइएका विषयले पाकिस्तान सरकार आत्तिएर त्यहाँ पाकिस्तानी सेनाले आक्रामक कारबाही सुरु गरेको जानकारी दिएका छन् ।
हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बलुचिस्तानको मुद्दाका बारेमा बहस सुरु गरेका थिए । मारीले भने, ‘बलुचिस्तानको मुद्दा उठाएकोमा भारतलाई हामी धन्यवाद दिन्छौं ।’ १५ अगस्तमा भारतीय प्रधानमन्त्री मोदीले यस मुद्दालाई उठाए । यसको दुई दिनअघि राष्ट्रसंघीय मानवाधिकार आयोगमा भारतले यो विषय उठाएको छ । यसबाट हामी निकै खुसी छौं ।’
अगस्त १३ तारिखमा संयुक्त राष्ट्रसंघमा भारतका स्थायी प्रतिनिधि अजित कुमारले बलुचिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सरकारले अत्याचार गरेको भन्दै मुद्दा उठाएका थिए । बलुच नेता मारीले बलुचिस्तानमा पाकिस्तानका तर्फबाट भइरहेका व्यवहारका बारेमा संयुक्त राज्य अमेरिका पनि मौन रहेको दाबी गरे । उनले अमेरिका मानवाधिकारका यस्ता विषयमा चुप लाग्नु रहस्यमय भएको बताए । मारीले अमेरिकालाई पाकिस्तान नीतिमा पुनर्विचार गर्न पनि आग्रह गरेका छन् ।
भारत सरकारले निर्वासित एवं पाकिस्तानले सर्वाधिक खोजीको सूचीमा राखेका बलुच नेता ब्रहमदाग बुगतीलाई शरण दिएको भनाइलाई अस्वीकार गरेको छ । पाकिस्तानी सञ्चारमाध्यमले बलुच नेता बुगतीले भारतीय राहदानीका लागि निवेदन दिएको दाबी गरेका थिए । भारत सरकारले भने बुगतीलाई शरण दिने कुनै योजना नभएको स्पष्ट पारेको छ ।
बुगती हाल स्विजरल्यान्डमा निर्वासित जीवन बिताइरहेका छन् । उनले एक अन्तर्वार्तामा भने, ‘मैले भारत सरकारसँग शरणका लागि कुनै अनुरोध गरेको छैन ।’ उनले आफू भारत आउन इच्छुक भएको बताएका छन् । उनले भने, ‘मैले यात्राका क्रममा निकै समस्या भोगिरहेको छु । यदि मलाई भारत यात्रा गर्ने अवसर मिल्छ भने म खुसी साथ आउने छु ।’
बुगतीले पाकिस्तानी बलुचिस्तान र अफगानिस्तानमा रहेका बलुच निकै कठिन अवस्थामा रहेको पनि बताएका छन् । बलुचसँग विकल्प नभएको उनको भनाइ छ । यस्तो अवस्थामा भारतले बलुचलाई यात्राका लागि केही सहयोग गर्नुपर्नेमा जोड दिए । १९ सेप्टेम्बरमा हुने एक आन्तरिक बैठकमा यस विषयमा आफूले छलफल गर्न चाहेको बुगतीले खुलासा गरेका छन् ।
पाकिस्तान सरकारले बुगती एवं अन्य निर्वासित बलुच नेताका विरुद्ध रेड कर्नर इन्टरपोल नोटिस जारी गरेको छ । पाकिस्तानले युरोप निर्वासनमा रहेर स्वतन्त्र बलुचिस्तानको माग गरिरहेका नेतालाई पक्राउ गर्न चाहन्छ । यसका लागि युरोपीय मुलुकले पाकिस्तानलाई सहयोग गर्नुपर्ने उसको भनाइ छ । इस्लामाबादले पक्राउ गर्न चाहेका बलुच नेताको सूची युरोपलाई बुझाउने तयारी गरिरहेको पाकिस्तानी सञ्चारमाध्यमले जानकारी दिएका छन् । बलुच नेताका गतिविधिले चीन–पाकिस्तान इकोनोमिक करिडोरमा समस्या पर्ने पाकिस्तानको जिकिर छ । उक्त करिडोर पाकिस्तानका तनावग्रस्त क्षेत्र हुँदै अगि बढेको छ ।
यसैबीच भारत सरकारको आकाशवाणी सेवाले बलुच भाषामा थप कार्यक्रम सञ्चालन गरेको छ । आकाशवाणी सेवाले सन् १९७४ देखि नै बलुच भाषामा कार्यक्रम सञ्चालन गर्दै आएको छ । संसारभर छरिएर रहेका बलुच भाषीलाई लक्षित गरी यस्तो कार्यक्रम सुरु गरेको आकाशवाणी सेवाको भनाइ छ । उसले शनिबारदेखि बलुच भाषामा वेबसाइट पनि सञ्चालन गरेको छ । एजेन्सी