'उडिरहेको जहाजमा इन्जिन बन्द भएपछि...'

'उडिरहेको जहाजमा इन्जिन बन्द भएपछि...'

काठमाडौँ : इन्जिनमा आएको खराबीका कारण एयर काष्ठमण्डपको विमान दुर्घटना भएको ‘दुर्घटना जाँच आयोग’ले निष्कर्ष निकालेको छ ।

उक्त दुर्घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनमा इन्जिनको खराबीले आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको औँल्याएको हो ।

विसं २०७२ फागुन ११ गते नेपालगन्जबाट जुम्लाका लागि यात्रु चार्टड उडानमा रहेको एयर काष्ठमण्डपको नाइन एन एजेबी पिएसी ७५० एक्सएल विमान प्राविधिक समस्या आई कालिकोटको चिलखाया–१ मा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा विमान चालक र सहचालकको मृत्यु भएको थियो भने विमानमा सवार नौ यात्रुमध्ये (केही घाइतेसहित) सकुशल रहेका थिए ।

दुर्घटनाग्रस्त विमानको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । झन्डै पाँच महिनापछि आयोगले आज पर्यटन मन्त्री जीवनबहादुर शाहीलाई प्रतिवेदन बुझाएको हो ।

सो अवसरमा मन्त्री शाहीले प्रतिवेदनअनुसार सरकारले आवश्यक सुधारका काम गर्ने भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायत सरोकारवाला निकायलाई हवाई सुरक्षाको गुणस्तर कायम गर्न र यसमा संलग्न दक्ष जनशक्ति पूर्ति गर्न निर्देशन दिए।

प्रतिवेदनअनुसार आन्तरिक उडानमा रहेको विमान दैलेख माथिको (हाउडेको लेक) आसपास प्राविधिक समस्या आई इन्जिन पूर्णरुपले काम नगरेको भए पनि चालकले इन्जिन पुनः सञ्चालन गर्ने प्रयास गरेको र सो सम्भव नभएपछि नजिकको सबैभन्दा सम्भव स्थानमा आकस्मिक अवतरण गर्ने क्रममा भिरालो जमिनको काल्नामा ठोकिएर दुर्घटना भएको पाइएको छ ।

विमानको इन्जिनले काम गर्न छाडेको पाँच मिनेटसम्म जहाजलाई सुरक्षित अवतरण गराउन पाइलटले प्रयास गरेको र त्यस अवधिमा चिलखायामा बारीको पाटा रहेको थाहा पाएका पाइलटले आकस्मिक अवतरणको प्रयास गर्दा इन्जिन टुक्रिएर पाइलट र को–पाइलटलाई च्यापेको प्रतिवेदनमा उल्लेख छ ।

एक नाबालकसहित नौ यात्रु सवार रहेको विमान चालक दिनेश न्यौपाने र सहचालक सन्तोष रानाले उडाएका थिए । एकल इन्जिन रहेको उक्त जहाज दुर्घटनापछि सरकारले एकल इन्जिन जहाजमा यात्रु बोक्न प्रतिबन्ध लगाएको थियो ।

पर्यटन मन्त्रालयका उपसचिव एवम् दुर्घटना जाँच आयोगका सदस्यसचिव हरिबहादुर खड्काले इन्जिनको खराबीका बाबजुद विमान चालकले साहसीपूर्वक सुरक्षित अवतरण गर्न खोजेकाले यात्रु सुरक्षित रहेको बताए।

विमानको इन्जिनले काम नगर्नुको प्रमुख कारण इन्जिनको नम्बर १ बेरिङमा भएको खराबी, बेरिङमा समस्या हुनुका कारण इन्जिन ओभरहल सिर्जना भएको ‘ह्याण्डलिङ ड्यामेज’का कारण भएको देखिएको उनले उल्लेख गरे।

काष्ठमण्डपले उक्त इन्जिन अस्ट्रेलियाको तासमान एभिएसन इन्टरप्राएैसु (टिएइ) कम्पनीबाट भाडामा ल्याएको थियो । इन्जिनका बारेमा विस्तृत अध्ययन नगरेकाले पनि समस्या आएको अध्ययनले देखाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.